 
																			विगत ३०० वर्षको नेपाली इतिहासमा कहिले राजा–महाराजाले शासन गरे त कहिले राणाले। २००७ सालको अपवाद बाहेक २०४८ सालपछि ३२ वर्षसम्म लगातार जनताको नाममा दलका नेता-कार्यकर्ताले शासन गरे। यसक्रममा जनताले धेरै पटक फरक-फरक समीकरण भएका सरकारको परीक्षा लिने मौका पाए।
कहिले बहुमतको सरकार, कहिले मिलीजुली सरकार त कहिले कांग्रेस, कम्युनिस्ट र राजावादी सहितको गठबन्धनका थुप्रै सरकारको परीक्षण भयो। यही अवधिमा धेरै मुलुकले विकास र समृद्धिका क्षेत्रमा आश्चर्यजनक ढंगले फड्को मारे तर हामीले समयको सदुपयोग गर्न जानेनौं या सकेनौं।
हामी नराम्रोसँग चुक्यौं, कहिले माओवादी द्वन्द्वका नाममा त कहिले संविधान निर्माणको समय भनेर अल्मलियौं, डेढ दशक त खेरै गयो। जनताको हरेक परीक्षामा सरकार र दलहरू पास हुन सकेनन्। परिणामस्वरूप अफगानिस्तानको अपवादलाई छाडेर नेपाल एशिया प्रशान्त क्षेत्रको सबैभन्दा गरीब मुलुक रहिरह्यो।
यस्तो गरिबी र पछौटेपनको कारण व्यवस्था नभएर राजनीतिक संस्कार र पद्धति देखियो। सरकार र दलहरूबाट यस्तो लोकतन्त्रको अभ्यास भइदियो जहाँ जनताको नाममा दलका नेता-कार्यकर्ताले शासन गरिरहे।
नेता-कार्यकर्ताको डर र त्रासका कारण कर्मचारी, शिक्षक, प्रहरी, सेना, डाक्टर, इन्जिनियर, वकिल लगायत समाजका हरेक तह र तप्काका जनसेवक कर्मचारीले चुस्त, दुरुस्त र इमानदारी साथ जनसेवा प्रवाह गर्न सकेनन्।

देशमा केही गर्छु भन्ने बलिया हात-पाखुरा भएका र पढे-लेखेका लाखौं युवा नेता कार्यकर्ताबाट आजित भएर, चरम विकृति, विसंगति र बेथितिबाट थाकेर आफ्नो घर-गुजाराका लागि विदेशिन बाध्य भए। यसबाट हामीले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौं भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
राजनीतिक भाष्यमा झुटोलाई साँचो सावित गरिदिने या साँचोलाई बडो सम्मानपूर्वक हत्या गरिदिने अनौठो ताकत हुँदो रहेछ। नेपालमा धेरै झुट बोलेर सबैभन्दा बढी नाफा कमाउने पेशा आज राजनीति भएको छ। झुटको बोली चुहिन नपाउँदै ताली ठोक्ने जमात तयारी अवस्थामा राखिएको छ।
ती ताली पिट्नेहरू प्राय: बिचौलिया बनेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गर्न थाले। स्मरण रहोस्, राजनीति गरेर र बिचौलिया बनेर कमाएको पैसामा राज्यले कुनै कर लगाउँदैन। यो नै नेपालको एक मात्र ट्याक्स फ्री इन्कम हो। त्यसैले यस्ता पेशामा एकपटक छिरेको नेता वा बिचौलिया जीवनभर अरु पेशामा लाग्नै चाहँदैनन्।
राष्ट्रियदेखि स्थानीय तहसम्म यो एक प्रकारको धुम्रपानको लत जस्तै भएको छ। यही लतले आज हाम्रो देशमा अथाह प्राकृतिक स्रोत हुँदाहुँदै पनि दिन-प्रतिदिन अर्थतन्त्र खोक्रो हुँदै गइरहेको छ।
विगत ३२ वर्ष अवधिका हरेक निर्वाचनहरूमा चुनाव अघि नेता र दलहरूले गरेका वाचाहरू कार्यान्वयन गरेको भए नेपालमा आजसम्म २० हजार मेगावाट भन्दा धेरै बढी बिजुली उत्पादन भइसक्थ्यो, नेताले भने जस्तै नेपाल सिंगापुर या स्विट्जरल्याण्ड बनिसक्थ्यो।
विश्वकै धनी मुलुकको सूचीमा दर्जा भइसकेको हुन्थ्यो। तर विडम्बना आफैंले जनतासामु गरेका वाचाहरू चुनाव पछि कार्यान्वयन गर्न नसकेको कारण आज नेपाल अफगानिस्तानको अपवादलाई छाडेर एसिया प्रशान्त क्षेत्रकै सबैभन्दा गरीब मुलुकमा दर्ज भएको छ।
बीपी र पुष्पलालका पालाको राजनीति देश, समाज र विकासमा समर्पित थियो भने आज तिनै नेताको नाम भजाएर सत्ता र पदमा पुग्ने भर्याङ बनेको छ- राजनीति।
२०४६ सालमा गणेशमान सिंहको नेतृत्वको आन्दोलनबाट प्रजातन्त्र आयो, २०६२/६३ मा कृष्णप्रसाद भट्टराई जस्ता नेताका कारण लोकतन्त्र आयो। विगत ३२ वर्षको लामो इतिहासमा न त लोकतन्त्रलाई परिपक्व हुन दिइयो, न त नेताहरू अनुशासित भए, न त देश विकसित भयो।
अन्य देशहरूको तुलनामा झन्-झन् गरीब हुँदै गयो, अति कम विकसित मुलुकको दर्जामा रहिनै रह्यो। यसको प्रमुख कारण हो प्रजातन्त्र र संविधानमा भएका छिद्र (लुपहोल) को अधिकतम उपयोग।
प्रजातन्त्र संसारको उत्कृष्ट व्यवस्था हो, तर पनि यसको एउटै कमजोरी हो- जसको बहुमत उसैको नेतृत्व। तपाईंको वडामा जाली र फटाहाहरूको बाहुल्य छ भने तपाईंको वडा अध्यक्ष कस्तो छानिन्छ ? स्वाभाविक रूपमा सबैभन्दा चतुर, मीठो भाषण गरेर प्रभावित पार्न सक्ने सबभन्दा उत्कृष्ट फटाहा छानिन्छ। भ्रष्टै भ्रष्टहरूको बाहुल्य छ भने सबभन्दा भ्रष्ट नेतृत्व छानिन्छ।
विगत ३२ वर्षका नेतृत्वहरूले प्रजातन्त्र र संविधानमा भएका यस्ता छिद्रहरूको प्रयोग, उपयोग निरन्तर गरिरहे। आवश्यक परेको बेला नियम-कानुन परिवर्तन गरेरै भए पनि छिद्रहरूको प्रयोग गरिरहे।
ठूला दलका नेताहरू जसले प्रजातन्त्र ल्याए, जसले संविधान बनाए उनीहरूले नै प्रजातन्त्र र संविधानमा भएका छिद्रहरू खोजे, देखे र तिनै छिद्रहरूलाई माध्यम बनाएर नेता कार्यकर्तामा बिचौलिया प्रवृत्तिको बीजारोपण गरिदिए।
सत्ता र शक्तिको आडमा आफू आजीवन नेतृत्वमा रहिरहन खोज्दा भ्रष्टाचारको दलदलमा आफू पनि फसे अरुलाई पनि फसाए। विगत ३० वर्षसम्म हरेक निर्वाचनहरूमा नेता र जनता बीच रक्सी, मासुभात, पद, पैसा र शक्तिको चलखेल हुनथाल्यो, प्रजातन्त्रको नाममा जसरी भए पनि सत्ता र पदमा पुगेर लुट्ने परिपाटीले प्रश्रय पायो। जनतालाई गुमराहमा राखेर, भ्रम छरेर जनताको नाममा नेता–कार्यकर्ताले निरन्तर शासन गरिरहे।
यति विघ्न विकृति, विसंगति र निराशा छायो कि प्रजातन्त्र नै खतरामा पर्दैछ भन्ने बुझेर प्रजातन्त्रवादी नेताहरू गणेशमान र किसुनजी दुवै जना झस्किए र पार्टीभित्र शुद्धीकरण गर्ने प्रयत्न गरे। पार्टीलाई सुधार्न गणेशमानले सक्नुभएन, किसुनजीले पनि सक्नुभएन। हार खाएर नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नु पर्यो।
पार्टीबाट अलग भएपछि गणेशमान र किसुनजीसँग तीन विकल्प थिए। पहिलो, अन्य पार्टीमा जाने, दोस्रो नयाँ पार्टी खोल्ने र तेस्रो चुप लागेर तटस्थ भूमिकामा रहने। पहिलो विकल्प रोज्दा उहाँहरू कि कम्युनिस्ट कि राजावादी बन्नुपर्थ्यो किनभने त्यतिबेला कांग्रेस, कम्युनिस्ट र राजावादी तीन मात्र विकल्प थिए। दोस्रो विकल्प रोज्दा अहिले जस्तो युवा वर्ग सचेत थिएनन् र उहाँहरूमा त्यो जोस र जाँगर पनि थिएन। धेरै उमेर बाँकी पनि थिएन, बुढेसकालले छोएको थियो।
आफैंले जन्माएको, हुर्काएको र बढाएको पार्टी विरुद्ध लाग्ने नैतिक बल पनि थिएन। त्यसैले बाँचुञ्जेल उहाँहरू बाध्य भएर तेस्रो विकल्पमा रहनुभयो।
शायद त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) या अन्य वैकल्पिक लोकतान्त्रिक शक्ति भएको भए गणेशमान र किसुनजीले पहिलो विकल्प रोजेर सक्रिय अभिभावकत्वको भूमिका निर्वाह गर्नुहुन्थ्यो होला। शायद देशले धेरै पहिल्यै फड्को मार्न सक्थ्यो होला, विकसित बन्न अहिलेसम्म कुर्नुपर्दैनथ्यो होला।
फलस्वरूप गणेशमान र किसुनजीले सुधार्न नसकेको कांग्रेस सुधार्न न त डा. स्वर्णिम वाग्लेले सक्नुहुन्थ्यो, न त गगनजीले नै सक्नुहुन्छ, यो मेरो ठम्याइ हो।
यही प्रसंगबाट प्रभावित भएर युवा पुस्ताको पहिलो रोजाइमा रहेको रास्वपालाई थप भरपर्दो र विश्वासिलो वैकल्पिक लोकतान्त्रिक शक्ति बनाउन सकिन्छ भन्ने विश्वास र अठोटका साथ डा. वाग्ले र म कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका हौं।
विकृति, विसंगति र निराशाका बावजुद कतै व्यवस्था नै परिवर्तन हुने हो कि भन्ने डर र आशंका बीच रास्वपामा डा. वाग्लेको इन्ट्री भयो। अहिले साँच्चिकै सोचे जस्तै रास्वपाप्रति जनविश्वास बढेर गएको छ। यही व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास रास्वपाका कारण सृजना भएको छ। वैकल्पिक लोकतान्त्रिक पार्टीको स्वरूपमा रास्वपालाई बुझ्न थालिएको छ।
७ असार २०७९ मा घन्टी चुनाव चिह्न लिएर रवि लामिछानेको नेतृत्वमा स्थापित रास्वपामा एक वर्षको अवधिमा नेपाली राजनीतिलाई तरंगित पार्ने थुप्रै घटनाक्रम भए। स्थापनाकालको ५ महिनाभित्र मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय दल बन्दै २१ सिट जित्न सफल भयो र देशको चौथो दल बन्यो।
एकवर्षे छोटो अवधिमा चितवन-२, तनहुँ-१ र बारा-२ का तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनबाट चितवन-२, तनहुँ-१ मा ५० प्रतिशतभन्दा धेरै मतसहित भारी मतान्तरले विजयी हुन सक्यो। २१ जना सांसदहरूको संसदभित्रको उपस्थिति र जनसरोकारका सवालमा उनीहरूको प्रस्तुतिले आम जनताको ध्यान आकृष्ट गरेको छ। उपनिर्वाचन पछिको छोटो समयमै पार्टीको सदस्यता संख्यामा व्यापक वृद्धि भइरहेको छ, जुन अहिलेसम्म दुई लाख नाघेको छ। स्थानीय निर्वाचनसम्म सबैभन्दा बढी सदस्य भएको पार्टी बन्ने सम्भावना देखिंदैछ।
नेपाली राजनीतिका सुपरस्टार अर्थात् जन–जनको मनमा स्थापित रवि लामिछानेले नेपाली राजनीतिमा मौलिक विशेषता सहितको ‘नयाँ राजनीतिक मोडेल’ स्थापित गराउँदै ५ महिनाको छोटो अवधिमा रास्वपालाई राष्ट्रिय दलको रूपमा स्थापित गराउन सफल भएका छन्। देशको अर्थतन्त्रलाई गतिशील बनाउँदै उकास्ने खालको ‘नयाँ आर्थिक मोडल’ स्थापित गराई देशले गर्व गर्न लायक अर्थविद् बन्ने उद्देश्य डा. वाग्लेको रहेको छ।
विकासकर्मी भएकोले शताब्दी सुहाउँदो, अन्तर्राष्ट्रियस्तरको, भावी पुस्ताको आकांक्षा अनुरूपको ‘नयाँ विकास मोडल’ स्थापित गराउने मेरो कोशिश रहनेछ। देश समृद्ध र विकसित बन्न पहिला राजनीति सङ्लिनुपर्छ। दोस्रो अर्थतन्त्र बलियो हुनुपर्छ र तेस्रो विकासले गति समाउनै पर्छ। असल नियतका साथ इमानदार भएर निरन्तर खट्न सक्ने सक्षम राजनीतिज्ञ, अर्थविद् र विकासविद् भए भने देश विकसित मुलुकको सूचीमा उक्लन धेरै समय लाग्दैन।
राजनीतिक वृत्तमा हिजोको मित्र आजको शत्रु र आजको शत्रु भोलिको मित्र बन्नु पछाडिको रहस्य पद र कुर्सी मोह नै हो भन्ने प्रमाणित नेपालका ठूला राजनीतिक दलका नेताहरूको विगतको व्यवहारले देखाएको छ। पार्टी-फुट, गुट-उपगुट, दल-बदल, तालमेल, भागबण्डा, गठबन्धन र अहिले पछिल्लो पटक मोर्चा नेपाली राजनीतिमा उदाएका यस्ता शब्द भएका छन् जसको प्रयोग, उपयोग र दुरूपयोग केवल सत्तामा पुग्न, टिक्न अनि टिकेर पद, पैसा, कुर्सी र शक्ति हत्याउन गरिएको पाइन्छ न कि समाज कल्याण र इमानदार राष्ट्रिय सहमतिका लागि।
फोहोरी एवं खराब आचरण अनि सानो चित्त भएका व्यक्तिहरू छिटो-छिटो फड्को मारेर दलको माथिल्लो तहको राजनीतिमा हावी भए। तल्लो तहमा गाउँस्तरमै समाज कल्याणको काममा पूर्णकालीन रूपमा निस्वार्थ खट्ने नेताहरू समाजमा थुप्रै छन्।
रास्वपालाई अब गाउँस्तरका त्यस्ता नेताहरूको पहिचान गरेर पार्टीभित्र स्थापित गराउनु प्रमुख अवसर र चुनौती बनेको छ। लोकतन्त्रमा खराबी राजनीतिमा होइन, राजनीति गर्ने व्यक्तिको सोच, नियत र क्षमतामा भएको पाइन्छ।
अधिकांश राजनीति गर्ने नेता–कार्यकर्ता समाज हितको ट्रयाकबाट उछिट्टिएर व्यक्तिगत स्वार्थ पूरा गर्नतिर लागेकै कारण नेपालको राजनीति खतरनाक मोडमा पुगेको बेला रास्वपाको उदय भयो। उदयको वर्ष दिनभित्र पार्टीमा डा. स्वर्णिमको इन्ट्री भयो। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त अर्थविद् एवं परराष्ट्रविद् डा. वाग्लेको आगमनले रास्वपा प्रति बौद्धिक जमातमा हलचल ल्याएको छ, नयाँ आशा, भरोसा र विश्वास पलाएको छ र पार्टीमा नयाँ रक्तसञ्चार गराइदिएको छ।
सभापति रवि लामिछानेप्रतिको जनसमर्थन र डा. वाग्लेको बौद्धिक क्षमताको समायोजनको जगमा रास्वपा आगामी दिनमा नेपालको एक नम्बर पार्टी बन्ने स्पष्ट आधार तयार भएको छ। बुढा पुस्ताले हाँकेको राजनीति र युवा पुस्ताले हाँक्ने राजनीति बीचको अन्तर कस्तो हुन्छ भनेर प्रमाणित गरिदिने राम्रो अवसर अब रास्वपाको काँधमा आएको छ।
असल नेताले असल राजनीति अनि असल राजनीतिले असल समाजको सृजना गर्दछ भने खराब नेताले खराब राजनीति र खराब राजनीतिले खराब समाजको रचना गर्दछ। नेपालको हकमा रास्वपालाई मात्र एउटा त्यस्तो अवसर मिलेको छ जसले नेपालको समग्र राजनीतिमा असल समाजको रचना गर्न सक्छ।
बुद्धिहीन, शक्तिहीन, अशक्त नेता र अन्धभक्त मतका कारण आज भ्रष्टाचार दिन दुगुना र रात चौगुनाका दरले मौलाइरहेको छ। योग्यता बढाउन प्रेरित हुनुपर्ने नेपालको राजनीतिमा परिवारवादी राजनीतिले प्रश्रय पाइरहँदा समाजमा ठूलो निराशा छाएको छ, राजनीति प्रति समाजमा घृणा जगाइदिएको छ। जनताले छानेको नेताको व्यवहारबाट नेपाली समाज कस्तो छ भनेर जान्न र बुझ्न सक्ने अवस्था सृजना भएको छ।
अब रास्वपाको उदय पश्चात् कुनै नेता वा दलको पतनको मुख्य कारण भ्रष्ट राजनीति बन्नेछ। एक समय थियो जतिबेला जनताले सोच्न छाडिसकेका थिए, दलका नेता–कार्यकर्ता अन्धभक्त भएका थिए।
त्यही मौका छोपेर नेता–कार्यकर्ताले सोच्न सुरु गरे, नेपाली राजनीतिमा हाबी भए अनि भ्रष्टाचारमा लिप्त भए, परिणामस्वरूप आज भ्रष्टाचारले राज्य संयन्त्रका हरेक तह र तप्कामा क्यान्सरको रूप धारण गरेर बसेको छ। फेरि पनि रास्वपा ती भ्रष्टाचारीहरूको लागि तगारो बन्दै गइरहेको छ।
नेपालको राजनीतिबाट भ्रष्टाचार नहटेसम्म विकासले गति लिन सक्दैन। नेपाली राजनीतिमा असल मान्छेको कमी सधैंभरि भइरहेको छ किनभने असल मान्छे राजनीतिमा हत्तपत्त होमिनै चाहन्नन्। राजनीतिबाट भ्रष्ट नेतालाई हटाउन असल र राम्रा मानिस राजनीतिमा आउन जरुरी देखियो। त्यसैले रास्वपाले ‘जान्नेलाई छान्ने’ नीति अवलम्बन गरेको छ जुन अत्यन्तै सकारात्मक छ।
‘जान्नेलाई छान्ने’ नीति अन्तर्गत जो शिक्षित छ, योग्य छ, इमानदार र क्षमतावान छ र समाजमा राम्रो योगदान पुर्याएको इतिहास छ, उसैलाई नेता छान्ने अवसरलाई रास्वपाले गुमाउने छैन।
भ्रष्टाचार एक प्रकारको विष हो जुन देश, सम्प्रदाय र समाजका गलत मानिसको दिमागमा फैलिएर बसेको हुन्छ। यसले सानोभन्दा सानो इच्छा र अनुचित लाभका लागि सामान्य मानिसको जीवन नै बर्बाद बनाइदिन्छ। आफ्नो ताकत र पदको गैरजिम्मेवार वा गलत उपयोग गर्नु भ्रष्टाचार नै हो। यसको प्रभाव व्यक्ति, समाज, विकास र राष्ट्रमा समेत परेको हुन्छ र यसले व्यक्ति, समाज वा समुदायको बीच असमानता बढाउँछ, धनी र गरीब बीचको खाडल बढाउँछ।
साथै यो राजनीतिक, आर्थिक र सामाजिक रूपमा राष्ट्रको प्रगति, विकास र समृद्धिको बाधक पनि हो। जब भ्रष्टाचारीहरू सबै पद, तह र तप्कामा छ्यापछ्याप्ती हुन्छन्, तब यो राज्यको नियन्त्रण बाहिर रहन्छ किनकि सबै भ्रष्टाचारी मिलेर यसलाई संस्थागत बनाइसकेका हुन्छन् अर्थात् एकले अर्कोलाई कारबाही गर्ने हिम्मत गर्दैनन्। तसर्थ यसको सफाइ अभियानको निम्ति जनस्तरबाटै छुट्टै क्रान्तिको आवश्यकता परिसकेको छ।
जन्मदेखि मृत्युसम्म राजनीतिको प्रभाव हुन्छ, त्यसैले हरेक नागरिकको कर्तव्य हुन आउँछ कि उसले राजनीतिमा आफ्नो योगदान देओस्। रास्वपाको उदयपश्चात् युवा वर्ग राजनीतिमा जागरुक भएका छन्, युवा जागरुक हुँदा रास्वपालाई अत्यधिक मत आउनेछ, प्रतिस्पर्धा बढ्नेछ, प्रतिस्पर्धा बढ्दा पारदर्शिता पनि बढ्नेछ।
फलस्वरूप समाज हित र विकास कार्यले तीव्रता पाई देशको अर्थतन्त्र बलियो हुनेछ। युवा वर्गको आकर्षणको केन्द्र बनेर नयाँ सोचका साथ नेपाली राजनीतिको दिशा र दशा बदल्न रास्वपालाई अवसर आउनेछ। समाज हितको लागि गर्नुपर्ने राजनीति केवल पैसा कमाउने र सत्तामा पुग्ने गलत मनसाय राखेर गरेको पाइन्छ।
आज देशमा कुर्सी र भ्रष्टाचार एकअर्काका पूरक बनेका छन्। त्यसैले नेता कुर्सीमा पुग्नासाथ भ्रष्टाचार गर्न थाल्छन् र आफूलाई पद र शक्तिको वरिपरि स्थापित गराइराख्न खोज्छन्। आफूले विगतमा गरेको भ्रष्टाचारको पोल खोलिदिन्छन् कि भन्ने डरले नयाँलाई पनि भ्रष्टाचारको सूत्र सिकाउन थाल्छन् र आफू जस्तै भ्रष्टाचारको लतमा फसाइदिन्छन्। भ्रष्टाचारको जरामा पानी हाल्ने र मलजल गर्ने काम राजनीतिले गरेको पाइन्छ।
भ्रष्टाचारको मुद्दा लाग्ला र कानुनी कारबाही होला कि भनेर बच्न न्यायालय र अख्तियारमा समेत दलीय भागबण्डामा आफू अनुकूलका मान्छे नियुक्त गर्ने परम्परा बसाइएको छ। विकास र समुन्नतिका प्रमुख बाधक भ्रष्टाचार बनेको छ तापनि विकासका ठूला कुरा गरेर नेता कार्यकर्ताले जनतालाई झुक्याउन छाडेका छैनन्। विगत ३२ वर्षको राज्यको कुल बजेट लगभग १५० खर्बमध्ये खरबौं रकम भ्रष्टाचार भएको पुष्टि गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलका वार्षिक प्रतिवेदनहरूलाई आधार मान्न सकिन्छ। नेपालमा भ्रष्टाचार मुक्त राजनीतिको परिकल्पना गर्न धेरै कठिन छ।
नेपालको राजनीतिमा अपवाद बाहेक सबै तह र तप्कामा भ्रष्टाचारी छन्। तसर्थ भ्रष्टाचार मुक्त राजनीतिको कल्पना गर्नु आज दिवास्वप्न जस्तो भएको छ। विगत ३० वर्षसम्म शासन गरेका दल र तिनका नेताहरूले भ्रष्टाचारका सवालमा एकले अर्कोलाई औंला ठड्याउने र प्रश्न गर्ने नैतिक धरातल गुमाइसकेको प्रष्ट छ। वि
गत ३० वर्षमा भ्रष्टाचार भयो कि भएन र कति भयो भनेर स्पष्ट थाहा पाउन नेपालका अधिकांश नेता, कार्यकर्ता र कर्मचारीको जीवनी पढे र बुझे पुग्छ। उनीहरूको जीवनशैलीमा आएको परिवर्तनलाई पढे पुग्छ।
राजनीतिको खेलमा चतुर खेलाडी हुन्छन् भनेर बुझ्न नेपालको विगत ३० वर्षको राजनीतिले पाठ सिकाएको छ। यस मामलामा रास्वपा आगामी दिनहरूमा सचेत हुन जरुरी छ। राजनीति आफैंमा फोहोरी खेल होइन। नेता असल भए राजनीति असल पनि हुन्छ भन्ने मान्यता स्थापित गराई घृणाको राजनीतिबाट देशलाई बचाउने चुनौती अब रास्वपालाई छ।
सिंहले कहिल्यै हिंसा छाड्दैन भने झैं भ्रष्ट नेताले आफ्नो स्वभाव कहिल्यै छाडेनन् अनि जनता भुलाउने मिठा र चिप्ला भाषण गर्न र ताली बजाउने भीड जम्मा गर्न कहिल्यै छाड्दैनन्। सुशासन दिन, सेवा प्रवाह गर्न र द्रुतगतिको विकास गर्न लगाउनुपर्ने ऊर्जा र दिमाग आज भ्रष्टाचारको सूत्र पत्ता लगाउन र आफूलाई भ्रष्टाचारी प्रमाणित हुनबाट जोगाउनतिर केन्द्रित छ।
भ्रष्टाचारीलाई जेल हाल्ने होइन भ्रष्टाचारबाट कमाएको खरबौं अकुत सम्पत्तिलाई बिगो सहित राष्ट्रियकरण गरी शतप्रतिशत युवालाई देशभित्रै रोजगारी दिएर देशको मुहार फेर्न रास्वपाका लागि सबभन्दा ठूलो चुनौती छ। यस अभियानलाई सफल तुल्याउन रास्वपालाई दुई तिहाइ बहुमत चाहिन्छ। यति गर्न सके नेपालको इतिहासमा रक्तपातविहीन, शान्तिपूर्ण र सबैभन्दा ठूलो आन्दोलनले सफलता पाउनेछ।
आजको जमानामा संसारको कुनै पनि देशमा त्यो राजनीतिक दल मात्र सफल हुन्छ जुन दलको नेतृत्व युवा पुस्ताको हातमा छ र सोसियल इन्जिनियरिङ मूभमेन्ट पोख्त छ। देश विदेशका कुनाकाप्चामा रहेका लगभग ९० प्रतिशत युवाहरू बीच लोकप्रिय सामाजिक सञ्जालका माध्यमबाट नेपाली राजनीतिमा सोसियल इन्जिनियरिङ मूभमेन्टरूपी आन्दोलन छेड्न रास्वपालाई ठूलो सफलता मिलेको देखिन्छ।
यो भनेको नेपाली समाजको राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक संरचनाभित्र व्याप्त विकृति, विसंगति, निराशा र भ्रष्टाचारलाई वैज्ञानिक सोचका साथ सामाजिक सञ्जालहरूका माध्यमबाट सामाजिक संरचनामा ल्याउने आमूल परिवर्तनलाई बुझ्नुपर्छ।
रवि लामिछाने नेपाली राजनीतिका एक त्यस्ता सुपरस्टार बने जसले नेपालमा सोसियल इन्जिनियरिङ मूभमेन्टको नयाँ फर्मुला सहितको आन्दोलनको नेतृत्व लिन र आन्दोलन छेड्न सफल भए, जसका माध्यमबाट उनी मात्र सेलिब्रिटी बनेनन् समग्र मुलुकको राजनीतिलाई नै तरंगित बनाए, नेपाली समाजमा व्याप्त विकृति, विसंगति, निराशा र भ्रष्टाचारका विरुद्ध एउटा शान्तिपूर्ण आन्दोलनको सुरुवात गराए।
के बालक, के युवा, के वृद्ध, के पुरुष, के नारी, के वैदेशिक रोजगारीमा गएका युवा, सबैको मनमा आज रवि लामिछानेले बजाएको सामाजिक इन्जिनियरिङ आन्दोलनरूपी घन्टी बजिरहेको छ।
यसका माध्यमबाट मिसन-२०८४ अन्तर्गत कम्तीमा पनि स्पष्ट बहुमत ल्याएर रवि लामिछाने नेतृत्वको सरकार बनाएर नेपालमा धमिलिएको राजनीतिलाई सङ्ल्याउँदै सुशासनको प्रत्याभूति गराउनेछ। शिक्षा, स्वास्थ्य, खानेपानी, युवा रोजगारी र भ्रष्टाचार जस्ता मुद्दाको सम्बोधन गर्नेछ, थलिएको अर्थतन्त्रलाई उकास्न ऊर्जा, कृषि, पर्यटन क्षेत्रको विकास गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना गर्नेछ।
सन्तुलित र द्विपक्षीय हित अनुकूल हरेक देशसँगको परराष्ट्र सम्बन्धलाई थप प्रगाढ बनाउनेछ, शताब्दी सुहाउँदो, अन्तर्राष्ट्रियस्तरको, भावी पुस्ताको आकांक्षालाई समेट्ने द्रुतगतिको विकास गर्नेछ र निष्कर्षमा समतामूलक समाजको निर्माण गर्नेछ भन्ने संकल्प रास्वपाबाट अपेक्षा गरिएको छ।
आफ्नै बुद्धिले सोच्न र निर्णय लिन सक्ने बहुमत जनता भए मात्र लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्रको मर्मको पालना र रक्षा हुन्छ। संसारको यथार्थलाई केलाउने हो भने चाहे युरोप होस् या हङकङ, ल्याटिन अमेरिका होस् या लेबनान, इराक हरेक देशका राजनीतिक नेतृत्व र नीतिका विरुद्ध जबर्जस्त आन्दोलन भइरहेको पाइन्छ। ती अधिकांश आन्दोलन गरीबलाई निचोर्ने नीति र भ्रष्टाचार विरुद्ध केन्द्रित छन्। त्यसैगरी ती आन्दोलनहरूमा राजनीतिक स्वतन्त्रता र जलवायु परिवर्तन जस्ता नयाँ मुद्दा समेत उठाइएका छन्।
साधन, स्रोत र प्रविधि भएर पनि दृढ राजनीतिक इच्छाशक्ति र इमानदार प्रयासको अभावका कारण आजसम्म मुलुकले विकास र समुन्नतिको बाटो समाउन सकेको छैन। समग्रमा भन्नुपर्दा लोकतन्त्र आज बिरामी परेको छ, थला परेको छ। लोकतन्त्रलाई स्वस्थ बनाइराख्ने एक मात्र औषधि सुशासन हो, द्रुतगतिको विकास हो।
स्वच्छ छवि र दृढ राजनीतिक इच्छाशक्ति भएको नेताको नेतृत्वको सरकारले मात्र लोकतन्त्र र गणतन्त्रलाई निरोगी, स्वस्थ, बलियो र तन्दुरुस्त बनाउँछ र आयु बढाउँछ।
आजसम्मको विकास र दलहरूको राजनीति उस्तै प्रकारको देखावटी र प्रक्रियागत जालोभित्र अल्झिरहेको, बल्झिरहेको छ। लोकतन्त्रको मर्म विपरीत जनताको नाममा आफू-आफू र पार्टी-पार्टी बीच ‘भागबण्डा’ र ‘गठबन्धन’ गरेर भए पनि सत्ता र शक्तिमा टिकिरहने परिपाटी बसिरहेको छ।
वर्तमान व्यवस्थाको अवस्था, प्रणाली वा संस्कार माकुराको जालो झैं यसरी जेलिएको, जकडिएको छ कि पुरानो मेसिन उपकरण जस्तै खिया लागेर चल्न नै धौ-धौ अवस्थामा पुगेको छ।
तत्काल लुब्रिकेसन सहित जबर्जस्त हस्तक्षेपकारी भूमिकाको सख्त जरुरत छ। प्रशासनिक संयन्त्र त राजनीतिले यति बिग्रिएको छ कि मानौं उनीहरूले प्राप्त गर्ने मासिक तलब सुविधालाई आफ्नो अधिकार ठान्छन्। जनतालाई कुनै सेवा दिन वा टिप्पणी उठाउन वा फाइल सदर गर्न वा फाइल एउटा टेबलबाट अर्को टेबलमा पुर्याउँदासम्म घुस लिन छाड्दैनन्।
यी सबै राजनीतिक परिस्थितिलाई नियन्त्रणमा राखेर वास्तविकतामा ‘विकसित र समृद्ध नेपाल’ को सपनालाई साकार पार्न नयाँ सोच, नयाँ विचार, नयाँ पुस्ता र विगतमा विकृति विसङ्गतिमा नमुछिएका, चोखा, क्षमतावान अनुहार सहितको रास्वपाको जबर्जस्त राज्यसत्तामा पहुँच हुन जरुरी छ।
देशमा निस्वार्थ र इमानदार राजनीतिक इच्छाशक्ति सहित सबैलाई समेट्न सक्ने खुबी भएको नेतृत्वको विकास हुन जरुरी छ। विद्यमान संवैधानिक व्यवस्था अनुसार कुनै एउटा पार्टीले बहुमत ल्याएर पाँच वर्ष ढुक्कले शासन गर्न सक्ने अवस्थाको सुनिश्चितता संविधानले गरेको देखिंदैन।
गठबन्धन, भागबन्डा र अस्थिरताको संस्कारको बन्धक बनेर चल्नुपर्ने विडम्बनामा देश फसेको छ। यसभन्दा माथि उठेर इमानदार राष्ट्रिय सहमतिको खाँचो अहिले पनि छ। यी र यस्ता थुप्रै राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न सबै राजनीतिक दलहरूबीच साझा राजनीतिक अवधारणा बन्न जरुरी छ।
(राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध न्यौपाने पेशाले इन्जिनियर हुन्।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4