१४ चैत, काठमाडौं । सर्वोच्च अदालतले दरबन्दी अनुसार न्यायाधीश नहुँदा न्याय सम्पादनमा असर परेको बताएको छ ।
मंगलबार सर्वोच्च अदालतमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विमल पौड्यालले दरबन्दी अनुसार न्यायाधीश नहुँदा मुद्दा फैसलामा चाप परेको बताए ।
‘संख्यात्मक हिसाबले कमी भएको त गएको वर्षदेखि नै हो । सर्वोच्च अदालत विगत ६ महिनादेखि त १६ जना न्यायाधीशहरुकै दरबन्दीमा रहेका छौं । यो १६ जना न्यायाधीशको दरबन्दी हुनु भनेको आठ वटा इजलास मात्रै बन्न सक्ने स्थितिमा रह्यो’ उनले भने, ‘हाम्रो पेशीको व्यवस्थापन गरिरहँदाखेरि मुद्दाहरुको समूह चाहिँ २१ जना न्यायाधीशलाई लक्षित गरेर समूह बन्ने भएको हुनाले सेवाग्राहीहरुलाई धेरै ठूलो चाप पर्यो ।’
सर्वोच्च अदालतमा २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था भए पनि हाल १६ जना कार्यरत छन् । प्रधानन्यायाधीश पद पनि एक वर्ष भन्दा बढी समय रिक्त छ । हाल कामु प्रधानन्यायाधीशको हैसियतमा हरिकृष्ण कार्की छन् ।
समयमा न्याय निरुपण हुन नसक्दा र पटक पटक मुद्दा स्थगित हुँदा सेवाग्राहीलाई कठिनाई भएको पनि प्रवक्ता पौड्यालले बताए । ‘त्यसो हुनाले शीघ्र सर्वोच्च अदालतको सम्माननीय प्रधानन्यायाधीशज्यू र माननीय न्यायाधीशज्यूहरुको दरबन्दी पूर्ति हुने र न्यायाधीशहरुको नियुक्तिको सुनिश्चितता गर्नुपर्ने स्थिति छ’ उनले भने ।
संविधान र कानुनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्ययााधीश रिक्त हुनुभन्दा एक महिना अगाडि नै पदपूर्ति प्रक्रिया सुरु गर्न भनेको तर त्यस्तो अभ्यास नदेखिएको प्रवक्ता पौड्यालले बताए ।
‘नत्र यसले समग्र मुद्दा व्यवस्थापनमा, समग्र अदालतको कार्यसम्पादनमा र यसको परिणामतः जनताको सेवा गर्ने कार्यमै यसले अवरोध सिर्जना भएको हुनाले यो कुरालाई मध्यनजर राखिदिनु हुन सम्पूर्ण निकायहरु प्रति विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु’ उनले भने ।
सर्वोच्च अदालतमा ३६ हजार ५ सय भन्दा बढी मुद्दाको लगत रहेको छ । चालु आर्थिक वर्षमा मात्रै ६ हजार ३ सय भन्दा बढी मुद्दा दर्ता भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा ७ हजार ७ सयभन्दा बढी मुद्दाको फर्छ्यौट भएको छ र अब २८ हजार ८ सय ५२ थान मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4