+
+

एसईई परीक्षा आजदेखि सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते ९:१७

१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार ९ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी छन् ।

काठमाडौंको टेकुस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी परीक्षा केन्द्र प्रमुख रविना महर्जनले परीक्षाकेन्द्रमा सबै विद्यार्थीलाई भयरहीत वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएको बताइन् । उनले भनिन्, ‘हाम्रो परीक्षा केन्द्रलाई हामीले हिजो नै तयारी गरिसकेका थियौँ । आजबाट बिहानैदेखि माध्यामिक शिक्षा परीक्षा शुरु भइसकेको छ । हामीले मर्यादित र अनुशासित हिसाबले परीक्षा चलाउने वातावरण सिर्जना गर्न गइरहेका छौँ । विद्यार्थीहरुलाई भयरहीत वातावरणमा लेख्न सकुन् भनेर शिक्षकहरुलाई त्यो वातावरण बनाउन भनेको छु ।’

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?