एन्टोनियो ग्राम्सीले सन् १९३० को आसपास ‘प्रिजन नोटबुक्स’ मा लेखेका थिए, ‘सङ्कटको सार नै यही हो कि पुरानो मरिरहेको छ र नयाँले जन्म लिन सकिरहेको छैन; यस सङ्क्रमणकालीन अवस्थामा धेरै किसिमका विकृत लक्षणहरू देखा पर्छन्।’ यही उद्धरणलाई अप्रत्यक्ष रूपमा पुष्टि गर्ने अर्को लोकप्रिय भनाइ पनि छ, ‘कठिन समयले बलिया मानिसहरू जन्माउँछन्। बलिया मानिसहरूले राम्रो समय ल्याउँछन्। राम्रो समयले कमजोर मानिसहरू जन्माउँछन्। अनि, कमजोर मानिसहरूले फेरि कठिन समय निम्त्याउँछन्।’
प्राचीन रोममा एउटा राजाको मृत्यु र अर्को राजाको राज्याभिषेक बीचको त्यस्तो अवधि थियो, जहाँ सामान्य कानुनहरू लागू हुँदैनथे। ग्राम्सीले उल्लेख गरेको सङ्क्रमणकाल पक्कै पनि त्यस्तै हुनुपर्छ।
अहिलेको परिप्रेक्ष्यमा नेपाल पनि त्यही सङ्क्रमणकालीन अवधिमा बाँचिरहेको छ। पुराना राजनीतिक शक्तिहरूप्रतिको रोष र क्रोध सडकमा उम्लिएर संसद्सम्म पुगेका छन्। भित्रभित्रै सल्किरहेको आक्रोशले पुरानो सत्ता ढाल्न त जान्दछ, तर समय अनुकूलको राजनीतिक आकार भने नलिन सक्छ। त्यतिबेला मूर्त स्थापना नभएको आक्रोशले देशलाई यस्तो चक्रव्यूहमा धकेल्छ, जसबाट न पछाडि फर्किन सकिन्छ, न अगाडि सुखद भविष्यको धिपधिपे उज्यालो नै देख्न सकिन्छ।
ग्राम्सीले उल्लेख गरेको ‘विकृत लक्षण’ लाई प्रचलित रूपमा ‘दानवहरूको समय’ भनिन्छ। तर उपभोगको लिप्सामा अड्किएको समाजले ती दानवहरूलाई नचिन्न सक्छ। हाम्रो समाजमा दानव भन्नेबित्तिकै कोही भीमकाय, अत्यन्त बलशाली र आफ्नो बलको दुरुपयोगमार्फत समाजमा विध्वंस मच्चाउने चरित्रका रूपमा बुझिन्छ। तर यथार्थ भने यी मान्यताभन्दा फरक हुन्छ। दानवहरू शारीरिक र मानसिक दुवै रूपमा दुर्बल हुन्छन्।
तर आफ्नो अक्षमताका बाबजुद पनि तिनीहरूमा शक्ति-रसको आस्वादन गर्ने लोभ जीवितै रहन्छ। सन्त अगस्टिनले यसलाई ‘प्रिभासियो बोनी’ (असलपनको अभाव) भनेर नाम दिएका छन्। त्यसैले, यिनीहरू स्वस्थ र हरियो रूख कुहिँदै जानुलाई आफू फस्टाउने मलका रूपमा लिन्छन्; रूखलाई पुनः स्वस्थ बनाउनु यिनीहरूको प्राथमिकतामा पर्दैन।
तसर्थ, पङ्क्तिकारको आफ्नो मान्यता के छ भने यदि कुनै नेता जनतालाई स्वावलम्बी बनाउनुको सट्टा ‘जनताको सेवा गर्छु’ भनेर आश्वासन मात्र दिन्छ भने उक्त नेतामा गम्भीर खोट हुनुपर्छ। केवल मत प्राप्त गर्नका लागि निर्वाचनलाई चाडजस्तै तुल्याएर जनताको पैतालामा नर्कटझैँ निहुरिने नेता खोज्ने कि जनतामा स्वयम् र समाजको सेवक बन्ने प्रतिभा र आत्मविश्वास सञ्चार गरिदिने स्पष्ट नेता चयन गर्ने? यो आफैँमा महत्त्वपूर्ण उत्तरदायित्व हो।
पत्रकार जगदीश खरेलको एउटा भिडियो भाइरल भएको छ। त्यस भिडियोमा मृदुभाषी बनिटोपलेका खरेलका दुई भिन्न समयका दुई भिन्न विचार छन्। एकताका आफू अन्तरिम सरकारमा जानुको उद्देश्य केवल चुनावको माहोल सिर्जना गर्न सहायक हुनु मात्र रहेको बताउने खरेल अहिले भने स्वयम् चुनावमा उत्रिएका छन्। यसबीचको अत्यन्त छोटो समयावधिमा कुनै यस्तो राजनीतिक या सामाजिक अवस्था निर्माण भएको थिएन, जसले खरेलको दुईजिब्रे प्रवृत्तिलाई उद्घाटन गरिदियोस्। तर, निरन्तर सूचनाको नियन्त्रण आफ्नो हातमा बोक्ने बानी परेका र मन्त्री भएपछि सायद ‘तेस्रो नेत्र’ खुलेका खरेलको अन्तःकरणमा लुकेको शक्तिको तिर्खालाई चुनावको तामझामले राम्रैसँग उक्साएको अनुमान लगाउन सकिन्छ।
खरेल मात्र होइन, आफूलाई किताब बेच्दाबेच्दै शिक्षामन्त्रीको कुर्सीमा बसालिएको र राजनीतिमा आउने कुनै अभिलाषा नरहेको बताउने महावीर पुनले पनि पुनः संसद्को कुर्सीमा आँखा गाडेका छन्। कुनै समय शिक्षक राजनीतिमा होमिएका र लामो समयपश्चात् संयोगले जुराइदिएको मन्त्री पद पड्काएका पुन आफ्नो अधकल्चो शक्ति-तिर्सना मेट्न चुनावमा उठेका छन्। सामान्य आलोचना पनि खेप्न नसक्ने र मनमौजी स्वभावका पुनले चुनाव जितेको खण्डमा आफ्नै मनोगत पारामा शक्तिको प्रयोग गर्ने तथा समाज र समाजका घेराबाहिरका अनेक राजनीतिक प्रक्रियाहरू बुझ्न खासै चासो नदिने अर्को अनुमान पनि लगाउन सकिन्छ।
यस पङ्क्तिकारले ‘जेन जेड’ आन्दोलनकै समयमा एउटा लेख लेखेको थियो– ‘विज्ञान, कला, शिक्षण आदि हरेक क्षेत्रको आ-आफ्नै शक्ति हुन्छ र शक्ति केवल राजनीतिमा मात्र हुन्छ भन्नु कागको पछाडि कान टिप्न दगुर्नु जस्तै हो।’ यदि कोही मानिस विज्ञान, कला, शिक्षण, पत्रकारिता आदि विधालाई राजनीतिमा पदार्पण गर्ने साधनका रूपमा मात्र लिन्छ भने त्यस मानिसले दिएको योगदानमा सन्देह गर्नुपर्ने हुन्छ। आफ्नो क्षेत्र र प्रतिभाको अवमूल्यन गरेर राजनीतिक शक्ति कुरिरहने मानिसहरू भत्किँदै गरेको समाजका लक्षण हुन्।
प्रकाश सपुतको रास्वपा प्रवेशले उनको कलाकार परिचयको अवमानना त गरेको छ नै, रास्वपामा देखिएको सही उम्मेदवारको खडेरीलाई पनि उजागर गरेको छ। अझ राजनीतिक चेतना काँचो भएका मानिसहरूलाई ठाउँ दिइराख्दा समग्र राजनीतिक शक्तिको अपमान भइरहेको छ। टेलिभिजन प्रस्तोता रिमा विश्वकर्माको भाषण र उपस्थिति आफैँमा व्यङ्ग्यभन्दा बढी केही हुन सकेन।
रवि लामिछाने र बालेन शाहको उदय केवल ‘राजनीतिक निषेध’ बाट भएको हो भन्दा फरक नपर्ला। पुराना शक्तिका आलोचकहरू नै नयाँ शक्तिका कर्णधार हुन्छन् भनेर बुझ्नु आफ्नै मूर्खताको विज्ञापन गर्नु हो। अचाक्ली लोकप्रिय बनेका तर पत्रकार बन्न नसकेका रवि सायद आफ्नो यही मूर्खताको परिचय पाउन सकेका छैनन्।
लगभग १० वर्षदेखि काठमाडौँको धुलो-धुवाँ खाएर बसिरहेको यस पङ्क्तिकारलाई बालेनको कार्य फेसबुकमा मात्र सीमित भएको कुरा ठम्याउन कुनै गहिरो वैचारिक मन्थनको आवश्यकता पर्दैन। सौरभले जुराइदिएको नाम ‘लुसिफर’ केवल कुरा खोतल्नका लागि मात्र गरिएको होइन, यसमा सत्यता पनि निहित छ। लुसिफर बलियो र भयानक हुँदैन, लुसिफर त आफ्नो कमजोरीलाई नै शक्तिमा बदल्ने प्रपञ्चको अर्को नाम हो।
सामान्य तरिकामा भन्नुपर्दा जेनजी आन्दोलनको आशय पुरानो र भ्रष्ट सरकारलाई नयाँ र सबल सरकारले प्रतिस्थापन गर्नु हो। तर यसको अर्थ यो निकालिनु हुँदैन कि हरेक पुरानाहरू त्याग्दै जानुपर्छ र नयाँहरूलाई बेरोकटोक स्वीकार्नुपर्छ। यसमा कुनै सन्देह नै छैन कि पुराना राजनीतिक दलहरूले हामीलाई रगतको आँसु रुवाएका थिए। तर अनुहार रन्किने गर्मीमा लामो उकालो हिँडेपछि अचानक चिसो पानीमा मुख गाड्नु हानिकारक हुन सक्छ। त्यसमाथि राजनीतिमा लागेका मानिसहरूसँग हाम्रो तिर्खालाई उनीहरूको जलाशयमा आश्रित तुल्याउने विद्याबाहेक अरू कमै विशिष्टता हुन्छ।
हुन सक्छ कि यी विविध आलोचनाहरूमाझ नयाँ राजनीतिक शक्तिहरूका असल उद्देश्य पनि होलान्। तर राजनीतिमा असल उद्देश्य भएर मात्र पुग्दैन, त्यसलाई पूर्ण बनाउन हामीमा परिपक्व चेतना र साहसिक हृदयको पनि आवश्यकता पर्छ।
राजनीति आवेगको मात्र खेल हुने भए बन्दुक मात्र बोक्न जान्ने क्रान्तिकारीहरूले हाम्रो देशको सामाजिक परिवर्तन गरिसक्थे। शास्त्र मात्र छिचोलेका तर लोक नबुझेका कम्युनिस्टहरूले यो विडम्बना आफ्नै अनुभवबाट बुझेका छन्।
अब राजनीतिमा पदार्पण गरेका यिनै नयाँ शक्तिहरूलाई के लाग्दो रहेछ भने उनीहरूले चाहे भने समाजमा परिवर्तन रातारात हुन्छ। विश्वका समृद्ध देशहरूले अपनाएको आर्थिक समृद्धिद्वारा नै देशको भविष्य निर्धारित हुन्छ। तर राजनीति कुनै व्यक्तिको इच्छा अनुसार होइन, संस्थाहरूको इच्छा अनुसार हुन्छ।
अनि तेस्रो विश्वको अर्थतन्त्र अन्य अर्थतन्त्रभन्दा अवश्य पृथक् हुनुपर्छ। बालेन र रविले चाहेको आर्थिक समृद्धिले मानिसहरूलाई केवल आर्थिक यन्त्रणामा परिवर्तन त गरिरहेको छैन, यसमा सन्देह गर्न आवश्यक छ।
हाम्रा आफ्नै चाडपर्वहरूमा सहभागिता बिस्तारै हराउँदै जाँदा उक्त पर्वहरूको स्थान भने चुनावले लिँदै गरेको जस्तो देखिन्छ। भन्नलाई जनताको शासन भने पनि शासनबाट आफ्नो दूरी झन्झन् बढ्दै गरेको आभास जनताहरूलाई नभएको होइन। तर आफूभन्दा कहाँ हो कहाँ उपल्लो लाग्ने मानिसहरू आफ्नो घरदैलोमा हात जोड्दै आउँदा अचानक आफूमा अदम्य शक्तिको स्रोत रहेको अनुभव हुनु सामान्य मनोवैज्ञानिक प्रक्रिया नै हो। तर अनुभवले पाक्न बाँकी मानिसहरू यस मनोविज्ञानमा आफ्नो समाजले लामो समयदेखि चुकाउँदै आउनुपरेको मूल्यलाई भने विस्मृतिको गर्तमा ठेलीदिन्छन् र केवल आत्मरतिमा रमाउन थाल्छन्। आसन्न निर्वाचनमा महत्त्वपूर्ण हात रहेको नवपुस्ताले यी सूक्ष्म तर अति महत्त्वपूर्ण कुराहरूमा कतिको ध्यान पुर्याउन सक्ला? हेरिँदै छ, हेरिने छ पनि।
चुनाव उठेका उम्मेदवारहरू देखेर संसद्को विरूपताको पूर्वाभास हुन्छ। चुनाव गराउनका लागि मात्र कार्यभार सम्हालेका मन्त्रीहरू आफैँ उम्मेदवार उठेर छेपारोसम्म लजाउने गरी रङ्ग फेरेको देख्न पाइयो । त्यो पनि रक्ताम्य जेनजी आन्दोलन लगत्तै । थालेपछि बाँकी उम्मेदवारहरूको के होला ! भनिन्छ– राजनीति तलबाट सुक्छ र माथिबाट कुहिन्छ। यदि माथिबाटै दुर्गन्ध सुरु भएपछि तलतल नसर्ला भन्न सकिँदैन।
सङ्क्रमणकालीन अनिश्चितताले कुनै निर्णायक मन्तव्य दिन आँट नदिँदो रहेछ। कमजोर समयले कमजोरहरूलाई माथि उचालेर कठिन समयको आधार खडा नगरिदियोस् भनेर कामना गर्नुबाहेक अन्य तरिकाले यो लेख अन्त्य गर्न सकिएन ।
प्रतिक्रिया 4