
काठमाडौं । नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । काठमाडौंस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यबाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन् ।
जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ । दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुने भएको छ ।
फेस्टिभलको अन्तिम प्रदर्शनी चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म आयोजना हुनेछ । फेस्टिभलको मूल विषयवस्तु ‘सबैका लागि मानव अधिकार’ तय गरिएको छ । ‘फेस्टिभलको उद्देश्य मानवअधिकारको बारेमा सचेतना अभिवृद्धि गर्नु हो,’ युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताइन् ।
सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय र काठमाडौंमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकले निर्देशन गरेका आठ फिल्मसहित नेपालका युवा फिल्म उत्पादकले निर्माण गरेका छोटा फिल्म प्रदर्शन गरिनेछ ।
महोत्सवको क्रममा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ विषयक छलफल पनि आयोजना गर्ने भएको छ ।
‘चलचित्रलाई कसरी बुझ्ने ?’ भन्ने विषयमा पनि छलफल हुने भएको छ । तीनवटै ठाउँका महोत्सवको सुरुमा ह्यामी रामेजनद्वारा निर्देशित ‘एनी डे नाउ’ भन्ने फिल्मको प्रदर्शनीबाट हुनेछ । यो फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ र यो समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।
महोत्सवमा प्रदर्शन हुने अन्य फिल्ममा अरस टी रिहानीले निर्देशन गरेको अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेको इनभिजिबल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेको डेटिङ अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्याण्ड्स) छन् ।
महोत्सवमा टोनी ह्यागेन फाउण्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछ । जसमा अंकित खड्गीको निर्देशनमा बनेको ‘आइ वान्टेड टु बी लाइक माधुरी दीक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र गृष्म गिरीको ब्लुज अफ पिंक छन् । नेपाली युवा फिल्म निर्माताका अन्य फिल्ममा मिन्शो लिम्बूको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ विथ डिग्निटी, दीपक रौनियारको फोर नाइट्स र दीपा श्रेष्ठको ड्रिफ्टिङ क्लाउड्स छन् ।
प्रतिक्रिया 4