 
																			पछिल्लो एक वर्ष नेपालमा क्रिकेट चर्चाको शिखरमा छ । युवा कप्तान रोहित पौडेल र कोच मोन्टी देसाईको नेतृत्वमा नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ । सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।
सीमित स्रोत, साधन र लगानीका बावजुद नेपालले भारतमा जारी विश्वकप २०२३ छनौट चरणमा टेस्ट म्याच खेल्ने राष्ट्र वेष्टइन्डिज र जिम्बाब्बेका विरुद्ध खेल्यो भने भर्खरै सम्पन्न एशिया कपमा छनौट भई भारत र पाकिस्तान जस्ता ठूला राष्ट्रहरूका माझ आफ्नो खेल कौशल देखायो ।
फलतः अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेटको चर्चा चुलिएको छ । भारत र पाकिस्तानका क्रिकेट विश्लेषकहरू दक्षिण एशियामा नयाँ टीम उदाएको भन्दै नेपाल क्रिकेटको तारिफ गरिरहेका छन् ।
यससँगै नेपाली क्रिकेट विवादबाट भने टाढा रहेन । टीमका तत्कालीन कप्तान, लेग स्पिनर सन्दीप लामिछाने माथि २०७९ भदौ २१ का दिन नाबालिक जबरजस्तीकरणी (बलात्कार) को मुद्दा लाग्यो । सुरुमा सन्दीपले त्यसको खण्डन गरे, करिब एक महिनासम्म विदेशमा लुकेर बसे भने असोज २० गते नेपाल फर्किए लगत्तै पक्राउ परे ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)ले उनलाई राष्ट्रिय टीमको कप्तान र टीमबाट निलम्बन गर्यो । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएका लामिछाने पुस २८ गते २० लाख धरौटीमा छुटे । धरौटीमा छुटेका लामिछाने टीममा फिर्ता भए । हाल अदालतमा उनको मुद्दाको अन्तिम फैसलाको पेसी लगातार स्थगित भइरहेको छ ।
यसैबीच बलात्कारका अभियुक्त लामिछानेलाई क्रिकेट टीममा समावेश गरेसँगै क्यानले चर्को आलोचना खेपिरहेको छ । क्यानको यस कदमले देशलाई कतिसम्म लज्जित बनाएको छ भने गत फेब्रुअरी कीर्तिपुरमा सम्पन्न आईसीसी क्रिकेट वल्र्ड लिग २ का क्रममा स्कटल्याण्डका खेलाडीहरूले उनीसँग हात मिलाउन इन्कार गरे ।
स्कटल्याण्डका खेलाडीले क्यानको यस कदमको मौन विरोध गरे । जसको रिपोर्टिङ इएसपिएन क्रिकेट लगायत अन्तर्राष्ट्रिय समाचार माध्यमले गरेका थिए । भर्खरै सम्पन्न एशिया कपमा टीम छनौट हुँदा भारतको एक चर्चित खेलकुद पोर्टलले हेडलाइन राख्यो– ‘एशिया कप २०२३ के लिए नेपाल की टीमका ऐलान, जमानत पर रिहा हुआ यौन शोषण का आरोपी १७ सदस्यीय दल में शामिल ।’
क्रिकेटलाई जेन्टलमेन्स् गेम भनेर चिनिन्छ । अन्य खेलमा झैं यसमा खेलका नियमहरू हुन्छन् तर क्रिकेटमा ‘ल अफ दि गेम’ भन्दा माथि हुन्छ ‘स्पिरिट अफ दी गेम’ । क्रिकेटका नियमहरू बनाउने मार्लेबोन क्रिकेट क्लबका अनुुसार स्पिरिट अफ द गेम भन्नाले प्रतिस्पर्धी खेलाडीहरूको सम्मान गर्नु, अम्पायरको निर्णयको सम्मान गर्नु, फरक राष्ट्र, समुदाय, धर्मका खेलाडीहरूलाई सम्मानपूर्वक हेर्नु भनिएको छ ।
सन् १९०९ मा इम्पेरियल क्रिकेट कन्फेरेन्सको स्थापना भएसँगै उदय भएको अन्तर्राष्ट्रिय क्रिकेट विवाद रहित भने भएन । जेन्टलम्यान्स् गेम भने तापनि क्रिकेट म्याच फिक्सिङ, रंगभेद, आतंकवादी हमला, राजनीतिक विवाद भन्दा बाहिर रहन सकेन ।
समाजमा रहेका समस्या, विकृति, विसंगति, रंगभेद, लैंगिक हिंसा र देश विदेशबीच हुने राजनीतिक खिचातानीको नकारात्मक प्रभावहरू यस खेलमा देखिनु नौलो त भएन तर हरेक विवादलाई चिरेर अन्तर्राष्ट्रिय क्रिकेट आजको स्थानमा आइपुगेको छ ।
अझ भनौं, सामाजिक न्यायको सवालमा क्रिकेटले आफूलाई सधैं न्यायको पक्षमा उभ्याएको छ । जसमा अग्रपंक्तिमा आउँछ रंगभेद विरुद्धको लडाईं । साउथ अफ्रिकामा काला जातिका मानिसलाई विभेद गर्ने एपेराथाइड कानुनका कारणले आईसीसीले साउथ अफ्रिकालाई सन् १९७० देखि १९९२ सम्म अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको थियो ।
एपेराथाइड कानुन साउथ अफ्रिकाको सरकारले सन् १९५० मा ल्याएको कानुनको शृंखला हो जसले रंगभेदलाई बढावा दिन्छ र ह्वाइट सुप्रिमेसी (श्वेत सर्वोच्चता) लागू गर्न मद्दत गर्छ ।
साउथ अफ्रिकाको यस रंगभेदी कानुनका कारणले आईसीसीले उसलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट २२ वर्षसम्मका लागि निष्काशित गर्छ । सन् १९९२ मा अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा भएको विश्वकपमा अफ्रिकन नेशनल कंग्रेसका अध्यक्ष नेल्सन मण्डेलाले आईसीसीसँग प्रतिबन्ध फुकाउन अनुरोध गर्छन्, मण्डेलालाई विश्वास थियो साउथ अफ्रिकाले विश्वकपमा भाग लिन पाए देशमा हुने जनमत संग्रहमा सकारात्मक नतिजा ल्याउन वातावरण सिर्जना हुनेछ ।
आईसीसीले साउथ अफ्रिकालाई विश्वकपमा भाग लिन अनुमति त दिन्छ तर एउटा शर्तमा । विश्वकपको दौरानमा हुने जनमत संग्रहमा यदि नतिजा एपेराथाइड कानुनको पक्षमा आए साउथ अफ्रिकाका लागि विश्वकपको यात्रा समाप्त हुनेछ ।
सन् १९९२ मार्च १७ मा भएको जनमत संग्रहमा उक्त कानुनको विरुद्धमा ६७.७३ प्रतिशत भोट आउँछ जसमा गोरा जातिका मानिसले मात्र मतदान गरेका थिए । सन् १९९४ बाट साउथ अफ्रिकाबाट सदाका लागि रंगभेदी कानुन खारेज हुन्छ ।
यसैगरी अमेरिकामा सन् २०२० मा जर्ज फ्लायडको हत्या पश्चात् संसारभर ब्ल्याक लाइभ्स् म्याटर्स प्रोटेष्ट सुरु भयो । क्रिकेट जगतले यसको खुलेर समर्थन समेत गर्यो । कोभिड–१९ पछि इङ्गल्याण्डमा भएको टेष्ट वेष्टइन्डिज विरुद्धको सिरिजको पहिलो खेलमा दुवै टीमका खेलाडीले घुँडा टेकेर आफ्नो ऐक्यबद्धता जनाए । खेलका क्रममा हुने टेलिभिजन सोमा वेष्टइन्डिजका लिजेन्ड, पेसर, माइकल होल्डिङले आफूले भोगेको रंगभेदबारे मर्मस्पर्शी भनाइ राखे ।
होल्डिङले भने, ‘काला जातिका मानिसहरूको अमानवीकरणसँगै रंगभेदको सुरुवात भएको हो । इतिहासमा काला जातिका मानिसहरूलाई दबाइएको छ । तपाईं हामी सबैलाई थाहा छ बल्ब कसले बनायो । थोमस एल्बाइडिसनले तर बल्ब बल्ने फिलामेन्ट कसले बनायो ? कसैलाई थाहा छैन किनकि उनी काला जातिका वैज्ञानिक थिए, लुइस ल्याटिमर जसको नाम कुनै स्कुलमा पढाइँदैन ।’
यस्ता कैयौं उदाहरण छन् जसमा क्रिकेट जगत सामाजिक न्यायको पक्षमा उभिएको छ र समाज रूपान्तरणमा योगदान गरेको छ । क्रिकेटमा मैदानमा खेलाडीबाट भएको रंगभेदी टिप्पणीमा आईसीसी र सम्बन्धित क्रिकेट बोर्डले कडा कदम चालेको हामीले देख्दै आएका छौं ।
उदाहरणका लागि सन् २०१९ साउथ अफ्रिकाको डर्बनमा भएको एकदिवसीय खेलका क्रममा पाकिस्तानका तत्कालीन कप्तान र विकेटकिपर सरफराज एहमदले ब्याट्सम्यान एनडिले फिक्लुकुहायो माथि रंगभेदी टिप्पणी गर्छन् । उनको टिप्पणी स्टम्समाइकमा रेकर्ड हुन्छ ।
उनले फिक्लुकुहायोलाई लक्षित गर्दै भन्छन्, ‘अरे काले तिम्रो आमा छिन््, आमाले तिम्रो लागि के प्रार्थना गरिन् ?’ सरफराजको यो भनाइलाई पाकिस्तानको पूर्व खेलाडी र मिडियाले कडा स्वरमा निन्दा गर्छन् । जसकारण उनले सार्वजनिक माफी माग्छन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले वक्तव्य जारी गर्दै सरफराजको आलोचना गर्छ र आफूले सरफराजको भनाइलाई समर्थन नगर्ने जानकारी गराउँछ ।
यस्तै सन् २०२१ जूनमा भएको इङ्गल्याण्ड र न्युजिल्याण्डबीचको पहिलो टेष्टमा इङ्गल्याण्डका पेसर ओलि रोबिन्सन् डेब्यु गर्छन् । डेब्यु खेलमा नै उनले पहिलो पारीमा ४ विकेट लिन्छन् । त्यस दिन चर्चा रोबिन्सन्को खेलको हुनुपर्ने हो तर चर्चामा रह्यो उनले सन् २०१२ देखि २०१४ सम्म गरेको रंगभेदी र स्त्रीद्वेषी ट्वीटहरू । इन्टरनेटमा उनले १८ देखि २० वर्ष उमेरका बीचमा गरेका विवादास्पद ट्विटहरूको चर्को आलोचना भयो ।
उनले गरेका ट्वीटहरू यस्ता छन्— ‘मेरो नयाँ मुस्लिम साथी बम हो’, ‘जो महिला भिडियो गेम खेल्छन् उनीहरू अन्य महिलाको तुलनामा धेरै यौन सम्पर्क गर्छन् ।’
इङ्गल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)ले रोबिन्सन्को यो हर्कतबारे तत्काल कारबाही गर्छ । उनलाई ८ वटा म्याचको प्रतिबन्ध लगाइनुका साथै ३२०० पाउण्डको जरिवाना तोकिन्छ । ओलि रोबिन्सन्ले सार्वजनिक रूपमा माफी माग्छन् ।
यसै क्रममा स्काई स्पोर्टस्लाई दिएको एक अन्तर्वार्तामा इङ्गल्याण्डका पूर्व कप्तान नासिर हुुसेनले भने, ‘हाम्रो लागि यो अर्को सबक हो, मैले उनका ट्वीटहरू पढेको छु, तपाईं १८ वर्षको हुनुस् या २८ वर्षको तपाईंले कुनै पनि हालतमा त्यस्ता ट्वीट गर्न पाउनुहुन्न ।’
क्रिकेट मैदानमा ११ जना खेलाडी मात्रै उत्रिए पनि खेलाडीका पछाडि हजारौं समर्थक हुन्छन् । खेललाई गतिशील र जीवन्त राख्न मद्दत गर्छन् समर्थकहरू, सकारात्मक आलोचना गर्ने प्रेसहरू र आवश्यक पूर्वाधार र अन्य व्यवस्था मिलाउने सरकार र क्रिकेट बोर्ड । सबै जनाको सामूहिक प्रयासमा क्रिकेट खेल हरेक देशमा अगाडि बढेको छ । तर जब–जब यो खेललाई बदनाम गर्ने काम हुन्छ त्यसैबेला यी सबै सरोकारवालाहरू एकजुट हुन्छन् ।
यस्तै उदाहरण दिने एउटा घटना हो ‘स्याण्डपेपर गेट ।’ सन् २०१८ मार्च २४ गते साउथ अफ्रिकाको राजधानी डर्बनमा जारी तेस्रो टेष्टमा अष्ट्रियाली खेलाडी कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र केमरुन ब्यानक्रफ्टले खेलमा प्रयोग भएको बललाई गैरकानुनी तरिकाबाट क्षति पुर्याउँछन् जसलाई क्रिकेटको भाषामा बल ट्याम्परिङ भनिन्छ । उनीहरूको यो काम क्यामेरामा रेकर्ड हुन्छ । उनीहरूले बललाई एकतर्फ चिल्लो बनाउन र अर्कोपट्टि खस्रो बनाउन रेगमालको प्रयोग गर्छन् ।
घटना पश्चात् उनीहरूको व्यापक आलोचना हुन्छ । यो घटनाले अष्ट्रियाली खेल जगतलाई लज्जित बनाउँछ । समर्थकहरूको एउटै स्वर थियो– ‘हामी मैदानमा टप खेल्छौं तर हामी बेइमान होइनौं ।’ समर्थकहरू र पूर्व खेलाडीहरू उनीहरूलाई कारबाही गर्न क्रिकेट अष्ट्रेलियासँग माग गर्छन् ।
यसमा तत्कालीन प्रधानमन्त्री मेल्कम टर्नबुलले क्रिकेट अष्टे«लियालाई हस्तक्षेप गर्छन् र भन्छन्, ‘म साउथ अफ्रिकाबाट आएको समाचारबाट निराश छु । हाम्रो टीमले झेली गरेको कुरा पत्याउन गाह्रो भइरहेको छ, हाम्रा खेलाडीहरू हाम्रो पहिचान हुन् त्यसमाथि पनि क्रिकेट फेयर प्ले हो, हाम्रो देशमा ब्यागी ग्रिन टोपी लगाउने खेलाडीको सम्मान यहाँको राजनीतिज्ञ भन्दा माथि मानिन्छ, म क्रिकेट अष्टे«लियालाई कडा कदम चाल्न अनुरोध गर्छु ।’
देशका प्रधानमन्त्रीले नै हस्तक्षेप गरिसकेपछि स्मिथ र वार्नरलाई क्रिकेटबाट एक वर्षको लागि र ब्यानक्रफ्टलाई ९ महिनासम्म प्रतिबन्ध लगाइन्छ । घटना भएको ५ वर्षपछि समेत अष्टे«लियाका खेलाडीलाई चिटर भनेर मैदानमा विपक्षी देशका समर्थकहरूले जिस्क्याउँछन् ।
हालै इङ्गल्याण्डमा सम्पन्न एसेज टेष्टमा इङ्गलिस समर्थकहरूले स्टिभ स्मिथ ब्याटिङमा आउँदा रेगमाल देखाएका थिए र नारा लगाए– ‘हामीले तिमी रोएको टिभीमा देखेका छौं ।’
माथि उल्लिखित प्रतिनिधि घटना मात्रै हुन् । यस्ता कैयौं उदाहरण छन् । अब फर्कौं नेपाल क्रिकेटतर्फ । हाम्रो देशको क्रिकेट जगत सामाजिक न्यायको सवालमा माथि छलफल गरिएका क्रिकेट संघ–संस्था जति प्रतिबद्ध छ ? अवश्य छैन ।
के हामीले नाबालिक बलात्कारका आरोपित सन्दीप लामिछानेलाई टीममा स्थान दिन सक्छौं ? उनको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाको छिनोफानो नलाग्दै उनलाई टीममा ल्याएर हामीले कस्तो क्रिकेटको खेल भावनालाई कुन स्तरसम्म तल झारेका छौं । के लामिछाने यदि अरू देशमा भएको भए उनले राष्ट्रको झण्डा भएको क्याप र जर्सी लगाएर देशलाई प्रतिनिधित्व गर्न पाउँथे ?
भर्खरै दोस्रो पटक क्यानको अध्यक्ष चुनिएका चतुरबहादुर चन्दले एक टेलिभिजन अन्तर्वार्तामा अदालतको निर्णय अनुसार नै सन्दीपले खेलेको बताए । तर सवाल यो हो कि नाबालिक बलात्कारको आरोपितलाई मुद्दाको अन्तिम फैसला नआइसक्दै तपाईं कसरी राष्ट्रिय टोलीमा समावेश गर्न सक्नुहुन्छ ?
माथि उल्लेख गरिएको घटनाहरूमा सम्बन्धित क्रिकेट बोर्डले अदालतको फैसलालाई आधार बनायो कि स्पिरिट अफ क्रिकेटलाई ? चन्दले अदालतको कारणले लामिछानेको खेल खस्किएकोमा चिन्ता जाहेर गरे तर उनले गौशाला–२६ ले भोगेको मानसिक यातनाबारे अलिकति पनि चासो व्यक्त गरेनन् ।
घटना भएको यति दिन बितिसक्दा समेत अदालतले फैसला नगर्नु, अन्तिम निर्णयको फैसला बारम्बार सरिरहनुले उनमा कस्तो प्रभाव परेको होला ? यसतर्फ क्यानको कुनै जवाफदेही हुँदैन ?
नेपाली क्रिकेटको सबैभन्दा ठूलो तागत यो यहाँको समर्थक । सायदै नेपालको घरेलु खेल हुँदा कीर्तिपुरको रंगशाला नभरिएको होस् । तर क्रिकेट समर्थकले के कुरा ख्याल राख्नुपर्छ भने हामी खेल जित्न त चाहन्छौं तर कुन मूल्यमा ? भर्खरै एउटा घरेलु खेलमा सन्दीप लामिछाने बाउन्ड्री नजिकै फिल्डिङ गर्दा समर्थकले नारा लगाए– ‘२० लाख फिर्ता गर !’
समर्थकहरूले सन्दीपले अदालतमा बुझाएको धरौटी बापतको रकम फिर्ता गर्न माग गरिरहेका थिए । उनीहरू बलात्कार, यौन हिंसाका बारेमा निम्नस्तरीय टिप्पणी गर्दै बलात्कारलाई सामान्यीकरण गरिरहेका छन् । त्यो नारा लगाउने सच्चा क्रिकेट समर्थक हुनै सक्दैनन् ।
भर्खरै एशिया कपमा भारत र पाकिस्तानसँग खेलिसकेपछि नेपाली खेलाडीलाई विश्वस्तरीय सेवा–सुविधा दिन चौतर्फी माग बढेको छ । एक जना सांसदले त भारतीय खेलाडीसरह नेपाली खेलाडीलाई तलब भत्ता दिन सरकारसँग माग गरे । अन्य देशका झैं भव्य क्रिकेट स्टेडियम बनाउन धेरैको माग छ तर उनीहरूले कहिल्यै क्यानको कदमलाई विरोध गरेनन् । यसको विपरीत यहाँका नेता, मन्त्री र प्रधानमन्त्री समेतले क्यानको कदमलाई समर्थन गरिरहे ।
खेलमा हार–जित स्वाभाविक हो । समानता र न्यायका लागि २७ वर्ष जेलमा बिताएका मण्डेला भन्छन्– ‘खेलमा मानिसलाई एकताबद्ध गर्ने तागत हुन्छ जो अन्यमा न्यून हुन्छ । खेलले आम मानिसलाई उनीहरूले बुझ्ने भाषामा संवाद गर्छ ।’ त्यो भाषा हो सहअस्तित्व, समानता र सामाजिक न्यायको । के नेपाल क्रिकेट आफ्नो गल्तीलाई सच्याएर सामाजिक न्यायप्रति प्रतिबद्ध बन्न सक्छ ?
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4