+
+
Shares

अध्ययनको निष्कर्ष : स्ट्रोकमा जैविक घडीको विशेष भूमिका, बिहान हुन्छ धेरै घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १८:१३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चिकित्सक डा. विवेक सिंहको नेतृत्वमा चीनमा गरिएको अध्ययनले स्ट्रोक र जैविक घडीको सम्बन्ध देखाएको छ।
  • अध्ययनले स्ट्रोक बिहान ८ बजेपछि बढी हुने र पहिले स्ट्रोक भोगेका बिरामीमा दिउँसो हुने सम्भावना बढी रहेको देखाएको छ।
  • डा. सिंहले स्ट्रोक रोकथाम र उपचारमा जैविक घडीको विचार आवश्यक रहेको र यो अध्ययन तीन प्रमुख अन्तर्राष्ट्रिय सम्मेलनमा छनोट भएको बताए।

विश्वभर लाखौँ मानिसलाई दीर्घ अपांगता बनाउने र मृत्युको जोखिममा पार्ने स्ट्रोक अर्थात मस्तिष्कघात हुनुमा जैविक घडीको विशेष भूमिका हुने अध्ययनले देखाएको छ । नेपाली चिकित्सकको नेतृत्वमा चीनमा गरिएको अध्ययनले स्ट्रोक र जैविक घडीको सम्बन्धलाई केलाएको छ ।

न्युरोलोजिस्ट-वैज्ञानिक डा. विवेक सिंहको नेतृत्वमा चीनको शाङ्घाई इस्ट हस्पिटलमा केन्द्रित रहेर यो अध्ययन गरिएको डा. सिंहले जानकारी दिए । उनका अनुसार यस अध्ययनमा स्ट्रोक भएका बिरामीहरूमा घटना कहिले हुने भन्ने कुराको समयअनुसार विश्लेषण गरिएको थियो ।

अधिकांशमा स्ट्रोक बिहानको समयमा, विशेष गरेर ८ बजेपछि हुने देखियो । यो ढाँचा हाम्रो जैविक घडी, जसलाई सर्केडियन रिदम भनिन्छ, त्यससँग गहिरो रूपमा मेल खाने देखिएको छ ।

अध्ययनले अर्को रोचक निष्कर्ष निकालेको डा. सिंहले बताए । पहिले नै स्ट्रोक भोगेका बिरामीहरूमा पुनः स्ट्रोक हुने समय अपराह्नतिर देखिएको थियो । अर्थात, पहिले स्ट्रोक भइसकेका व्यक्तिमा अर्को स्ट्रोक बिहानभन्दा पनि दिउँसो हुने सम्भावना बढी रहेको अध्ययनमा देखियो ।

बिहानको समयमा स्ट्रोक धेरै देखिनुमा जैविक घडी हाम्रो शरीरमा देखिने केही प्राकृतिक परिवर्तनहरू कारक रहेको डा. सिंहले बताए । उनका अनुसार रातभर सुतिसकेपछि बिहान उठ्दा हाम्रो शरीरको गतिविधि अचानक बढ्छ, जसका कारण रक्तचाप सामान्यभन्दा बढी बढ्ने गर्छ ।

यस समयमा रक्तनलीहरू कडा हुने, मुटुको धड्कन छिटो चल्ने हुन्छ । तनावसँग सम्बन्धित केही हर्मोनहरू जस्तै एड्रेनालिन, नोरएड्रेनालिन र कोर्टिसोलको मात्रा बढ्छ । यी हर्मोनहरूले रक्तनलीलाई संकुचित गर्छन् र रगत जम्ने प्रक्रियालाई सक्रिय बनाउँछन्।

अध्ययनको नेतृत्वकर्ता डा. विवेक सिंह ।

त्यसैगरी बिहानको समयमा रगत अलि बाक्लो हुने, प्लेटलेटहरू छिटो जम्ने, र रगत पगाल्ने फाइब्रिनोलिसिस प्रणाली कमजोर हुने भएकाले मस्तिष्कतर्फ जाने रक्तनली बन्द हुने जोखिम बढ्छ । उठेर हिँडडुल गर्नु, एक्कासी उभिनु वा बिहानै धेरै शारीरिक गतिविधि सुरु गर्दा यो जोखिम अझ बढ्न सक्छ ।

यसरी, बिहान शरीरभित्र हुने जैविक घडीअनुसारका हर्मोनल परिवर्तन, रक्तचापको वृद्धि, र दैनिक गतिविधि सुरु हुने प्रक्रियाले गर्दा बिहानको समयमा मस्तिष्कघात हुने सम्भावना अरू समयको तुलनामा बढी हुन्छ ।

यस किसिमको नतिजा पहिलेका कुनैपनि अध्ययनहरूले नदेखाएको दाबी डा. सिंहको छ । यो निष्कर्षले ‘सर्केडियन न्युरोलोजी’ क्षेत्रमा नयाँ सोच ल्याउन सक्ने उनले बताए ।

डा. सिंहको अनुसन्धान र समीक्षाका अनुसार हाम्रो शरीर दिनभरि एउटै अवस्थामा हुँदैन । बिहान उठ्ने समयमा रक्तचाप जैविक घडी अनुसार परिवर्तन हुन्छ, हर्मोनहरू सक्रिय हुन्छन्, र शरीरका विभिन्न कोषहरूमा पनि जैविक घडीअनुसार प्राकृतिक उतार–चढाव हुन्छ ।

यी दैनिक परिवर्तन जीवन–चक्रका लागि आवश्यक हुन्छन्, तर हाम्रो जीवनशैली प्रकृतिको नियमविपरीत चल्यो भने, यही जैविक तालले मस्तिष्क र मुटुका नलीहरूमा अनावश्यक तनाव सिर्जना गर्छ, जसले अन्ततः मस्तिष्कघात (स्ट्रोक) निम्त्याउन सक्छ ।

डा. सिंहका अनुसार, स्ट्रोकको जोखिम केवल निद्रा नपुगेको वा थकाइका कारणले मात्रै हुँदैन । कहिले सुतिन्छ भन्ने समय र दिनचर्यामा जैविक घडीसँग तालमेल भएको/नभएको कुरासँग समेत सम्बन्धित देखिन्छ । अझ गहिरिएर हेर्दा, सर्केडियन घडी केवल निद्रा वा मानसिक स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, यसले मधुमेह, उच्च रक्तचाप, मानसिक रोगहरू, र क्यान्सरजस्ता रोगहरूको उत्पत्ति वा बिग्रनमा समेत भूमिका खेल्छ ।

सन् २०२० को जनवरीदेखि २०२२ डिसेम्बरसम्म अस्पतालमा आएका १४०० स्ट्रोकका बिरामीमा अध्ययन गरिएको डा.सिंहले जानकारी दिए । डा.सिंहका अनुसार २०२२ अक्टुबरदेखि २०२४ अप्रिलसम्म लगाएर उक्त अध्ययनको डाटा विश्लेषण गरी निष्कर्ष निकालिएको हो ।

यव अध्ययनले तीन प्रमुख अन्तर्राष्ट्रिय सम्मेलनहरूमा छनjट भएको डा. सिहंले जानकारी दिए ।

उनका अनुसार २७औं वर्ल्ड कंग्रेस अफ न्युरोलोजी-२०२५ मा प्रस्तुतीका लागि यो अध्ययन प्रतिवेदन छनोट भएको थियो । यो विश्वका अग्रणी न्युरोलोजिस्टहरूले गरेका नवीनतम खोजहरू प्रस्तुत हुने संसारको सबैभन्दा प्रतिष्ठित न्युरोलोजी सम्मेलन भएको उनले बताए ।

२०२५ मा भएको अमेरिकाको न्युरोलोजी संघले आयोजना गरेको सम्मेलनमा पनि यो अध्ययन छनोट भई प्रस्तुत भएको थियो ।

२०२४ मा बेइजिङमा भएको सीएसए एण्ड टीआईसीएस सम्मेलनमा पनि यो अध्ययन् प्रस्तुत गरिएको डा. सिंहले बताए ।  उनका अनुसार यो चीनको सबैभन्दा ठूलो स्ट्रोक सम्मेलन हो, जहाँ एशियाली सन्दर्भका अनुसन्धानहरू प्रस्तुत गरिन्छन् ।

यो अध्ययनले स्ट्रोक र जैविक घडी बीचको सम्बन्धलाई स्पष्ट र वैज्ञानिक रूपमा व्याख्या गरेकाले स्ट्रोकको रोकथाम र उपचारमा यसको विशेष महत्व रहने डा. सिंहको दावी छ । यो अध्ययले स्ट्रोकको उपचारमा जैविक घडीको विचार गरिनुपर्ने कुरालाई थप बलियो बनाएको उनले बताए ।

अहिले डा. सिंह स्कटल्याण्ड र इटालीका वैज्ञानिकहरू, मुटुरोग विशेषज्ञ र इन्डोक्रिनोलोजिस्टसँग मिलेर अल्जाइमर र जैविक घडीको आणविक सम्बन्धबारे अनुसन्धान गरिरहेका छन् । यसले अल्जाइमर सुरु हुने सूक्ष्म संकेत, निद्राको ताल बिग्रँदा मस्तिष्कमा हुने परिवर्तन र समय–आधारित उपचार कुन मोडेलमा प्रभावकारी हुन्छ भन्ने विषयलाई अझ स्पष्ट गर्ने अपेक्षा गरिएको डा. सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?