
News Summary
Generated by OK AI. Editorially reviewed.- २०८१ साल माघ ३० गते बिहान ८.४० बजे काठमाडौंमा ८६ वर्षीया शारदा देवीको अन्तिम संस्कार गरिएको थियो।
- लेखकले आमाको निधनपछि पारिवारिक संस्कार, गरुड पुराणको स्त्रीद्वेषी र विभेदकारी पक्षहरूको आलोचना गरेका छन्।
- लेखमा आमाको जीवन, राजनीतिक सहकार्य र परिवारमा मृत्यु संस्कारका अनुभवहरू समेटिएका छन्।
आमा बितेको दिनदेखि
म पिल्सिरहेको छु गरिबीको विषादग्रस्त रेखामुनि
छनलाई सबथोक छन् हातमा
तर, मेरो शिरमा आमाको हात छैन ।
(विनोदविक्रम केसी, आमाका हातहरू)
२०८१ साल माघ ३० गते बुधबार । बिहानको ८.४० बजे । हिउँदको उदास बिहानमा घामका ज्योतिहरू राम्ररी छिरेकै थिएनन् । वातावरणमा चिसो घोलिएको थियो । काठमाडौं सदावहार जस्तो घुर्मैलो तुवाँले बर्को ओढेर दैनिक कर्ममा व्यस्त थियो ।
शहरको छाती चिर्दै एउटा पुरानो शववाहन पीडायुक्त कर्णभेदी आवाज निकालेर दौडिरहेको थियो । वाहनभित्र आमा (शारदा देवी, ८६) अन्तिम यात्रामा हुनुहुन्थ्यो ।
मलाई वाहनले निकालेको स्वर मार्फत आमाले सम्पूर्ण मानिसहरूसँग अन्तिम संवाद गरिरहे झैं लाग्यो । मानौं भनिरहनुभएको छः मेरा सबै आफन्तजनहरू हो म गएँ है ! यो दुःख–सुखको भवसागरबाट म मुक्त हुँदैछु । मेरो समय सकियो । जे बाँकी छ दुनियाँमा यो अब तिमीहरू नै भोग गर । म थकित, गलित भएर अर्काको बोझ बन्दै बाँच्न चाहन्नँ ।
इतिहासले म जस्ता महिला र आमाहरूको सहनशीलताको धेरै परीक्षण गरिसक्यो । मसँग थप परीक्षाका लागि शक्ति बाँकी छैन । यो संसार पुराना पात झर्ने र नयाँ पलाउने गरेरै निरन्तर चलेको छ । म अब पहेलिंदै झरेकोे पुरानो पात हुँ । मैले जे जति दुःख–सुख भोग गरें त्यसमा मलाई गुनासो छैन । अब मेरो भाग बाँच्न पुग्यो । मलाई विदा देऊ !
माघ २९ गते साँझ घरमै बा, हामी तीन जना दाजुभाइ, दुई बुहारी र एउटा नातिको उपस्थितिमा आमाले अन्तिम सास फेर्नुभयो । एकरात घरमै राखेर अहिले पशुपतितिर हिंडाइएको आमाको मृत शरीरको साथमा हामी तीन दाजुभाइ थियौं । जेठो दाइ पोखराबाट आएर मृत्यु अगाडिको आधा घण्टा आमासँग भेट्न पाउनुभएको थियो । कान्छो भाइ विदेश भएकाले आउन सकेन ।
बिहान ९.२० मा वाहनले आमाको शवसँगै हामीलाई पनि आर्यघाटमा लगेर छाडिदियो । संस्कारजन्य कुराहरू छिटै मानिसले छाड्दैनन् । हामीले आमाको कमजोर, जम्मा २४ केजी जतिको मृत शरीर बाँसमा बाँधेका थियौं मानौं नबाँध्ने हो भने आमा विद्रोह गरेर उठ्नुहुन्छ, मृत्युलाई अस्वीकार गर्दै जीवनमा फर्कनुहुन्छ र भाग्नुहुन्छ । मानौं आमा अब उच्छृङ्खल चकचके केटाकेटी बन्नुभएको छ जसलाई अनुशासनमा राख्नका लागि पनि बाँध्नु जरूरी छ ।
घाटमा पारिवारिक दाजुभाइ, दिदीबहिनी, छिमेकी र साथीहरूको उपस्थिति थियो । परम्परा हो भन्दारहेछन् मृत्यु अगाडि ब्रह्मनालमा राखेर बागमतीको पानी छुवाउने, मुखमा राखिदिने चलनलाई । शव राखेर पनि उस्तै गरी गंगाजल दिने रश्म पूरा गरियो । यो पनि एउटा पूर्वनिश्चित यात्रा तय गरे जस्तो हुँदोरहेछ ।
कसले ब्रह्मनालमा राख्न लगायो, किन लगायो भन्ने पनि थाहा नहुँदै बिना प्रश्न यी कामहरू परिवारका सदस्यहरूले पूरा गरे जस्तो भयो । स्वचालित यन्त्र जस्तो । अहो ! फेरि जति मान्छे उति ज्ञानको तँछाडमछाड, यस्तो गर्नुपर्छ यस्तो गर्नुहुँदैन भन्ने कति कति ! विस्तारै चितामा आमाको शव राखियो र दाजुभाइ समेत परिवारका सदस्यले दागबत्ती दिइयो । यन्त्रवत् मैले पण्डित र परिवारजनका सदस्यहरूको आज्ञा पालन गर्दै गएँ ।
आमाको जुन पवित्र मुख थियो त्यहीं अग्नि दिइयो । जुन मुखले सबैभन्दा पहिले हामीलाई चुमेको थियो, हामीलाई पवित्र शब्द आमा निकाल्न र संसारसँग संवाद गर्न सिकाएको थियो । जुन मुखबाट निस्केका आवाजको पिछा गर्दै हामीले बुबु, माम गर्न सिकेका थियौं, तोते बोली र ताते–तातेका अर्थ बुझ्दै गएका थियौं । क ख पढ्न सिकेका थियौं । दन्त्यकथा, कविता र श्लोकहरू सुनेका थियौं । मन्त्रहरू सुनेका थियौं । रिस र आवेगमा पीडा र दुःखमा बोलिने चिच्याहट सुनेका र सिकेका थियौं । त्यही मुखमा हामी अग्नि दिइरहेका थियौं ।
यो घाटमा म धेरैपटक आएको छु । केही साथीहरूलाई विदा गर्न आइयो र केही साथीहरूका आफन्त या परिवारका सदस्यको विदामा । केही अन्तरपीडाको अनुभव त्यतिबेला पनि हुन्थ्यो । तर आमाको विदाइको यो अन्तिम क्षण फरक थियो । धोको फेरेर रुन पनि सकिन्नथ्यो । हामीलाई साथ दिन आउनुभएका सबैसँग बोल्नु पनि पथ्र्यो । तर मन रोइरहेको थियो । अब यहाँबाट फर्केपछि आमा भन्ने शब्दको भौतिक अस्तित्व हाम्रा लागि सकिएको थियो । मनमा शून्यता छाएको थियो ।
बा अल्जाइमरको रोगी हुनुहुन्छ, ९३ वर्षको । आफ्नी जीवनसंगिनीको अन्तिम विदाइको उहाँलाई कुनै प्रभाव थिएन । कताकतै आमालाई खोज्नुभएको जस्तो, आमाको साथ छुटेको अनुभव गरेको जस्तो केही व्यक्त गर्नुहुन्छ । अन्तिम यात्रामा पठाउनु अगाडि आमाको सिउँदोमा अबिर दल्न बालाई लगाइएको थियो । तर बालाई त्यो अवस्थाको चेत थिएन । आमाको मृत्यु भएको केही दिन पछिदेखि बा शिथिल हुँदै जानुभएको छ ।
०००
लामो समय साहिंला भाइको परिवारसँग भक्तपुरमा बस्ने गर्नुभएको बा–आमा गत मंसीर आधाआधीबाट हामीसँग हुनुहुन्थ्यो मातातीर्थको घरमा । यी साढे दुई महिना आमासँग केही समय विताउन पाइयो । यसपालिको हिउँद घमाइलो थियो र म शहर झर्नुपर्ने कुनै नियमित काममा संलग्न थिइनँ, फुर्सदको समय मसँग पर्याप्त नै थियो ।
आमा छोराका बीच संवाद भइरहे– आमाका खुशी र दुःख अनि चाहनाहरू । हाम्रा बारेमा उहाँका चिन्ता । खासगरी बाको अवस्थाका बारेमा रहेको पीर । सन्तानहरूले खाए खाएनन्, सुते सुतेनन्, कमाइ के कस्तो छ, बुढेसकालमा दुःख पाउँछन् कि ? यस्तै पिरलो । परिवारका सदस्यहरू जो युरोपदेखि अष्ट्रेलियासम्म छरिएका छन्, तिनका बारेका खुशी, चिन्ता र चासो । नाति, पनाति पुस्ताका सदस्यहरूको खुशी र सम्भावनाका कुरा । अब फलानो नातिको बिहे र फलानोको सन्तान देखेर मर्न पाए हुन्थ्यो भन्ने शुभेच्छा ।
हाम्रो घरको आँगनमा तुलसीको मठ छैन । धेरै वर्ष भयो आमा र पोहोर पुसमा बित्नुभएको सासूआमा (लक्ष्मीजीको आमा)ले पनि एउटा तुलसीको मठ बनाउनुपर्छ भनिरहनुहुन्थ्यो । के कसो भयो पूरा गरिएको थिएन । यसपालि आमा घर जानुभएको दिनबाटै साँझ–बिहान तोरीको तेलमा आफैंले कातेका बत्तीको दियो बाल्ने गर्नुहुन्थ्यो ।
हामी सबै सन्तानको कल्याण होस् भन्ने चाहनुहुँदो हो सँगै आफ्ना दुःखको अन्त्यको चाहना पनि व्यक्त हुँदो हो । आफैं बत्ती कात्ने तर हातको तागतले सलाई कोर्न र लाइटर पार्न मुश्किल । स्वास्थ्यले नसक्ने दिनमा ल है बत्ती बालिदेऊ भन्नुहुन्थ्यो । आमाले बत्ती बाल्नुहुँदा घर मात्र हैन जीवन पनि उज्यालोे भए झैं लाग्थ्यो । यसपालि आमाको रहर पूरा गर्नै पनि आँगनमा मठ बनाइदिऊँ भन्ने लागेको हो । तर के के नमिलेर बनाइएको थिएन ।
हाम्रो संस्कारले घरभित्र मृत्यु हुनु राम्रो मान्दैन रहेछ । आमालाई अन्तिम समयमा पानी खुवाउन आँगनमा निकाल्दा तुलसीको बोट भएको गमला नजिक राखियो ।
आमालाई यसअघि जीवनको ८६औं हिउँदसम्म पनि कुनै रात अस्पताल बस्नु परेको थिएन । माघको तेस्रो साताबाट एक हप्ताको अस्पताल बसाइ आमाका लागि मृत्युको पूर्व तयारी जस्तो पो हुन गयो । न हामीले थाहा पायौं न अनुमान कल्पना नै गर्न सक्यौं । आमालाई अन्तिम दिनहरूमा अस्पताल बसिरहेका बेला पनि एउटा दुःखेसो जस्तो थियो आफैंसित । आफ्ना हातले पकाएर सन्तानलाई खान दिन नसक्दाको पीडा ।
भन्नुहुन्थ्यो भात पकाएर सबैलाई दिएर खान पाए पो बाँचेको सार हुन्थ्यो ! यता ग्याँसचुलो अथवा डिजिटल इन्डक्सन चलाउन या कुकरमा पकाउन आमालाई आउँदैनथ्यो, तागत पनि त थिएन उभिएर भान्सा उतार्ने । पित्तलको कसौंडीमा आगोले छड्काएर पकाएको भात पो भात । सबैलाई झैं हामीलाई संसारमा सबैभन्दा मीठो भात पकाउने त हाम्री आमा नै हुनुहुन्छ जस्तो लाग्थ्यो ।
चोख्यान, मसला र नुन पिरो मिलाएर आमाले पकाएको तरकारीको स्वाद जस्तो प्रिय केही लाग्थेन । गाउँमा हुनुहुँदो हो त दाउराले चुलोमा खाना बनाएर हामीलाई खुवाएर आमा तृप्त बन्नुहुन्थ्यो होला ।
माया तलतिर बग्छ भन्छन् । हामीले आमाको शरीर र मनबाट मायाको निरन्तर बगिरहने अमृत पान गरिरह्यौं । र त्यसको ऋण तिर्ने बेला टारिरह्यौं । आमाका हामी चारभाइ छोरा छौं । चार बुहारी । चारभाइका गरेर ७ वटा नाति–नातिना छन् । दुई जना नातिनी बुहारी र दुई जना नै नातिनी ज्वाइँ भए । पाँच पनाति–पनातिना । आमाको माया ती सबैतिर उत्तिकै बाँडिएको । सम्झिबस्ने मेलो ।
केही वर्षदेखि सुन्ने क्षमता सकिएको थियो । कान कम सुनेपछि संवाद कमै हुनेभयो । तर आमाको चेतनामा कुनै समस्या थिएन, अन्तिम २० मिनेट अगाडिसम्म पनि स्मृति तरोताजा थियो । कम संवाद भएर मनमा लागेका कुरा पनि अरूलाई सुनाउन गाह्रो भएपछि धेरैजसो मनैमा खेलिबस्ने भए ।
सन्तानहरूका आफ्ना आफ्ना गन्तव्य, व्यस्तता, चिन्ता, काम र बेफुर्सद या अनिच्छावश पनि आमासँग संवाद कम हुने नै भयो । मोबाइलमा अनेकवली हेर्ने व्यस्ततासँगै आमाले गर्ने निकटताको खोजीप्रति बेवास्ता पनि मिसिन्थ्यो । गाउँ र आमाको परिवेश नबुझेका नाति पुस्ताले हजुरआमासँग गर्ने संवाद पनि यसै कम हुनेभए ।
आमाका मनमा हामीलाई हुर्काउँदै गर्दा के–के सपना सजिएका हुँदा हुन् ? मैले कहिल्यै त्यसतर्फ ध्यान दिइनँ, दिन सकिनँ । आमालाई सेवा गर्ने सम्बन्धमा पूरा गर्न नसकिएका कतिपय कुरा खट्किन्छन् र दोषानुभूति गर्छु ।
सुन्दै जाँदा आमाको मनमा दुई वटा कुरा खेलिरहेको सुनाउनुहुन्थ्यो । अल्जाइमरले होस गुमाउनुभएका बा सन्तानका लागि दुःखको कारण बनेको चिन्ता । अनि आफ्ना आमा, बाबु, दाजुभाइहरू भन्दा लामो उमेर बाँचेपछि अब त मर्न पाए हुन्थ्यो भन्ने आत्मज्ञानका कुरा ।
बित्नु अघिल्लो राति मात्र सुत्नु अगाडि भन्नुभएको थियो दुईजनै यस्ता रोगी बुढाबुढी भइयो कसरी पाल्छौ ? आफ्ना कारणले सन्तानले कुनै दुःख–कष्ट व्यहोर्नु नपरोस् र आफू आफ्नो पतिभन्दा अगाडि मर्न पाइयोस् भन्ने आमाको चाहना थियो, जुन उहाँले पूरा गर्नुभयो । अन्तिम पटकको दिसापिसाब पनि आफैं ट्वाइलेटसम्म पुगेर विसर्जन गर्नुभयो ।
२०३७ मा टाइफाइड भएपछि श्रवणशक्ति क्रमशः कमजोर हुँदै गएर केही वर्ष यता ठप्प भएको थियो । मस्तिष्कको भाग खुम्चिएर गलाको मांसपेशीको लचकता हराएकाले आफूलाई मन परेका र कथेका श्लोकहरू सुनाउन नपाउँदा पनि आमा दिक्क मान्नुहुन्थ्यो । जीवन र मृत्युसँग सम्बन्धित दृष्टिकोणहरू एउटा ज्ञानी व्यक्तिको जस्तो स्पष्ट थिए ।
आमा कमजोर त हुनुहुन्थ्यो तर त्यो एक प्रकारको लामो अभ्यास जस्तो लाग्थ्यो । अल्पहार आमाको हामीले थाहा पाएदेखिको गुण थियो । पाँचफिट भन्दा कम उचाइ, सानो गाँठीको शरीर । गाउँको कृषि जीवन । टाढाको पँधेरो, ढिकी–जाँतो । टाढाको गामबेसी । घाँसदाउरा, मेलापात र खेतीपाती । मध्यमवर्गीय किसान परिवारका पुग अपुगका अनेकवली समस्या र केही गरिछाड्ने अठोटका लागि निरन्तर गरिने कठोर मिहिनेत ।
आमाले त्यो सारा दुःख र कष्ट सहेर हामीलाई हुर्काउनु, पढाउनुभयो । छोराहरू नपढेर खोलापाखामा हलो नखेलुन्, नबरालिउन् भन्ने चिन्ता गर्नुहुन्थ्यो ।
हामी सबैले उच्चशिक्षा हासिल गर्यौं । विद्यार्थी कालमा राजनीतिमा संलग्न भएपछि मेराबारे आमाका चिन्ताहरू थपिए । लामो समय म घर पुग्न नसकेपछि आफैं भेट्न आइपुग्नुहुन्थ्यो । घरमा प्रहरी पुगेर वारेन्ट पुर्जी टाँस्दा आमाले प्रहरीलाई नै हाकाहाकी हप्काएर पठाउनुभएछ । वडा सदस्यलाई पनि झपार्नुभएछ । पछि एउटा लोक शैलीको श्लोक सुनाउनुभएको थियो ।
आएको रहेछ पुलिस घरमा पुर्जी टाँसुला भनी
दिएँ गुन्द्री अनि बस ल भनेर सोझै भएँ म पनि ।
आँसुले म बाटो नपाउने भएँ छोरा झलक सम्झिइ
बाबु हो घरलाई नसम्झ तिमीले यही देशमा मन दिइ ।।
छयालीस सालको आन्दोलनका समयमा म गिरफ्तार हुनेबेला सरकारलाई आलोचना गरेर श्लोक बनाउनुभएको र आन्दोलनका समयमा वल्लोपल्लो गाउँमा पुगेको बेला पनि सुनाउने गर्नुभएको रहेछ ।
राख्दैछ जनता यो देश भरमा मिटिङ र बैठक
साँच्चै बाबु अब त तिमीहरूले थोत्रो चलन यो झिक ।।
क्याम्पसमा विद्यार्थी हिनामिना भए कति बिचैमा मरे
कतिलाई लगेर तिनै पुलिसले जेलभित्र बन्दी गरे ।
जेल बसें अबलाई नभन बाबु हो देशका लागि मन्दिर
तिम्रो इच्छा सधैं सफल हुँदै जावस भो भो नलियो पिर ।।
उहाँ मलाई भेट्न हिरासतमा पुग्नुभएको थियो । रवीन्द्र अधिकारी र मेरो हातमा एउटै साङ्लो लगाएको थियो । मलाई पो यो हत्कडी सहित आमाका अगाडि जाँदा रोइदिनुहुन्छ कि भन्ने पिर लागेको थियो । उल्टो आमाले ढाडस दिएर भन्नुभएको थियो– चोरेको ठगेको होइन, बापत लागेको हैन । जेल पर्र्दैमा किन डराउने ? यिनीहरू (राजा) का दिन सकिएका हुन् । कतिञ्जेल थुन्न सक्छ र ? नआत्तिई बस । शिर ठाडो पारेर यसो भन्दै साहस थपेर पो हिंड्नुभयो प्रहरीकै अगाडि । मेरो मन गर्वले फुरुङ्ग भएको थियो । यिनै सम्झना घाटमा बसुञ्जेल आइरहे ।
कर्मण्येवाधिकारस्ते…
आमाले नै त हो मलाई राजनीति र साहित्यका विषयमा पहिलो चेतना दिएको । आमा २००७ वरपरको समयदेखि कांग्रेसमा सक्रिय रहेका दाजुहरू र आफ्ना पिताका प्रभावमा राजनीति सुन्दै, बुझ्दै र सिक्दै हुर्कनुभएको रहेछ ।
लमजुङको चिसंकुमा आमा जन्मनुभएको थियो । आमाका पिता पण्डित चूडामणि घिमिरेले गाउँमा पाठशाला ल्याएर सञ्चालन गर्नुभएकोले पाठशाले पण्डित कहलाउनुभएको । छोरीहरूलाई पढाउनुपर्छ भन्ने प्रचार पनि गर्नुभएको तर आफ्ना छोरीहरूलाई पढाउन उति जोड नदिनुभएको । आमाले भने दाजुहरूले पढेको सुनेरै कविता र श्लोकहरू कण्ठस्थ पार्नुभएको । त्यहींका डिट्ठा श्रीप्रसाद घिमिरे र उनका दाजुभाइले हलोक्रान्तिको विगुल फुकेका थिए । मामा तीर्थराज घिमिरे कांग्रेसमा सक्रिय हुँदै २०१७ को काण्डपछि केही समय भूमिगत बसेर स्वनिर्वासनमा जानुभएको थियो, फर्केपछि प्रधानपञ्च बनेर काम गर्नुभयो ।
त्यसक्रममा आमाले गणेशमान सिंह र भरतशमशेरको लमजुङ भ्रमणका धेरै कुरा प्रत्यक्ष अनुभव गर्नुभएको रहेछ । २००७ सालमा बन्दीपुर कब्जा गरिसकेपछि तनहुँ हर्कपुरका स्थानीय ठकुरी जनजुक्त शाहीकहाँ चन्दा माग्न गएका श्रीभद्र खनालका भाइ उमाभद्र र जुल्फी पालेका नरङ्गे युवाहरूबारे एक जना गुरुले रचेका श्लोक आमालाई कण्ठस्थ थियो, सुनाइरहनुहुन्थ्यो ।
यस्तै माधव घिमिरेले लेखेका बन्दीपुर काण्डका शहीद पुलिमराङे युवाहरू बारेको कविता पनि कण्ठस्थ थियो । आमाहरू आफ्ना दाजुहरूलाई सहयोग गर्दै कांग्रेसका पक्षमा काम गर्दै हुर्कनुभएको । सहयोगको अर्थ हुन्छ गन्ती नहुने काममा सहभागिता ।
२०३६ बाटै म तत्कालीन मालेको राजनीतिमा सक्रिय हुन थालें । विस्तारै आमा हामीलाई सहयोग गर्न जुट्नुभयो । परिवारको एक्लो महिला सदस्य, टाढाको पानीपँधेरो, ढिकीजाँतो र खेतीपाती गर्दै थाक्ने शरीर । रात विरात खाना खान आइपुग्ने पार्टीका कार्यकर्ताहरू ।
त्यस इलाकामा पार्टी निर्माणको काममा लाग्ने सबैजसो नेताहरू हाम्रो घरमा बास बसेका छन् । आमाले कहिल्यै प्रश्न नगरी रातविरात सबैको सेवा गर्नुभयो । मलाई कहिल्यै काममा जान रोक लगाउनुभएन । आमाले पठाइदिएको चामल र घिउ, दाल र गुन्द्रुक पार्टीका कार्यकर्तासँग बाँडेर खाने गरिन्थ्यो ।
आमा अलि प्रगतिशील चेतको पनि हुनुहुन्थ्यो, समाज र राजनीति बुझ्ने गज्जब तीक्ष्णता थियो । पछि राजनीतिक श्लोकहरू कथेर सुनाएर हाम्रो राजनीतिक प्रचारलाई सहयोग गर्नुभयो । दासढुंगा दुर्घटनामा एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको घटना पछि रचेको श्लोक एमालेले बारा जिल्लाको कोल्हवीमा आयोजना गरेको क्षेत्रीय शोक सभामा मञ्चबाटै सुनाउनुभएको थियो । त्यतिबेला हाम्रो बसाइ बारा जिल्लामा थियो ।
पछि मकैखोलाकै कुरा । बा आमा गाउँमै हुनुहुन्थ्यो । हामी छोराहरू पोखरा काठमाडांैतिर छरिएका थियौं । संकटकाल बढ्दै जाँदा माओवादीका नेता–कार्यकर्ताहरू गाउँतिर पुग्न थाले । कतिपय मेरा मित्र र चिनजानका साथीहरू हुने नै भए । हाम्रै जेठो मामाको छोरा प्रभु पनि माओवादीको इलाकास्तरका नेता थिए ।
अब माओवादी नेता र कार्यकर्ताहरू रातविरात घरमा गएर खाना बनाउन अनुरोध गर्ने र खाएर हिंड्ने गर्न थालेछन् । बुढ्यौली र रोगले थकित आमाको शरीरले रातविरातको यो धन्दा गर्नु सहज थिएन । तर आमाले नाइँनास्ति गर्नुभएन सकेजति सहयोग गर्नुभयो खाना खुवाएरै पठाउनुभयो भनेर माओवादी साथीहरू सुनाउँथे ।
आज फर्केर हेर्छु, आमाले यो देशमा विभिन्न भूमिकामा रहेर कांग्रेस, एमाले र माओवादीको पार्टी निर्माण र राजनीति विस्तारमा सहयोग गर्नुभयो । विशेषगरी आजको एमाले निर्माणमा आमाको श्रम, पसिना र आँसुको पनि सानो योगदान छ । तर कुनै पनि पार्टीले आमालाई राजनीतिक व्यक्तिका रूपमा मान्यता दिएनन् । हाम्री आमा र अरु हजारांै आमाहरूले यसरी कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन को बाटो पछ्याउनुभयो ।
इतिहासमा त्यसको लाभ पोल्टाभरी थापेर पोख्दै हिंड्नेहरू अरू नै निस्के । मलाई आफैंले पनि यस्ता अनेक आमाहरू बिर्सेको जस्तो अपराधबोध हुन्छ जसले मैले काम गर्ने समयमा पनि उसैगरी पार्टी निर्माणमा सहयोग गरेका थिए । आफू सक्रिय राजनीतिमा नरहे पनि उनीहरूलाई बिर्सनुहुन्थेन भन्ने लागिरहन्छ ।
आमाले हरेक काम आफूलाई सम्पूर्ण रूपमा समर्पित गरेर सन्तानका लागि गर्नुभयो । सधैं आफ्ना कारणले सन्तानले समस्या नभोगुन्, दुःख दिनु नपरोस्, उनीहरूको भलो होस् भन्ने मात्र चिताउनुभयो । आमा र आमाहरूसँग त्यागको प्रतिस्पर्धा कसले गर्न सक्छ र ?
कोराका दिनहरू
घाटमा पुगेपछि छोराको नाताले आमाको दाहसंस्कारमा सामेल हुँदा के गर्ने के नगर्ने भन्ने द्विविधा थियो । परलोक, पूर्वजन्म या पुनर्जन्मका कुरामा विश्वास नभएपछि आमालाई स्वर्ग तार्न या आमाको मोक्षका लागि अपनाइने विधि, प्रक्रिया, यमराज तथा धर्मराज र मानिसका बीच बसेर यो लोकबाट अर्को लोकसम्म मृतकहरू सप्लाई गरिदिने, पासपोर्ट बनाइदिने, भिसा हान्दिने, टिकट बन्दोबस्त गर्ने, बाटो खर्च पनि पठाइदिने एजेन्सीहरूको अर्थवत्ता मेरा लागि कत्ति पनि थिएन । तर यो विधि या १३ दिने क्रियाकर्ममा सामेल नभएर दाजुभाइ, इष्टमित्र र परिवारका सदस्यहरू सबैबाट पृथक् बसेर उनीहरूको चित्त दुखाउने या आफूलाई विशिष्ट देखाउने हिम्मत पनि मसँग छैन ।
त्यसो गर्नु मजस्तो समाजमा आश्रित सामान्य गृहस्थलाई उचित पनि हुन्थेन । म मेरो आस्था र विश्वास अरूमाथि थोपर्न चाहन्न, अरूका आस्था र विश्वासप्रति पूर्ण सम्मान गर्छु । र मेरो व्यवहारले कसैले मन नदुखाओस् भन्नेमा सतर्क हुन्छु, कहिलेकाहीं त चाहिने भन्दा बढी नै ।
भौतिकवादी बनाउन जसरी माक्र्सवादले मलाई सहयोग गरेको थियो त्यसरी नै अरूका आस्थामा सम्मान गर्न पनि सिकाएको थियो । म अरूले आयोजना गर्ने पूजाआजा, बिहेबर्तुन, एकाहा, सप्ताहमा सहभागी बनिरहन्छु । बा–आमा सहितका गाउँले आफन्तहरूलाई गया, काशी, प्रयाग र अयोध्या लैजान पनि म नै पुगेकै थिएँ ।
पशुपतिमा शतबीज छर्न ल्याउन पनि म सामेल भएकै थिएँ । तर आफूले कुनै भगवानका सामु शिर झुकाइनँ । नातागोताभित्रका र आफन्त साथीभाइका परिवारमा संस्कार परम्परा, विश्वास र आस्थाका आधारमा गरिने धार्मिक यज्ञ या अरू कार्यका अवसरहरूमा मिलेसम्म उपस्थित हुन्छु । त्यस्तोमा दान–दक्षिणा लिनु नपरे हुन्थ्यो भन्ने लागिरहन्छ र कहीं लिनुपर्दा आत्मसम्मान गुमे जस्तो लाग्छ, मरेतुल्य हुन्छु । नलिन प्रयास गर्छु तर सधैं सकिन्न र टाउको र अभिमान सँगसँगै निहुराइदिन्छु ।
म भगवान् या देवी–देवता सम्झेर मन्दिर जान्न, संयोगले मन्दिर पुगेका बेला त्यसका धूपदीपबाट आउने बास्ना, शंखघण्टको आवाजबाट आनन्दित हुन्छु, यज्ञ लगाएको ठाउँबाट आउने वास्ना असाध्य मनपर्छ । अरूले गर्ने पूजाआजाप्रति गुनासो छैन, मन्दिर र मस्जिदहरूमा माइक लगाएर गरिने मन्त्रोच्चारण या भक्तिभजन सुन्दा भने दिक्क लाग्छ । मलाई अविश्वास भएको कुरामा नक्कली भक्ति देखाउन पनि म सक्दिनँ ।
यसपालि थाहा भयो मृत्युसंस्कारमा दाजुभाइहरूको साथ–सहयोग अनिवार्य जस्तो रहेछ । परिवार दुःखमा परेको समयमा अन्तिम संस्कारका यावत् चाँजोपाँजो मिलाउन ठूलै जनशक्ति आवश्यक पर्ने रहेछ । अरूकोमा पर्दा खासै थाहा पनि भएन, धेरै जाँदा पनि गइएन । गए पनि राजनीतिक गफ गर्यो, सतही सहभागिता जनायो हिंड्यो ।
आफूलाई परेपछि थाहा भयो दाजुभाइ दिदीबहिनीहरूको महत्व । भाइहरू दिनवन्धु, राम, कीर्ति, लक्ष्मण, लव र सुरेन्द्र तथा दिदी कृष्णदेवी, बहिनी राधिका, भतिजी सीताले यो भार पार लगाउन खटेर सहयोग गरे । चितवन, पोखरा र काठमाडौंदेखि दाजुभाइहरूको टिम आफैं आयो, छिमेकीहरू आए र सक्रिय भए र पो हामीले यो काम सक्यौं ।
घाटमा गरिने कार्यमा पुत्रका रूपमा पहिलो समस्या पर्यो दागबत्ती दिनेबेला कपडा बदल्नुपर्ने समयमा । दाइ र भाइले कपडा बदलेर काम थाले । चिसोको एलर्जी भएको मेरो शरीरले कम्मरमुनि एकसरो कपडा लगाएर छाती खुला राख्न अनुमति दिंदैन, त्यसमाथि यो जाडोमा । अनि त्यहाँ कपडा खोल्दा त जनै भिरेको देखिनुपथ्र्यो । नभिरेको देखे परिवारका सदस्यहरूले नराम्रो अनुभूति गर्न सक्थे, म आफैं अनावश्यक रूपमा यस्तो सोचेर अतिरिक्त सतर्क भएको पनि हुनसक्छ ।
आमालाई थाहा थियो, परिवार र आफन्त सबैलाई थाहा छ म जनै लगाइरहन्न । थाहा भएकै कुरा पनि खास समयमा अलग अर्थ बोकेर आउँदो रहेछ । भगवानप्रति आस्था राख्ने आमाको अन्तिम संस्कारका बेला अरूले के भन्लान् भन्ने चिन्ता पनि हुँदोरहेछ ।
मैले जनै लगाउन छाडेको त २०३५ मा कलेज गएदेखि नै हो । कम्युनिष्ट पार्टी र माक्र्सवादबारे, चार्वाक या भौतिकवादबारे कुनै कुरा थाहा नहुँदै नसुन्दैको कुरा हो । तर घरमा जाँदा कहिलेकाहीं लगाइदिन्थें । पछि पछि पनि आमाले कर गर्दा जनैपूर्णिमा लगायत समयमा भिरिदिन्थें । यो पनि आमालाई थाहा थियो ।
यसपालि घाटमा त्यो असमञ्जसमा पर्न मन लागेन र कपडा खोलिनँ । कपाल भने खौरिएँ । घरमा पुगेपछि पनि केही परिमार्जित तरिका अपनाइयो । संस्कारमा अपनाइने विधिमा विस्तारै आइरहेको सुधार ग्राह्य हुँदै गएको रहेछ । लँगौटीको ठाउँमा रेडिमेड अण्डरवेयर, थर्मकोटको सेट र ऊनीको टोपी, त्यसमाथि ऊनीकै स्वेटर भिर्न पाएपछि बसाइ सहज भयो । बाँकी त जे जे पण्डितले भन्दै जान्छन् त्यसलाई मिलेसम्म आफू अनुकूल संशोधन गरेर स्वीकार गरियो । म परें माइलो छोरो, थलोका काम खासै मेरो भागमा पनि नपर्ने ।
मेरा लागि यो दुर्भाग्यपूर्ण समय भए पनि महत्वपूर्ण सिकाइको अवसर पनि बन्यो । खासगरी हिन्दुधर्म मान्ने पहाडे ब्राह्मण क्षेत्री परिवारमा हुने मृत्युसंस्कारका अनेक पाटा थाहा पाइएको थिएन । ब्राह्मणहरू वास्तवमा कुन मनोविज्ञानले बनेका हुन्छन् भन्ने पनि थाहा भयो । मेरो घरको छानोमुनि ६० वर्षमा मृत्यु भएको नै यो पहिलो घटना हो (ससुराबा र सासूआमा वित्नुहुँदा विधि प्रक्रिया उही भए पनि पूरै बसेर हेरिएन) ।
हजुरबा वित्दा म तीन वर्षको मात्र थिएँ रे ! त्यसमाथि गाउँमा रहुञ्जेल कहिल्यै घाट जानुपरेको पनि थिएन । गाउँ छाडेपछि अरूको मृत्यसंस्कारलाई नजिकबाट नियाल्ने अवसर पनि परेको थिएन ।
पिण्ड, तर्पण, श्राद्ध, जलार्पण, त्यसमा गरिने मन्त्रहरूको उच्चारण, यमराज, धर्मराज, विष्णु, ब्राह्मण, दान, धर्म, जन्म, पुनर्जन्म जस्ता विषयमा कसरी पण्डितहरूले बुझ्छन् र बुझाउँछन्, मानिसहरू कसरी विश्वास गर्छन् र त्यसलाई अनुसरण गर्छन् भन्ने थाहा पाउन सहज भयो ।
सँगै ब्राह्मण र पुराणहरूले कसरी नेपाली समाजको ज्ञान र विश्वासको परम्परालाई जकडेर भाग्यवादी बनाइराखेका छन्, कसरी यसले हाम्रो तमाम मनोविज्ञान प्रभावित छ भन्ने थाहा पाउन सहज भयो । यो हाम्रो समग्र समाजको स्वस्थ संस्कृतिको विकासका लागि कति बाधक छ भन्ने बारे बुझ्ने अवसर मिल्यो ।
गरुड पुराणको अमानवीयता
हाम्रा भानिजदाइ बुद्धिनाथ अधिकारी आफैं अघि सरेर गरुड पुराण पाठ गर्नुभयो । २०३४ सालमा माइला मामाको अन्तिम संस्कारका बेला सुनेपछि मैले गरुड पुराण सुनेको थिइनँ । मलाई यो पुराण सुन्न सुनाउन नपरे हुन्थ्यो भन्ने पनि लागेको हो । तर यसमा पनि अरू प्रक्रियामा झैं सामेल हुनैपर्ने भयो । धेरैजसो पाठ त संस्कृत श्लोक या मन्त्रहरू मात्र भनेर अघि बढाइए । केही पाठको भने नेपालीमा अर्थहरू पनि सुन्ने अवसर मिल्यो ।
काकाका छोरा राम र बुद्धि दाइ संस्कृतमा शास्त्री गरेका र नेपालीमा एमए गरेका, हामी सुन्नेहरू पाँचै जना कम्तीमा स्नातक र मास्टर्स गरेकाहरू । आलोचनात्मक चेतले काम गर्ने नै भयो । सुनाउनेहरूमा पुराणका प्रति पूर्ण विश्वास र भक्ति । सुन्नेहरूमा विश्वास र आलोचनात्मक धारणाको मिश्रण ।
समाजलाई अनेक भय देखाएर अनुशासनमा राख्ने यत्नस्वरुप पुरुष ऋषिहरूले पुरुषका पक्षमा रचना गरिएको जस्तो लाग्ने गरुड पुराण । तेह्र दिने क्रिया विधि र दानदातव्यको महत्व दर्शाएको र ब्राह्मणहरूको जीविकोपार्जनमा सहयोगी हुने कुराहरू निकै धेरै थिए । गच्छे अनुसार फूलपाती मात्र चढाए पनि हुने र सक्नेले ठूलै धनदौलत दान गर्नुपर्ने बडो लचकदार व्याख्या पनि रहेछ । नर्कको व्याख्या र यमराजको दण्डविधानका कुरा पनि सामेल थिए ।
यसको राम्रो पक्ष भनेको वेदान्तका कुराहरू संक्षेपमा सुनाइनु पनि हो । खासगरी पूर्वीया अथवा भारतीय हिन्दु दर्शनले स्वीकार गरेको मोक्षका कुरा अर्थात् फेरि फेरि जन्मनु नपर्ने गरी मानिस कसरी मुक्त हुन्छ भन्ने विषयलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ । स्वीकार गर्ने नगर्ने अर्को कुरा हो तर यो व्याख्याले श्रोतालाई जीवन र जगतबारे, कर्तव्याकर्तव्यबारे बुझ्न सहयोग गर्छ ।
बुद्धले पनि मोक्षको अर्थात् फेरि जन्मन नपर्ने पक्षमा कुरा गर्छन् । आदि शंकराचार्यको व्याख्याले पनि मोक्षको कुरा गर्छ जसका विचारको प्रभाव यो पुराणको अन्त्यतिरका अध्यायमा रहेछ । उनको भक्तिमार्गबाट मोक्ष प्राप्त गर्ने व्याख्या ईश्वरीय शक्तिमा विश्वास गर्नेहरूका लागि महत्वपूर्ण हुन सक्छ । यो व्यक्तिको आस्था र विश्वासको विषय भएकाले यहाँ बहस गरिहरनु उचित हुँदैन । हामी ईश्वरको शक्ति र उपस्थितिलाई विश्वास नगर्नेहरूका लागि पनि यो विभिन्न दार्शनिक अवधारणाहरूमध्ये एउटा अवाधारणाका रूपमा अध्ययनको विषय हो ।
पुराण सुनिरहँदा मलाई केही कुराले तिखो सुइरोले रोपे झैं घोच्दै प्रहार गरे । आजको समय र मानिसहरूको ज्ञान र विज्ञानका उपलब्धिलाई चुनौती दिंदै केही रुढ मान्यताको व्याख्या सहितको यो पुराण अझै पनि सामूहिक रूपमा वाचन गरिनु सामाजिक विकास र न्यायका दृष्टिले समेत अनुपयुक्त रहेछ । व्यक्तिले अध्ययन गरुन्, पढुन् र विश्वास गर्ने नगर्ने निर्णय आफैं गरुन्; यसमा त केही आपत्ति हुने कुरा भएन । तर यो पुराण सामूहिक रूपमा मानिसहरूलाई प्रभावित गर्ने गरी वाचन गर्नुपर्ने १३ दिने संस्कारको अनिवार्य हिस्सा बनिरहँदा यसका दूरगामी नकारात्मक असर पर्ने बुझियो । यहाँ केही पक्षको मात्र चर्चा गरिनेछ ।
पहिलो, यो पुराण स्त्रीद्वेषी छ । यसले स्त्री या महिलालाई व्यक्तिका रूपमा स्वतन्त्र अस्तित्व एजेन्सी दिंदैन । उनीहरूलाई पुरुषको अंगका रूपमा मात्र स्वीकार गर्छ । अझै पनि यसले सती प्रथाको गुनगान गर्छ । सती जान प्रेरित गर्छ र सती नजाने तर भगवान र जन्म, पुनर्जन्मका पौराणिक व्याख्यालाई विश्वास गर्ने महिलामा अपराधबोध जगाउँछ । महिलालाई उसको पतिसँगै दन्किरहेको चितामा चढ्दा अपनाइने विस्तृत विधि भएको यो व्याख्या हाम्रो आफ्नै समय चेतनामाथिको प्रहार हो ।
सय वर्ष पहिले नै राणा प्रधानमन्त्रीले प्रतिबन्धित गरेको सती प्रथाको गीत गाउने पुराणको यो अंश लोकतान्त्रिक समयमा पनि भनिरहनु युग सुहाउँदो पक्कै होइन । यो पक्षमा हिन्दु धर्मका विद्वान् पण्डित र धर्मगुरुहरूले ध्यान दिनु आवश्यक छ । पुराणका अहिलेको समयसँग बाझिने कुरालाई हटाएर पनि मानिस र धर्मराज यमराजका बीच सम्बन्ध कायम गर्नेतिर धर्मगुरुहरू लागे भने मानव समाजका लागि कल्याणकारी सावित हुनेथियो । अन्यथा यसमा राज्यले नै हस्तक्षेप गर्नु पनि पर्छ ।
दोस्रो, यसले पुत्रलाई नै मोक्षको एक मात्र उपाय मानेको छ । शोकका समयमा परेका मानिसहरूलाई स्वग, नर्कको भय देखाउन पढिने यो पुराणले छोरा जन्माउन नसक्ने स्त्री या पुरुषलाई अपमान, लज्जा र पापबोधको तहमा पुर्याउँछ । किन मानिसहरू पुत्रलाभका लागि मरिहत्ते गर्छन्, छोरा नपाएकैले कसरी महिलाहरू प्रताडित छन्, कसरी छोरा नहुने बुहारी या पत्नीलाई लाञ्छित गरिन्छ र परिवारको विखण्डनका कारणका रूपमा यो पक्ष जिम्मेवार छ भन्ने हामीले धेरै घटना सुनिरहन्छौं, पढिरहन्छौं ।
समाजमा प्रचलित कतिपय लाञ्छनाको स्रोत पनि यही पुराण हो । विज्ञान र आजको सामाजिक चेतना, कानून र संविधानका विरोधी यो अन्यायपूर्ण व्याख्या अझै पनि घरघरमा पाठ गरिनु दिक्कलाग्दो कुरा हो ।
तेस्रो, यसले समाजमा मान्छेका बीच विभेदका जराहरूलाई मलजल गर्छ । मानिसलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रका रूपमा व्याख्या गरेर कसैलाई जन्मैले दास र कसैलाई मालिकका रूपमा चिनाउँछ । वर्ण व्यवस्थाले समाजमा गरेको लामो विभेदबाट हामी मुक्त हुन खोजिरहेका छौं जसले समाजको उत्पादकत्व, सामाजिक एकता, व्यक्ति र परिवारको उन्नतिलाई अवरोध गरिरहेको छ ।
यसै वर्ण व्यवस्थालाई प्रोत्साहित गर्ने, ब्राह्मण र क्षेत्रीलाई उच्चताबोध र कथित शूद्रलाई अपमानबोध गराउने यस्तो रचना घरघरमा पाठ गर्नु–गराइनु नेपाल र भारतमा रहेकोे विभेदकारी सामाजिक संरचनालाई निरन्तरता दिने कार्य हो । यस्तो विभेदको प्रभाव उक्त १३ दिने प्रक्रियामा हाम्रो परिवारभित्रै पनि अनुभव गरियो ।
नेपाली समाजलाई गतिशील र समतामुखी बनाउने हो भने कमसेकम कथित आस्था र विश्वासका नाममा गरुड पुराण र स्वस्थानी कथामा रहेका महिला विरोधी तथा विभेदकारी चेतलाई सहयोग गर्ने अध्याय र प्रसंगहरूको आधिकारिक खण्डन आवश्यक छ । व्यक्तिका रूपमा आस्था राख्नेहरूलाई स्वतन्त्रता भए पनि यो विभेदकारी विचारले सामाजिक व्यवहारमा स्थान पाउनुहुन्न ।
सबैभन्दा ठूलो कुरो यसले भाग्यवादलाई प्रोत्साहित गर्छ जुन आजको मानिसको चेतना र आवश्यकता दुवैका हितमा छैन । यो सुनेर बस्दा मलाई डोरबहादुर बिष्टको फ्याटालिजम एण्ड डेभलपमेन्टको सम्झना आइरह्यो ।
अन्त्यमा,
आमाको अन्तिम समयमा साथै हुन पाउनु र अन्तिम यात्रामा सहभागी हुनु पीडाको विषय त हुँदै हो सँगै पुत्रवत् कर्तव्य पालन गर्नुको सन्तोष पनि हो । मृत्युको अनिवार्यता स्वीकार गरेर पनि यस्तो लागेको होला । अब आमा भनेर बोलाउने कोही रहेन ।
छोरो आउला भनेर बाटो हेरिरहने, आफूले खानु अगाडि उसले खायो–खाएन भनेर निश्चित गर्ने र सन्तानको चिन्ता गरिरहने आमा रहनुभएन । मनमा र घरमा एउटा शून्यता र खालिपन मात्र बाँकी रह्यो । जीवनभर एउटा कहिल्यै नपुरिने शून्यता मसँगै यात्रा गरिरहनेछ ।
अल्जाइमरले अर्धचेतनमा जानुभएका बाले पनि आमाको अभाव चैं महसुस गर्नुभयो । गल्दै गएर आमा बित्नुभएको १७औं दिनमा बा पनि बित्नुभयो । सबै प्रक्रिया आमाकै समयमा जस्तो दोहोरियो । यो आलेख उक्त १७ दिनको बीचमा लेखिएको थियो । बदल्न मन नलागेर जस्ताको तस्तै राखिएको हो ।
प्रतिक्रिया 4