+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चाउचाउ माग्दै सेटमा बबाल मच्चाउने सलोन यसरी बने हिरो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ११ गते ११:१०

२०५६ सालमा प्रदर्शित फिल्म ‘नेपाली बाबु’ हेरेका दर्शकलाई त्यसको एउटा दृश्य पक्कै सम्झना होला । त्यो दृश्यमा पति-पत्नीको भूमिकामा रहेका भुवन केसी र जल शाहबीच झगडा पर्छ ।

उनीहरुको एक छोरा हुन्छन्, राजु । झगडाले उग्र रुप लिएपछि आमा घर छाडेर हिँड्न ठिक्क पर्छिन् । ढोकानेरै निन्याउरो मुख लगाएर उभिएको छोरा राजुले रुँदै भन्छन्, ‘आमा, हामीलाई छाडेर नजानूस् न ।’

तैपनि, आमा मान्दिनन् र छोरालाई एक्लै छाडेर घरबाहिर रोकिराखेको कारमा चढ्छिन् । कारमा चढ्ने क्रममा आमाको साडीको एक टुक्रा ढोकाबाहिरै लत्रिन्छ । जब कार हुइँकिन्छ, राजु रुँदै, चिच्याउँदै आमालाई पच्छ्याउँछन् र त्यही लत्रेको साडीको फेरो समाउँछन् ।

दर्के झरीको दृश्यमा सानो बच्चा आमाको साडीको फेरो समातेर हिलोमा चिप्लिदै कारकै पछिपछि घिसारिएको दृश्य साँच्चिकै मार्मिक छ । अझ, बच्चाको अभिनय कति स्वाभाविक र कारुणिक छ भने दर्शकको आँखामा आँशु छचल्किन्छ ।

भुवन केसीका ती अनस्क्रिन छोरा राजु अरु कोही होइनन्, अहिलेका अभिनेता सलोन बस्नेत हुन् । त्यतिबेला सलोन ६ वर्षका थिए ।

‘त्यो रातिको सुटिङ थियो,’ सलोन फ्ल्यासब्याकमा फर्किन्छन्, ‘पानीमा भिज्दै आमालाई पच्छ्याउनुपर्ने । एकदमै जाडो भयो ।’

छायांकनका क्रममा पानीमा निथ्रुक्क भिजाएर कारकै पछिपछि दौडाउँदा फुच्चे कलाकार सलोनलाई निकै जाडो भएछ । उनी साँच्चै रुन थालेछन् । रुँदै भए पनि उनले अभिनय भने छाडेनन्, ‘आमा….आमा..’ भन्दै चिच्याइरहे । फिल्मको त्यो दृश्य निकै कारुणिक बन्यो । किनभने, सलोनको चिच्याहट वास्तविक थियो ।

‘सुटिङ स्पटमा आगो बालिएको थियो,’ सलोन सम्भिmन्छन्, ‘मेरो सिन सकिनासाथ आगो ताप्न लगिन्थ्यो ।’

चाउचाउ र चुइगम

सुटिङस्पटमा सलोनलाई कहिले चाउचाउ त कहिले चुइगम नभई नहुने । उनी सेटमै बबाल मच्चाउँथे र छायांकन रोकिन्थ्यो

पर्दाका तिनै ‘राजु’ कालान्तरमा हिरो बने । आज आएर ती दिन सम्झँदा सलोन रोमाञ्चित हुन्छन् । हुन पनि, कम्ति रोचक छैनन्, सलोन बाल कलाकार हुँदाका सम्झना ।

एक पटक पोखराको कुनै गाउँमा सुटिङ थियो । श्रीकृष्ण श्रेष्ठ, निरुता सिंहको मूख्य भूमिका रहेको फिल्म, ‘आफन्त’को ।

‘मेरो सिन थियो । कसो-कसो मेरो आँखा भान्सामा पुग्यो । त्यहाँ श्री अंकल र निरुता आन्टी चाउचाउ खाइरहनुभएको थियो । अन्डा राखेर प|mाइ गरिएको । हेर्दै खाउँखाउँ लाग्ने,’ सलोन सम्झिन्छन् ।

अब उनलाई अन्डा र चाउचाउ फ्राइ खान मन लागिहाल्यो । उनी स्पटबाट दगुर्दै भान्सामा पुगे । भान्सेले भने, ‘चाउचाउ त सकियो बाबु ।’

सलोनले जिद्दी गरे, ‘मलाई त्यस्तै अन्डा, चाउचाउ चाहिन्छ ।’

तर, चाउचाउ भए पो ?

आसपासमा पसल पनि थिएन । पसल आउजाउ गर्न आधा घण्टा लाग्ने । सलोनलाई फकाउन अनेक यत्न गरियो । तर, सबै बेकार । सलोन मान्दै नमान्ने । उनी रुन थाले ।

आखिरमा आधा घण्टा सुटिङ रोकेर भए पनि उनलाई चाउचाउ ख्वाउनैपर्ने भयो । चाउचाउ मगाइयो । अन्डा र चाउचाउ फ्राइ गरेर खाएपछि मात्र सलोन फुरुंग भए । उनी खुशी हुँदै क्यामेरा अघिल्तिर उभिए ।

सानोमा सलोनको खल्तिमा चुइगम अनिवार्य हुनैपथ्र्यो । पाँच रुपैयाँमा आउने, बनाना चुइगम । एउटा प्याकेटमा पाँच वटा चुइगम हुन्थ्यो ।

काभ्रेको कुनै ठाउँमा सुटिङ थियो । सलोनको खल्तिमा भने चुइगम रित्तिएछ । अब उनलाई क्यामेरा अघिल्तिर उभिनुअघि चुइगम चाहियो । उनी चुइगम खोज्न थाले, भेटिएन ।

आखिरमा उनले घुर्की देखाउन थालिहाले । क्यामेरा अगाडि जाँदै गएनन् । अब उनलाई चुइगम नदिई भएन । कसैले एक प्याकेट चुइगम ल्याइदिए । उनले खुशीसाथ त्यो खल्तीमा हाले र क्यामेरा अघिल्तिर उभिए ।

मनपर्दैनथ्यो, फिल्मको कुरा

उनी सानै थिए तर लोकपि्रय । सबैलाई ‘सलोन बस्नेत’को नाम कण्ठ हुने नै भयो । सलोनको अनुहारले सानो उमेरमै सेलिब्रेटी फेम पायो । उनी आफ्ना सहपाठीमाझ हिरो थिए । तर, उनलाई हिरो भनेको मन परे पो !

स्कुलमा सहपाठीहरु भन्थे, ‘तैंले पनि फिल्म खेलेको है ?’

शिक्षकहरु अभिनयको कुरा गर्थे । कुनै जमघटमा उनी घेराबन्दीमा परिहाल्थे । फिल्म नै नबुझी फिल्मी माहोलमा मिसिएका सलोन ‘फिल्मको कुरा’ सुन्दा दिक्क मान्थे । घर, स्कुल, स्पट जताततै फिल्मकै कुरा भएर होला, उनलाई झर्को लाग्थ्यो ।

‘मलाई फिल्मको कुरा गरेको मनै पर्दैनथ्यो,’ सलोन सम्झिन्छन्, ‘फिल्मको कुरा गर्दा एक किसिमको इरिटेट फिल हुन्थ्यो ।’

सलोनको मुड बुझेपछि भने स्कुलमा शिक्षक, सहपाठीले कसैले पनि उनीसँग फिल्मको कुरा गर्न छाडिदिए ।

‘फिल्मको कुरा गर्नासाथ म रिसाएर हेरिदिन्थें,’ सलोन भन्छन्, ‘त्यसपछि सबै चुप ।’

जम्दैछ, छोरो पुस्ता

अनमोल केसीलाई अचेल ‘भुवन केसीको छोरा’ भनेर चिनाइरहनुपर्दैन । संयम पुरीको व्यक्तित्वमा अब ‘नारायण पुरीका छोरा’ भन्ने थप विशेषण झुण्ड्याइरहनु जरुरी छैन । अनि, गौरव पहारीलाई पनि ‘टीका पहारीका पुत्र’ भनिरहनु पर्दैन ।

हो, ठीक यसैगरी सलोन बस्नेतले पनि आफ्नो बेग्लै परिचय बनाइसकेका छन् । आफूलाई चिनाउन या टिकाउन अब उनले ‘निर्देश्ाक सोभित बस्नेतका छोरा या अभिनेता जयकिशन बस्नेतका भतिजा’को टेको लिइरहनुपर्दैन ।

पछिल्लो समय नेपाली फिल्ममा एकातिर रंगमञ्चको पृष्ठभूमिबाट नयाँ-नयाँ हिरोहरु जन्मिरहेका छन् भने अर्कातर्फ पूराना कलाकर्मीको दोस्रो पुस्ता पनि समानान्तर पदार्पण भइरहेको छ । यो पंक्तिमा अनमोल, सलोन र संयमसम्म छन् । उनीहरु एकअर्काका मिल्दा साथी पनि हुन् ।

‘हामी चार जना मिल्ने साथी हौं,’ सलोन भन्छन्, ‘हामी आपसमा सुख, दुःखका अनुभव सेयर गर्छौं ।’

उनीहरु आपसमा दैनिक हालखबर सोध्छन्/बुझ्छन् । हिरोका कुरा गर्छन्, अभिनयको कुरा गर्छन्, सिनेमाको कुरा गर्छन् । उनीहरु आफैं हिरो । उनीहरुको हिरोचाहीं को होला ?

‘सौगात मल्ल,’ सलोन थप्छन्, ‘सौगात दाइको एक्टिङ हामीलाई मन पर्छ । दयाहाङ दाइको पनि ।’

क्यारेक्टरमै भिज्छन्

बाल कलाकारका रुपमा चर्चित भए पनि सानोमा सलोनलाई कसैले फिल्मको कुरा गर्‍यो कि रिस उठिहाल्थ्यो

फिल्म ‘पशुपतिप्रसाद’मा ‘भष्मे’को चरित्र विपिन कार्की आफैंले डिजाइन गरेका हुन् । स्क्रिप्टभन्दा एक कदम अगाडि बढेर उनले आफ्नो क्यारेक्टरलाई कति घतलाग्दो बनाए भने त्यसले हिरो बराबरकै ख्याति पायो ।

सलोनको तरिका पनि करिब यस्तै छ । उनी आफूले पाएको क्यारेक्टरलाई जतिसक्दो परिपक्व र स्वाभाविक बनाउने यत्न गर्छन् । सोही कारण उनी जुन भूमिकामा रहन्छन्, त्यस अवधिमा उनी फरक हुन्छन् ।

क्यारेक्टरजस्तै हुन्छन् । कहाँसम्म भने आफ्नो क्यारेक्टर र समयक्रममा त्यसको मनोवृत्ति एवं चालढाल कसरी फेरिन्छ भन्नेसमेत उनी हेक्का राख्छन् ।

‘सिन परिवर्तनसँगै त्यो क्यारेक्टरमा कति फरकपन आउनुपर्छ भन्ने कुरामा ध्यान दिन्छु,’ सलोन भन्छन्, ‘म आफ्नो क्यारेक्टरमा सकेसम्म भिज्न खोज्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?