+
+
Shares

जेनजी : पिक्सेलभित्रको जीवन, मनभित्रको कथा

प्रिय अस्मृति, जति हतार गरे पनि अन्त्यमा मृत्यु त निश्चित छ। त्यसैले जीवनको अर्थ भनेको हतार होइन, शान्त भएर रमाइलो गरी बाँच्नु हो।

शैलीका क्षेत्री शैलीका क्षेत्री
२०८२ भदौ २२ गते ९:०१

जर्ज अरवेल भन्दैथिए- ‘हरेक पुस्ताले आफैंलाई अघिल्लो पुस्ताभन्दा धेरै ज्ञानी र पछिल्लो पुस्ताभन्दा धेरै बुद्धिमान ठान्छ।’

पुस्ता-पुस्ता बीच श्रेष्ठताको घमण्ड क्षणिक मात्र हो। पुस्ताले पुस्तालाई हेर्दै, अघिल्लोभन्दा आफू उज्यालो ठान्छ।

तर सत्य त यही हो– हिजोको पाइला विनाको आज शून्य हुन्छ र आजको प्रयास विनाको भोलि असम्भव। मानव यात्रा श्रेष्ठताको, निरन्तरको गीत हो।

यस्तै पुस्ताको कुरा गर्दा, मेरा आमाबाबा सन् १९५५ को दशकमा जन्मिएका थिए। त्यही पश्चिमी परिभाषामा भन्ने हो भने ‘बेबी बूमर’ पुस्ता। अनि मचाहिं सन् १९९० को सुरुवाततिर जन्मिएँ, जतिखेर मोबाइल र इन्टरनेटको खचाखचमा संसार सानो देखिन थालेको थियो।

जीवनको उतारचढावमा मैले छिट्टै मेरा आमा-बाबालाई गुमाउनु पुगें, र मेरो खाली जीवनमा आगमन हुनगयो, मेरी सानी बहिनी अस्मृतिको ।

अस्मृति मेरो मामाकी छोरी अनि उमेरचाहिं पश्चिमी भाषामा भन्ने हो भने ‘जेनजी’। ऊ ‘जेनजी’ पुस्ताको भएर होला, उसका उट्पटाङ्ग हर्कतहरूसित अबउसो मेरो जीवन पनि जोडिनु पुग्यो।

अस्मृतिको निम्ति मोबाइलको स्क्रिन, मानौं एउटा सानो ब्रह्माण्ड थियो। र त्यो नै अहिले उसको दिनरातको साथी बनेको छ।

उसको बिहान इन्स्टाग्राममा ‘हाय’ भन्दै सुरु हुन्छ र बेलुकी ‘गुड नाइट’ भन्दै डिजिटल दुनियाँलाई बिदाइ गर्छिन्। बाँकी समयमा भने साना-साना रिलहरूमा, उसको दिनचर्या कैद हुन्छ – खाना खाने बेला, घुम्ने बेला, सामान्यदेखि असामान्य क्षणसम्म सबै ।

म भने मिलेनियल पुस्ताको मान्छे। मलाई यो संसार अचम्म लाग्छ- हरेक क्षणलाई फोटो अनि भिडियोमा कैद गर्नु नै पर्ने जस्तो, मानौं जीवन अरूलाई नदेखाई विना अधुरो हुन्छ।

मलाई त पुरानो समय याद आउँछ जब जीवन आफ्नै रूपमा रमाइलो हुन्थ्यो- न कसैलाई देखाउनुपर्ने, न त लाइक र कमेन्ट खोज्नुपर्ने। तर, मेरी बहिनी भने सहजै मोबाइल चलाउँदै डिजिटल कथा बुन्छिन्। उसको संसार कोही-कोही बेला आकर्षक पनि लाग्छ, तर ज्यादा जस्तो मानसिक थकाइ दिने पनि ।

पहिला भनिन्थ्यो- ‘एक पल खुशी, अर्को पल दुःख।’ तर अहिले त मोबाइल स्क्रोल गर्दा कहिले हँसाउने भिडियो आउँछ, फेरि तुरून्तै कतै पहिरो वा बाढीको डरलाग्दो दृश्य देखिन्छ। त्यसपछि फेरि हास्य-व्यङ्ग्य अनि केही बेरमै खेलकुदको क्लिप।

यसरी दिमागलाई छोटो-छोटो समयमा असङ्ख्य फरक-फरक भावनाबाट आक्रमण हुँदा कुन भावना स्वीकार गर्ने र कुन अस्वीकार गर्ने भन्ने कुरा नै स्पष्ट हुँदैन। यही कारणले दिमाग थाक्छ, जसलाई विज्ञानले ‘भावात्मक थकाइ’ नाम दिइएको छ।

यही निरन्तर मानसिक थकान नै, आजको नूतन पुस्ता, विशेषगरी ‘जेनजी’ बीचमा देखिएको अवसाद अनि चिन्ताको एउटा मुख्य कारण हो। आजको यो सामाजिक सञ्जालको युगमा, जहाँ लाइक र कमेन्ट नै आत्ममूल्यको नापजाँच बनेको छ, कहिलेकाहीं लाग्छ – साँचो जीवन कतै हराउँदै त छैन ?

तर, फेरि म अस्मृतिलाई सहजै रमाइरहेको देख्छु अनि आभास गर्छु- समय बदलिएको छ, शायद समयसँग तालमेल नमिलाएर म मात्र पछाडि परेकी छु कि ?

अस्मृति छक्क पर्छे, जतिखेर म उसलाई भन्छु, अघिल्लो ८० को दशकमा, टीभीमा जम्मा दुईवटा मात्र च्यानल हुन्थे। अहिलेको जस्तो हजारौं च्यानल, युट्युब, नेटफ्लिक्स केही थिएन। त्यतिबेला रेडियो नै मुख्य मनोरञ्जनको साधन थियो, जसलाई परिवार सबै मिलेर सुन्थे।

चाडपर्वमा आफन्त भेट्न जानु, सबै मिलेर रमाइलो गर्नु ठूलो कुरा मानिन्थ्यो। अन्तर्राष्ट्रिय कल गर्न ‘ट्रंक कल’ भनेर अघिदेखि बुक गर्नुपर्थ्यो। बजाज स्कुटर किन्ने हो भने कम्तीमा १० वर्ष कुर्नुपर्थ्यो। विमान चढेर यात्रा गर्नु भनेको धनी र सम्पन्न मानिसहरूको कुरा हुन्थ्यो भने मध्यमवर्गीय मानिसहरूको सपना मात्रै।

प्रिय दिदी ! प्रेम नि गणितको सूत्र जस्तो हो, हजारौं ‘स्क्रोल’ र स्वाइप पछि मात्र एक जना व्यक्तिमा ‘पूर्ण मेल’ भेटिन्छ। दिदी तिमी पनि प्रेमको गणना यसरी गर हौ : प्रेम=(अनुभूति×समय)+(स्मृति÷दूरी)

अस्मृति जस्ता नयाँ पुस्ता फरक दुनियाँमा हुर्किरहेका छन्। हाम्रो अघिल्लो पुस्ताले जीवनमा पैसाको महत्त्व बुझ्न सङ्घर्ष गर्नुपरेको थियो, त्यसैले हाम्रो पुस्ताले आर्थिक रूपमा, उभिनुमा मात्र ध्यान दियो।

तर, अस्मृतिको, ‘जेनजी’ पुस्ता भने धेरै कुरामा सम्पन्न भएर हुर्किरहेको छ। त्यसैले मलाई ‘जेनजी’ पुस्ताका अस्मृति जस्ता युवाहरूले पैसाको मूल्य बिर्सिन्छ कि भन्ने लाग्छ। आखिर आजकल सबै कुरा प्लेटमै त आइदिन्छ, बटन थिच्दा नै पाउने सुविधाहरू छन्।

जेनजीवाला त्यो प्रेम

यसपालि भारतमा, ‘जेनजी’ वाला प्रेममा आधारित नयाँ चलचित्र ‘सैयारा’-ले भारतको नूतन पुस्तालाई प्रेमको साइड इफेक्टमा खूब रूलायो। त्यही चलचित्र सैयारा हेर्नु, म अनि बहिनी अस्मृति पनि सिनेमा हल पुगिहाल्यौं।

एकै क्षणमा फिल्मी पर्दाबाट, सैयाराको जादूले सिनेमा हल नै हलचलमय बनाइदियो। सैयाराको रूमानी दृश्य सुरु हुनासाथ हलभरि एकाएक हलचल मच्चियो। प्रेमिल संवाद सुन्नासाथ ‘जेनजी’ पुस्ताहरू उफ्रिएर ताली बजाउन थाले, झन् गीतको पालो आउँदा त सबैले मोबाइल टर्च बालेर गाउनै थाले- मानौं त्यहाँ कन्सर्ट नै सुरु भएको थियो।

यति मात्रै कहाँ हुन्थ्यो र- कोही-कोही त कुर्सी समातेर सुर्किंदै, लगातार रोइरहेका थिए र कतिपय त भावनाले बेहाल भएर बेहोस नै भए। हलमा कर्मचारीहरू पानीको बोतल लिएर उद्धार अभियान पो चलाइरहेका थिए।

म त छेउमै बसेर यी सबै दृश्य हेरेर अचम्म-मिश्रित हाँसो दबाइरहेकी थिएँ। तर अकस्मात् मेरो नजर पर्‍यो- मेरी बहिनी अस्मृतिको आँखामा, अहो! ऊ पनि चुपचाप आँसु पुछ्दै फिल्मी पर्दातिर टक्क हेरिरहेकी थिएछ। त्यो बेला लाग्यो, त्यहाँ फिल्म मात्र पर्दामा चलेको छैन, पूरै हलमा एक प्रकारको प्रेम महामारी नै फैलिएको छ।

खै, हाम्री ‘मिलेनियल’ वा ‘जेन वाई’ पुस्ताले अनुभव गरेको प्रेम त अतिसाधारण जीवनको अनुभूति जस्तै थियो। मैले, त्यही क्षण अस्मृतिलाई सोधिहालें- ‘बहिनी!, तिम्रो निम्ति प्रेमको परिभाषा कस्तो रहेको छ ?’

अस्मृतिले मलाई अवाक् दृष्टिले हेरी अनि भन्न लागी- मेरो निम्ति प्रेम कुनै पुरानो प्रेमपत्र होइन, बरू प्रेम इन्टरनेट जङ्गल जस्तै हो – सही व्यक्तिसँग जोडिंदा मनले नजिकताको अनुभूति गर्छ, तर ‘नेटवर्क’ टुट्यो भने आत्मा नै एकलो परे जस्तो लाग्छ।

प्रिय दिदी ! प्रेम नि गणितको सूत्र जस्तो हो, हजारौं ‘स्क्रोल’ र स्वाइप पछि मात्र एक जना व्यक्तिमा ‘पूर्ण मेल’ भेटिन्छ। त्यस क्षणमा हृदयको भावना रेखाङ्कन जस्तो बन्छ, सानो उतारचढावले पनि हृदयको धड्कनको ‘ग्राफ’ माथि-तल हुन्छ। दिदी तिमी पनि प्रेमको गणना यसरी गर हौ :

प्रेम=(अनुभूति×समय)+(स्मृति÷दूरी)

अस्मृतिको प्रेमका परिभाषा सुन्दा, उसका हरेक शब्दमा उमेरको ताजापन अनुभव भए तापनि, त्यसैसँग लागिरहेको थियो, ‘अरे, कतै म आफैं पुरानो पुस्ताको, बुढिंदै गरेको अनुभूति त गरिरहेको छैन ?’

त्यसैले उसलाई भनिहालें- ‘अस्मृति, प्रेम क्षणिक रमाइलोपन मात्र हो। तिम्रो भविष्य कसरी सुधार्छौ त्यो कुरा पो महत्त्वपूर्ण हो। प्रेम त आउँछ जान्छ। एकै व्यक्तिले एकै समय, चार जनालाई प्रेम गर्नु, सक्षम हुन्छ, त्यसैले प्रेम बेकारको भावना हो।’

अस्मृतिले त्यो सुनेपछि, मसित एकाएक रिसाउँदै सोध्न लागी- ‘ए! त्यसो हो भने, प्रेमको गहिराइ कुन पुस्तामा बढी नाप्न सकिन्छ त?’

मैले भनिहालें, ‘नदेखाएको, मनमा मात्र राखिएको प्रेममा, साँचो प्रेम नाप्न सकिन्छ नि !’

त्यसमा अस्मृतिको मत थियो, ‘होइन क्या ! देखाएर सबैसँग मनाएको प्रेम नै वास्तविक प्रेम हो। जो हाम्रो ‘जेनजी’ पुस्तामा कुटेर भरिएको छ।’

आजकलका बूढापाकाहरूले; ‘यो जेनजी पुस्ता अल्छे पुस्ता हो’। काम गर्न नै चाहँदैन, भन्दा जेनजी पुस्ताले पनि; ‘हाम्रो जमानामा, ए बूढा बा, बिहानी ९ देखि बेलुकी ५ सम्म होइन जहिले मन लाग्छ, त्यही बेला काम गर्ने जमाना हो’ भनेर जवाफ फर्काउँदा रहेछन्

त्यसपछि, मैले उसलाई चुप बनाउने कोशिशमा भन्न लागें- ‘अस्मृति छोड यो सब कुरा, सत्य यही हो प्रेम भावना हो र, यसले हरेक पुस्तामा स्वरूप फेर्छ। उहिले हामी आकाशका तारा, चन्द्रमाको अनुहार, फूलको सुगन्धतिर प्रेम खोज्ने गर्थ्यौं, अहिले तिम्रो नूतन पुस्ताले इमोजीमा प्रेम देख्छ। जो, म त बुझ्दै बुझ्दिनँ।’ त्यो सुनेर अस्मृति मसित झन् रिसाई अनि, मलाई सोध्न लागी- ‘ए, त्यसो हो भने जीवनमा अर्को व्यक्तिसँग सम्बन्धमा पर्नु, तपाईंका निम्ति आवश्यक पक्कै पनि छैन रैछ है ?’

उसको यो प्रश्नको उत्तर मसित थिएन, कारण मलाई पहिलेबाटै सिकाइएको थियो, प्रेम अर्काको नाम होइन, मनस्थिति मात्र हो। त्यस्तरी सम्बन्धमा प्रेमको सत्य खोज्नु, प्रेमको वास्तविकतामाथि शङ्का गर्नु जस्तो हो। तपाईं आफैं सोच्नुहोओस् जतिखेर, तपाईं प्रेम सम्बन्धमा सुखको अनुभूति गर्नुहुन्छ, त्यस क्षणदेखि उप्रान्त तपाईंको जीवनले पुनः जिउने प्रेरणा मात्र त पाउने हो। होइन र ?

हामीलाई थाह नै सुख, जुनै पुस्तामा पनि सुख अपरिवर्तनशील भाव हो, त्यसैले सुख प्राप्तिले परिवर्तनको पक्षमा उभ्याउन सिकाउँछ। सुख सधैं कुनै पनि किसिमको ठहरावको विरुद्धमा हुन्छ। सुखको स्थितिले मान्छेलाई अर्थपूर्ण रूपान्तरणतर्फ धकेल्छ। त्यसैले जति नै डिजिटल रूपमा छिटो, प्रविधिमा स्मार्ट र सूचना-युगका पारङ्गत भए तापनि, जेनजी पुस्ताको मुटु प्रेमको मामिलामा भने उस्तै शताब्दीअघिको जस्तै नाजुक र संवेदनशील रहन्छ। स्क्रिनले गति बढाए पनि, हृदयले भने अझै पुरानै तालमा धड्कन खोज्छ डेटिङ एप्स र भर्चुअल संसारमा हुर्किएको यो पुस्ताले प्रेमलाई व्यावहारिक तर खुला दृष्टिले हेर्छ। उनीहरू प्रेममा, एकअर्कालाई सहर्ष सामाजिक सञ्जालमा स्वीकार्न, डराउँदैनन्।

त्यसैले अस्मृति पनि भन्ने गर्छ- ‘प्रेम केवल अनुभूति मात्र होइन, यस संसारलाई देखाउने अनि सुनाउने गाथा हो। प्रेम, एकअर्काको आवश्यकतालाई ख्याल राख्ने मीठो बानी हो।’

जेनजी बनाम अवसाद

अस्मृतिको सोचाइमा खुलापन त अवश्य नै रहेको छ, साधारण जेनजी पुस्ता जस्तै, तर यस्तो सोचाइमा खुलापन भएर पनि ‘जेनजी’ या ‘जेन जेड’ पुस्तामा अवसाद अनि चिन्ता बढेर बोल्छ।

यस पक्षलाई, यसो बुझ्ने प्रयास गर्दा, थाहा लाग्छ, आजको संसारलाई प्रायः अस्थिर, जटिल र अस्पष्ट पनि भनिन्छ। यी शब्दहरू पहिला सेनापछि, प्रचलनमा आएको भए तापनि, पछिल्लो समय व्यवसाय, शिक्षा र दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको थियो।

जलवायु परिवर्तन, बढ्दो आतङ्कवाद, प्रविधिको तीव्र प्रतिस्पर्धा, नयाँ नियमकानून, डिजिटलीकरण, कोरोना महामारी जस्ता चुनौतीले ‘जेन जेड’ पुस्तालाई हरेक दिन नयाँ-नयाँ अस्थिरतासँग जुध्न बाध्य बनाइरहेको छ।

सन् १९९६ पछि जन्मिएका जेन जेडका लागि असुरक्षा अनि तनाव नयाँ कुरा होइन। आतङ्कवादी घटनाहरू, विद्यालयभित्रै हुने हिंसा वा अनलाइन देखिने दुर्व्यवहार, यी सबै उनीहरूको दैनिक जीवनको हिस्सा बनेका छन्। फेसबुकदेखि टिकटकसम्म, अनलाइन संसारले दिएको स्वतन्त्रतासँगै पीडादायी अनुभव पनि साथसाथै आएको छ।

धेरै युवाहरू साइबर बुलिइङको शिकार बनेका छन् र पढाइ अनि अङ्कको दबाबले गर्दा आत्महत्याको दर समेत बढिरहेको तथ्य लुकाउन सकिंदैन। यो पुस्ता जन्मदेखि नै प्रविधिसँग गाँसिएको छ।

मिलेनियल जेनेरेसनले जसरी क्रमशः टेलिभिजन, कम्प्युटर, मोबाइल अनि इन्टरनेटलाई देख्दै-सिक्दै आए, जेन जेड भने सीधै डिजिटल युगमै जन्मेका हुन्। उनीहरूका लागि इन्टरनेट कुनै विकल्प होइन, जीवनशैली नै हो। अनलाइन संसारले उनीहरूलाई विश्वव्यापी जानकारीमा तुरून्त प्रवेश दिलाउँछ। साथी, व्यवसाय, संस्था वा कलाकार जससँग पनि उनीहरू छिट्टै जडान हुन सक्छन्। अबउसो अज्ञात कुराले डराउने अवस्था बाँकी छैन, किनकि गूगल अनि युट्युबले हरेक प्रश्नको जवाफ तुरून्तै उनीहरूका अगाडि ल्याइदिन्छ। यसकारण जेन जेडको पहिचान नै ‘डिजिटल नेटिभ’ भनेर हुन्छ।

त्यसैले जेन जेडका पुस्ता, साइबर सुरक्षा अनि गोपनीयताप्रति बढी सचेत छन्। उनीहरू इन्टरनेटमा सेयर गर्ने कुरामा सावधानी अपनाउँछन् र निजी जानकारी सानो दायरामै राख्छन्। त्यसैले उनीहरू स्न्यापच्याट अनि इन्स्टाग्राम स्टोरी जस्ता प्लेटफर्म रोज्छन्, जहाँ सूचना छोटो समयमै हराउँछ। यसै विषयमा बङ्गलादेशका १७ वर्षे सदात रहमानले युवालाई साइबर बुलिङबारे सचेत गराउन मोबाइल एप बनाएर अन्तर्राष्ट्रिय शान्ति पुरस्कार समेत प्राप्त गरेका छन्।

निष्कर्षमा, हाम्रो पुस्ताका लागि सुविधा अनि छिटो उपलब्धता महत्त्वपूर्ण रहेको थियो भने, जेन जेड पुस्ताहरू उत्पादन अनि सेवाका लागि लामो समय पर्खन चाहँदैनन्। उपलब्धता जित्ने ब्राण्डले नै जेन जेड पुस्तालाई आकर्षित पार्दछ।

अस्मृतिको कलेजमा अभिभावक शिक्षक बैठकमा जाँदा

रोबोटलाई मानिसले बनाए, तर आज मान्छेलाई नै रोबोट बनाउन खोजिरहेछ। यो त डिजिटलीकरणको उन्नति मात्र होइन, प्रकृति विरुद्धको पहिलो युद्ध हो। मानव जातिले आफैंमाथि मेशिनी प्रहार गरेको हो। कति ठूलाठूला युगहरू यसरी नै अन्त्य भए। साम्राज्यहरू ध्वस्त भए।

अवसाद त कुनै एउटै पुस्तामा सीमित हुने कुरा होइन, हरेक पुस्ताले आफ्नो ढङ्गले, त्यसलाई भोग्दै आएको छ। म आफैंले तीन पुस्तासँग सास फेर्ने अवसर प्राप्त गरें- पहिले, बेबी बूमर पुस्ता; दोस्रो म आफैं पर्ने जेन वाई, तेस्रो; मेरी बहिनी अस्मृति, जो जेनजी पुस्ताकी प्रतिनिधि हुन्।

मेरो धेरै समय बोजूसँग बित्यो, जो बेबी बूमर पुस्ताको सजीव उदाहरण थिइन्। उनले विगतका कथा सुनाउँदा, प्रत्येक वाक्यमा सङ्घर्षको गन्ध हुन्थ्यो, दैनिक जीवनमा धान्नुपर्ने दुःख, तर पनि अनुहारमा आशा अनि धैर्यको उज्यालो रहिरहेका कुराहरू बताउँथे।

तर कहिलेकाहीं बाबा भन्नुहुन्थ्यो, ‘हाम्रो पुस्ताले त जीवन के हो? के होइन? भन्ने कुरा विस्तारसित बुझेको थियो। तर तिमीहरूको पुस्ताले- अनि अझ आउँदो नयाँ पुस्ताले, जीवनको वास्तविक स्वाद कतै हराइरहेका छन्। तिम्रो पुस्तामा ज्ञानका माध्यम धेरै भए पनि अनुभव कम रहेको छ। भनुँ भने, बाटो धेरै छन्, तर गन्तव्य थोरै।’

त्यो कुरा सुन्दा मलाई लाग्थ्यो, पुस्ताको विकास एउटा निरन्तर यात्रा हो। समय बदलिन्छ, साधन बदलिन्छ, तर मनका पीडा अनि खुशीका मूल स्वर कहिल्यै बदलिंदैनन्। अवसाद, आशा, प्रेम र खोज – यी त हरेक पुस्ताको अनिवार्य कथा हो। पुस्ता-पुस्ताले फरक ढङ्गले संसारलाई बुझ्छन्, तर ‘जीवन’ भने एउटै सूत्रमा बाँधिएको छ र यही पुस्ता विकासको कथा हो।

पुस्ता विषयको गणितमा, अस्मृति मभन्दा करिब सात वर्षले कान्छो ठहरिन्छ। उमेरमा एक दशकको फरक नरहे तापनि, म अहिले उसको अभिभावक नै हो। अनि अभिभावकको जिम्मेवारी निभाउँदै, मलाई यसपटक अस्मृति पढ्दै गरेको कलेजमा अभिभावक-शिक्षक बैठकमा जानुपर्ने भएको थियो।

उमेरले भन्दा जिम्मेवारीले ठूली भएको अनुभूतिसित, म त्यो दिन, आफू कार्यरत ब्यांकमा पनि आधा दिनको छुट्टी लिई अस्मृतिको कलेजतर्फ हतार-हतारसित दौडिन लागें। कतै ढिलो पो भइहाल्छु कि भन्ने सोचमा, मेरो मनमा एक किसिमको तनाव उफ्रिरहेको थियो। त्यही बेला, खै! मेरो मोबाइल फोनको रिङ्गटोन जोडले बज्न थाल्यो। पहिले त मैले त्यस फोनकललाई बेवास्तै नै गरें, तर फोन पाँचपटक भन्दा बढी बज्दा, मनमा त्यो फोनकल उठाउने काउकुती भयो। अन्ततः मैले त्यो फोनकल उठाएँ।

फोनको अर्कोतिर दिदी मृदुल रूँदै भक्कानिंदै बोलिरहेकी थिई। मलाई त्यो परिचित स्वरमा अवसादको कम्पनमय ध्वनि सुन्दा, एक प्रकारको चिन्ताले छोप्यो, त्यसैले हतारिंदै सोधिहालें, ‘दिदी के भयो? किन यसरी रोएको ?’

त्यसपछि, बडो गम्भीर स्वरमा, दिदीले मसँग आफ्नो पीडामय कथा साझा गर्न थाली… शैली ! अचेलको पुस्तालाई कसरी सम्हाल्नु हो। तिमीलाई थाहा छ! मेरी छोरी सैबी, त्यो कहिल्यै यस्तो थिइनँ। सधैं हँसिलो र जीवन्त ऊर्जाले भरिएको केटी थियो त्यो। सायद, उसको हेरचाहमा, मैले नै भूल कदम लिएँ होला, उसको तेह्रौं वर्षको जन्मगाँठमा, मैले उसलाई एउटा मोबाइल फोन उपहार दिएँ। पहिले त, उसले त्यो मोबाइल फोनलाई टेडी बियर गेमहरू खेल्न प्रयोग गर्थी। तर, साथीहरूले ‘बच्चा खेल’ भनेर जिस्काएछन् अनि प्रत्येक तरुण केटी झैं इन्स्टाग्राम खोल्न प्रेरित गरेछ। सैबीलाई उसको मोबाइल अनि ट्याब्लेट कोठामा लैजान निषेध थियो, तर साथीहरूको होहोरीमा, उसले गलत उमेर लेखेर इन्स्टाग्राम खोलिछ, एप पनि डाउनलोड गरिछ अनि प्रत्येक प्रयोगपछि त्यसलाई डिलिट पनि गरिछ।

हदचाहिं त्यतिबेला भयो, जतिखेर मैले, क्याल्कुलेटरको आइकनभित्र इन्स्टाग्राम लुकाएको भेटाएँ, त्यसपछि मैले सैबीको प्रत्येक हर्कतलाई निगरानी गर्न थालें, तर उसले नयाँ गुप्त अकाउन्टहरू बनाउन थालिछ।

शुरुमा, सैबी इन्स्टाग्रामसित यति प्रभावित रहिछ; सन् २०२४ को अन्त्यतिर उसले आफ्नो डायरीमा लेखिछ, ‘आज मेरो इन्स्टाग्राममा १२७ फलोअर्स पुगे। म पहिले १० फलोअर्स हुँदा पनि खुशी थिएँ भने, यो त मेरा निम्ति ठूलो उपलब्धि हो।’

तर, यसको केही महिनापछि, सैबी अचानक मानसिक रूपमा अवसादमा पर्न गई। इन्स्टाग्राम अकाउन्ट शुरु गरेको करिब ६ महिनामै, इन्स्टाग्रामको सामग्री छनोट गर्ने एल्गोरिदमले उसका सुरूवाती फिटनेसमा रहेका चासोलाई विस्तारै बदल्दै लगेछ। पहिले मोडलहरूको तस्वीर, त्यसपछि डाइटिङ सम्बन्धी सल्लाहले, अन्त्यमा सैबीलाई आठौं कक्षा पढ्दासम्म एनोरेक्सिया (भोकै बस्ने रोग) अनि डिप्रेशनका कारण अस्पतालसम्म भर्ना गर्नुपर्‍यो। मलाई चिन्ता छ शैली, शायद सैबी किशोरावस्थाका बाँकी जीवन खानपान सम्बन्धी रोग अनि मानसिक पीडासँगको सङ्घर्षमा बिताउने हो कि !

तिमीलाई थाहा छ, उसको ल्यापटपमा लेखिएका शब्दहरू के थिए! ‘सैबी तिमी बेकार कुरूप र मूर्ख केटी हौ।’ उसको सबैभन्दा आकर्षक देखिने तस्वीर मुन्तिर लेखेको रहेछ, ‘एकजना मूर्ख, कुरूप, मोटी केटी, म तिमीलाई घृणा गर्छु।’

क्यामराको पिक्सेलमा फिल्टर चढाएर हिंड्ने युगको सुन्दरतामा कति सैबी जस्ता भोला पुस्ता, आफूलाई कुरूप ठान्छन् होला, त्योचाहिं नयाँ पुस्ता जेन अल्फाको प्रमुख महामारी रोग नै बनिसकेको छ। घामको सुन्दरतालाई कुनै फिल्टरको पाबन्दी छैन, नदीले आफूलाई समुद्रको ठूलो गहिराइसित तुलना गर्दैन, त्यो आफ्नै तालमा, स्वच्छन्द बगिरहन्छ। प्रकृतिमा, प्रत्येक फूलको आफ्नै सौन्दर्य अनि सुगन्ध रहेको छ। प्रत्येक पुतली आफ्नै खालको सौन्दर्य प्रस्तुत गर्दै, मस्त उडिबस्छ; त्यसो भए, फिल्टरवाला सौन्दर्य, हामी मानव जातिलाई मात्र किन मनपरेको? हामी किन प्रकृति झैं प्राकृतिक हुन सक्दैनौं ?

शल्यक्रिया त रोबोट आमाले नौ महिना पूरा भएको गर्भको आफैं गरिदेला, तर बच्चा जन्मिएपछि रोबोट आमाले फलामे हातले ‘ट्याप-ट्याप’ हिर्काउँदै, बच्चालाई रूवाउन खोज्दा त्यो रूवाइ पनि यन्त्र जस्तो मात्र सुनिने हो कि ? अहो, कस्तो अचम्मको भविष्य !

त्यस्तै कुराहरूको चिन्तनमा डुबेर हिंड्दा-हिंड्दै, त उफ् ! म अस्मृतिको कलेज पुग्ने लामो बाटो पो समाइहालेछु। यसो घडी हेरें, समय त धेरै पर सरिसकेछ। ‘अब ढिलो भयो’ भन्ने चिन्तामा अचानक मेरो मुटु जोडले धड्कियो र सकेसम्मको गति समातेर म फेरि कलेजतर्फ दौडन लागें।

दौडिएकोले, मेरो शरीर अनि निधार पसिनाले छ्याप्प भिज्यो, मनभरि ढिलो पुगेको अपराधबोधमा, म त्यो अभिभावक-शिक्षक भेटघाट भइरहेको हलमा पुगें, त्यहाँ पुगेर थाहा लाग्यो अभिभावक शिक्षक बैठक त सकिन लागेछ अनि बहिनी अस्मृतिको पालो पनि बितिसकेछ। त्यस क्षणमा मेरो हतार, मेरो दौड, मेरा स–साना बहाना सबै व्यर्थ लाग्थ्यो। मनभित्र गहिरो बोझ बस्यो- ‘एकपटक फेरि म ढिलो नै पुगें।’

त्यही बेला अगाडि कुर्सीमा बसेका वृद्ध प्राध्यापकले मलाई एकटक हेरिबसे। उनको त्यो हेराइमा न गाली थियो, न मुस्कान नै थियो; त्यहाँ केवल देखिन्थ्यो, तीक्ष्ण घोच्ने प्रश्नहरूको धार।

मलाई ढिलो बैठकमा आएको देख्नासाथ उनी बोल्न थाले, ‘यति बेला हो आउने समय बैठकमा ? अहो! तिमी त उही लेखक शरद छेत्रीकी छोरी होइन? बुबा जस्तै तिमी पनि ब्यांकमा नै कार्यरत छौ होइन? तर तिमीलाई थाहा छ, शरद छेत्रीले समयलाई सुन झैं मोल गर्थे, उनी कतै, कहिल्यै ढिलो भएनन्। तर तिमी…। यस्तो हिसाबमा त म अनुमान लगाउन सक्छु तिमी ब्यांकमा, आफ्नो हाजिरा लगाउन पनि ढिलो पुग्छौ होला! हैन कि कसो? नयाँ पुस्ताकी हौ। समयको ख्यालभन्दा बढी त मोबाइलको स्क्रिनमै हराउने अल्छे पुस्ता त हौ। अभिभावक यस्तो, तिम्रो बहिनीबाट के उम्मिद राख्नु।’

त्यस क्षण प्राध्यापकको सोचले हलभित्रको सन्नाटा झनै बाक्लियो। अनि मेरो छातीचाहिं एकैचोटि ढिलो पुगेको अपराधबोध अनि सरको कटु शब्दको वारले पोल्न थाल्यो। बाहिरबाट म शान्त देखिए तापनि, भित्रभित्रै सोच्दै थिएँ- ‘थोच्! आज, ढिलो मात्र के भाको, त्यो पनि अभिभावक, शिक्षक भेटघाट जस्तो साधारण बैठकमा, बूढाले दोषचाहिं सम्पूर्ण पुस्तामाथि नै थोपिदिए।’

त्यसैले हो, आजकलका बूढापाकाहरूले; ‘यो जेनजी पुस्ता अल्छे पुस्ता हो’। काम गर्न नै चाहँदैन, भन्दा जेनजी पुस्ताले पनि; ‘हाम्रो जमानामा, ए बूढा बा, बिहानी ९ देखि बेलुकी ५ सम्म होइन जहिले मन लाग्छ, त्यही बेला काम गर्ने जमाना हो’ भनेर जवाफ फर्काउँदा रहेछन्।

उहिले, हाम्रा अभिभावकहरूले सोच्ने गर्थे- ‘स्थायी जागिर पाइयो भने जीवन सुरक्षित।’ तर, जेनजी पुस्ता भन्दोरहेछ- ‘स्थायी जागिर भनेको त स्थायी तनाव! न तलब ठीक, त्यैमाथि बोसको चिकचिक र मुखभरिको गाली।’ कार्यालयमा कैदी बनेर होइन, वाई-फाई खोलेर स्वतन्त्रतामा काम गर्ने चाह राख्छ जेनजी पुस्ता। मेरो नै बहिनी अस्मृति, भनिरहेको हुन्छ, आईटी सेक्टरमा प्रवेश गर्ने प्रोग्रामरलाई दिन-रात खटेर पनि तलब भने एक ज्यान धान्नेजति मात्र हुन्छ, जीवन मुश्किलले बाँच्ने त होइन नि! बरू टिकटकमा लिपसिङ गर्ने, युट्युबमा हँसाउने भिडियो हाल्ने, त्यहींबाट आम्दानी बढी भइहाल्छ नि !

सामाजिक सञ्जालले सबैलाई कस्तो पैसा कमाउने, ठूलो अनि फराकिलो बाटो खोलिदिएको छ त शैली दी, त्यहाँ राम्ररी ३० सेकेण्डको नृत्य गर्दा पनि गाडी किन्ने पैसा आउँछ, अझ कतिले त, हास्यमय भिडियोबाट घर किन्न पुगिसकेका छन्। कहाँ तपाईं जस्तो दिनरात अफिसको टेबलपछाडि बसेर तलब कुरिबस्नु, भविष्यमा म त सिर्जनात्मक स्वतन्त्रतासित काम गर्छु र पैसामा खेल्छु, आखिर अबको आउँदो पुस्ताको भविष्य यसैमा त छ।

यसो सोच्दा त, हो जस्तो पनि लाग्छ, कतिपय मैले चिनेका जेनजी पुस्ताकाहरू काम अनि जीवनको सन्तुलनलाई अत्यन्तै सुन्दर तौरमा मिलाएर स्वतन्त्रतासित उन्नत जीवन बाँचिरहेका छन्।

तर, मसित हुर्किरहेको जेनजी पुस्ताको अस्मृतिचाहिं चाहिंदोभन्दा ज्यादै भावुक छे, आज उसको अभिभावक बन्ने क्रममा ढिलो के भाको! कलेजको गेटमा, अनुहार फुलाएर, मलाई कुरिबसेछ, अनि मलाई देख्नेबित्तिकै ‘जेनजी’ टोनको, त्यो खिन्न आवाजमा, भन्न लागी- ‘क्या हो दी! तपाईं त साह्रै पुरानो पुस्ता जस्तै हुनुभएछ। हाम्रो पुस्ता जस्तो डिजिटल स्पीडमा त हिंड्न नै सक्नुहुन्न रहेछ।’

यति भनेर, अस्मृतिले गोजीबाट फुत्त मोबाइल निकालिहाली अनि तनावसित छिटोछिटो केही बेर मोबाइल स्क्रिनलाई हेरिबसी अनि एक प्रकारको जबरन उब्जाएको मुस्कानसित फोनमा हेर्दै बोल्न लागिन्- ‘प्रिय फलोअर्स, आज मेरो मिलेनियल पुस्ताकी दिदी, मेरो अभिभावक बनेर, कलेजको अभिभावक-शिक्षक भेटघाटमा ढिलो आइन्। मेरो पालो त धेरै अघि नै सकिसकेको थियो। अबचाहिं मेरो पूरै मूड बिग्रिएको छ।’

त्यो सुन्दा मलाई झिनो हाँसो पनि उठ्यो, तर मनभित्र भने सोच्न लागें- ‘साँच्चै, पुस्तापुस्ता बीचको तालमेलमा फरक हुँदोरहेछ। म समयलाई आफ्नै ढङ्गले सम्हालिरहेकी थिएँ, तर अस्मृतिचाहिं आफ्नो क्षणलाई मोबाइल स्क्रिनमा बाँडेर बाँचिरहेकी थिई।’ अस्मृतिलाई शान्त पार्ने भेउमा मैले, उसलाई आचार्य प्रशान्तले सुनाइरहने कथा सुनाउन थालें; ‘प्रिय बहिनी! सुन, एउटा मोटे मान्छे रेल छुट्ला कि भनेर धेरै हतारमा दौडिरहेको थियो। ऊ ढिलो भइसकेको थियो, तर अझै छटपटाइरहेको थियो। बाटोमा भेटिएको साथीलाई समेत उसले रिसाउँदै भन्यो- ‘तिमीले नै रोकेर मलाई ढिलो गरायौ।’

दौडँदै गर्दा उसको सुटकेसबाट कपडा पनि झर्न थालिसकेका थिए, तर ऊ त अझै दौडिरहेको थियो। मानौं, रेल छुट्यो भने जीवन नै सकिन्छ।

तर त्यही हतारमा ऊ लड्यो र त्यहीं उसको जीवनको अन्त्य पनि भयो। प्रिय अस्मृति, जति हतार गरे पनि अन्त्यमा मृत्यु त निश्चित छ। त्यसैले जीवनको अर्थ भनेको हतार होइन, शान्त भएर रमाइलो गरी बाँच्नु हो।

बहिनी अस्मृति के भएकी, कोटको गोजीबाट मोबाइल निकालेर, फेरि त्यहीं इन्स्टाग्राम भिडियो बनाउँदै, भनिरहेकी छ- ‘प्रिय फलोअर्स! अब साँझको मीठो दार्जीलिङे चियाको चुस्कीसित, मेरो पनि मूड ठीक भयो है !’

‘अस्मृति! आज म ढिलो भएँ, त्यसको पीडा मलाई पनि छ। तर, के थाह छ तिमीलाई, कहिलेकाहीं ढिलो हुने मान्छेको बाटो सुन्दर हुन्छ। तिमी जस्तो छिटो-छिटो मोबाइल स्क्रिन स्क्रोल नगरे तापनि, म लेखिएका किताबको हरेक पानालाई ध्यान दिएर पढ्ने पुस्तामा पर्छु।’

मेरो कुरा सुनेपछि, उसले तुरून्तै खिसिक्क हाँस्दै भन्न थालिन्- ‘उफ्! दी! फेरि त्यही नीरस दार्शनिक कुरा। अहिले पुरानो कथा पढेर जीवन खोज्ने जमाना कहाँ बाँकी रह्यो र? अहिले त डिजिटल संसार बोल्छ। कृत्रिम संसार (मेटाभर्स) भित्र मान्छेहरू आफ्नो दोस्रो जीवन बाँचिरहेका छन्। टेस्ला कार आफैं चल्छ, अनि च्याटबोटहरूसँग मानिस साथी जस्तै गफ गर्छन्। दक्षिण कोरियामा कृत्रिम बुद्धिमत्ताले सिर्जना गरेको गायकले हजारौं दर्शक पाइसकेको छ। यान्त्रिक मानिस (रोबोट) बाट बच्चासम्म जन्माउने कुरा भइरहेको छ।’

उसको स्वरमा रमाइलोपन त अवश्य थियो, तर यी प्रवृत्तिहरू मेटाभर्स, स्पाटियल भिडियो र जेनरेटिभ एआईको आगमनसँगै अझ बढ्ने देखिन्छन्। अहिले मेटा र एप्पलले त्यस्ता हेडसेटहरू ल्याएका छन्, जसले प्रयोगकर्तालाई आफूले कल्पना गरेको संसारमा डुब्न उक्साउँछन्। त्यहाँ तीन-आयामिक पोर्न जसमा ‘सिद्ध’ तर असम्भव जस्ता देखिने शरीरहरू देखाइन्छन्, त्यो युवाहरूमा अझ बलियो लोभ जगाउने माध्यम पक्कै बनिसकेको छ।

जेनेरेटिभ एआईले पहिले नै भर्चुअल प्रेमिका र प्रेमीहरू उत्पादन गरिसकेको छ, जस्तै क्यारिन एआई, जुन २३ वर्षीया स्न्यापच्याट इन्फ्लुएन्सरको प्रतिकृति हो, जसले आफ्ना हजारौं घण्टाका युट्युब सामग्री प्रयोग गरेर सेक्सटिङ च्याटबोट बनाइन्। मानिसहरू पहिले नै यी बोटहरूसँग फ्लर्ट गर्दै, घनिष्ठ कुराकानी गर्दै पागलपनले प्रेममा पर्न थालेका छन्। जेनरेटिभ एआईको व्यक्तित्व जति सुधारिंदै जान्छ र यौन-रोबोटहरू वा सेक्स डलहरूमा प्रत्यारोपण हुँदै जान्छ, त्यति नै धेरै विषमलिङ्गी पुरुषहरूले हिकिकोमोरी जीवनशैली (एकान्तमा बस्ने बानी) रोज्न सक्छन्। प्रोग्राम गर्न सकिने मेकानिकल प्रेमिका वास्तविक जीवनमा डेटिङ एप्समा हजारौं ‘लेफ्ट स्वाइप’ भोग्नुभन्दा बढी आकर्षक लाग्न सक्छ। वास्तविक जीवनमा केटीलाई भेटेर बोल्ने वा डेटमा बोलाउने सामाजिक जोखिम सामना गर्नुभन्दा यो सजिलो हुने देखिन्छ। तर यिनै जोखिमहरू वास्तवमा जवान पुरुषले लिनुपर्ने स्वस्थ अभ्यास हुन्, जसले उनीहरूलाई अझ सक्षम र सफल प्रेमी बनाउन सक्छ।

अहो! झन् रोबोटले बच्चा जन्माउने दिन आयो भने, यो प्राकृतिक संसार कस्तो देखिन्छ होला नि ? कृत्रिम कोख (प्लासेण्टा) भित्र रोबोट आमाले कार्बनडाइअक्साइड बढ्दा अक्सिजनको मात्रा नियन्त्रण गरेर, पौष्टिकता भने कृत्रिम अम्नियोटिक तरल मार्फत बच्चालाई दिन सक्ला। तर त्यस्तरी जन्मिने बच्चालाई ‘मानवीय ममता’ को स्वाद रोबोट आमाले कहाँबाट दिन्छ होला नि? रोबोट आमा त आफैं भावनाविहीन छे, उसले कसरी जन्म दिने मानव आमाको प्रसव पीडाको अर्थ बुझ्ला ?

शल्यक्रिया त रोबोट आमाले नौ महिना पूरा भएको गर्भको आफैं गरिदेला, तर बच्चा जन्मिएपछि रोबोट आमाले फलामे हातले ‘ट्याप-ट्याप’ हिर्काउँदै, बच्चालाई रूवाउन खोज्दा त्यो रूवाइ पनि यन्त्र जस्तो मात्र सुनिने हो कि ? अहो, कस्तो अचम्मको भविष्य !

रोबोटलाई मानिसले बनाए, तर आज मान्छेलाई नै रोबोट बनाउन खोजिरहेछ। यो त डिजिटलीकरणको उन्नति मात्र होइन, प्रकृति विरुद्धको पहिलो युद्ध हो। मानव जातिले आफैंमाथि मेशिनी प्रहार गरेको हो। कति ठूलाठूला युगहरू यसरी नै अन्त्य भए। साम्राज्यहरू ध्वस्त भए।

इतिहासले देखाइसकेको कुरा हो- जति नै मान्छेको कृत्रिम बुद्धिमत्ताले रचेको कृत्रिम संसारले उन्नति गरे तापनि, त्यो प्रकृतिसँग कहिल्यै जित्न सक्दैन। कारण, प्रकृति नै शाश्वत सत्य हो। उसैमा जीवन बोल्छ। नयाँ पुस्ताले केवल खुला आँखाले देखिने चीजमा विश्वास गर्छ। यसो हो भने, घाम हरेक दिन उदाउँछ र अस्ताउँछ र जून भने प्रत्येक रात आकाशमा टल्केर पृथ्वीलाई निहारिरहन्छ। आखिर, सूर्यको उज्यालो विना हाम्रो जीवन सम्भव नै छैन। पृथ्वीमा बग्ने पानी नै हाम्रो शरीरभित्र ७५ प्रतिशत भएर नसा-नसामा रगतसित मिसिएर बगिरहन्छ। यो संयोग त पक्कै होइन, प्रकृतिले नै तय गरेको अद्भुत चमत्कार हो। तर यो तथ्यले, अस्मृति जस्ता युवामनमा बास पाउन नसक्ला वा त्यसले ज्यादै समय लिन पनि सक्ला।

हेर्नुहवस् न प्रिय पाठक, बहिनी अस्मृति के भएकी, कोटको गोजीबाट मोबाइल निकालेर, फेरि त्यहीं इन्स्टाग्राम भिडियो बनाउँदै, भनिरहेकी छ- ‘प्रिय फलोअर्स ! अब साँझको मीठो दार्जीलिङे चियाको चुस्कीसित, मेरो पनि मूड ठीक भयो है !’

उफ् यसरी इन्स्टाग्रामको पर्दामा किरदार बन्न रमाउने मानसिकतालाई कसरी प्रकृतिको शाश्वत उज्यालोतर्फ लैजाने हो, शायद यही पो आजको युगको सबैभन्दा ठूलो चुनौती हो कि? पुरानो पुस्ताले जीवनमा सत्य खोज्थे, दर्शनमा रमाउँथे। तर नयाँ पुस्ताले भने डिजिटल धुनमा आफ्नो सत्य खोजिरहेका छन्। अनलाइन तालसँगै नाच्दै अनि अफलाइन मनमै बाँच्दै- शायद यही हो नयाँ पुस्ताको कथा ।

लेखक
शैलीका क्षेत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?