 
																			नेपालमा हामीले अनुसन्धान के हो र कसरी गरिन्छ भनेर अझै पनि राम्रोसँग आत्मसात् गर्न सकिरहेका छैनौं । हाम्रा लागि अनुसन्धान भनेको विद्युतीय सामग्रीहरू जडान गर्नु, कुनै मेसिन बनाउनु, कारखाना सञ्चालन गर्नु, ड्रोन उडाउनु जस्ता क्रियाकलाप मात्र हुने गरेका छन् । अनुसन्धान गर्नु भनेको अरूले नै बनाएको कुराको नक्कल गरेर त्यसकै नमूना बनाउनु त झन् हुँदै होइन ।
कुनै विषयमा अनुसन्धान गर्नु भनेको हाम्रो समाजमा उक्त विषयमा देखिएका समस्याको जरो पत्ता लगाउनु र त्यसको हल गर्ने उपाय सुझाउनु हो । अनुसन्धानको विषय उठान गर्नेदेखि त्यसको प्रक्रिया र नतिजा सबै तथ्यमा आधारित हुन्छन्। यसैगरी हामीले गर्ने अनुसन्धानहरूमध्ये कैयौं विषय कुनै समाज, देश तथा क्षेत्रका लागि मात्र विशिष्ट र मौलिक हुन्छन्।
नेपालका कैयौं समस्या हाम्रा लागि मौलिक छन्, यसका लागि समस्या समाधानका मौलिक उपाय पहिल्याउने खालको मौलिक विषयमा अनुसन्धान गर्नुपर्ने हुन्छ। यो आलेखमा अनुसन्धानको खास मर्म र नेपालका लागि आवश्यक अनुसन्धान कस्ता हुन सक्छन् भन्ने चर्चा गरिनेछ।
केही वर्षअघि हामीलाई कोभिडको महामारीले धेरै अप्ठ्यारोमा पार्यो। विश्वव्यापी रूपमा हाम्रो आपत्कालीन व्यवस्थापन अत्यन्त कमजोर रहेको देखियो। कोभिडको महामारीको उच्चतम विन्दुमा पुग्दासम्म पनि हामीले त्यति छिटो खोप लगाउन पाऔंला भनेर सोचेका थिएनौं।
सुरुवाती अवस्थामा त कोभिड भएको हो वा होइन भनेर निदान गर्न सक्ने कुनै प्रविधि समेत थिएन। तर, त्यसको केही महिनामै कोभिड परीक्षण गर्न सक्ने प्रविधिको विकास भयो। त्यसपछि अझ बढी भरपर्दो र विभिन्न प्रकारका परीक्षण विधिहरू उपलब्ध भए। क्रमश: कोभिडका फरक-फरक प्रकारका खोपहरूको विकास भयो।
प्रत्येक वर्ष हामीले इन्फ्लुएन्जा भाइरसको संक्रमणबाट बच्न लिने फ्लुको खोप जस्तै नियमित रूपमा कोभिडको खोप लगाउन सुरु गरेका छौं। यो विश्वका कैयौं राम्रा अनुसन्धान केन्द्रहरूमा भएको अनुसन्धानले सम्भव भएको हो। वैज्ञानिकहरू दिन-रात यसमा खटिए। संस्थाहरूदेखि सरकारले राम्रो अनुदानको व्यवस्था गरे र केही महिनाभित्रै कोभिडको टेस्ट गर्ने प्रविधि र कोभिड महामारी सुरु भएको लगभग एक वर्षभित्रमा यसको खोपको विकास गरे।
नेपालमा भने कतिले कोका-कोलाको बोतलमा पानी र रंग मिसाएर आफूले जडीबुटीको प्रयोग गरी कोभिड-१९ को औषधि पत्ता लगाएको उद्घोष गरे। कतिले बेसार-पानीको सेवनले कोभिडलाई जित्न सकिने दाबी गरे। नेपालीलाई कोभिड-१९ ले असर नगर्ने, नेपालीको रोग प्रतिरोग क्षमता अत्यन्त राम्रो भएको, गाईको गहुँतले कोभिड निको हुने जस्ता कुनै वैज्ञानिक आधार नभएका कुराहरूबाट सामाजिक सञ्जाल भर्यौं।
तर विज्ञान प्रविधिको विकास गरेका देशले यसको अनुसन्धानमा लगानी गरे, यसको परीक्षण विधि र उपचारको विकास गरे जसबाट पूरा विश्व लगायत हामीहरू पनि लाभान्वित छौं।
कोभिडको असर अझै सकिएको छैन। विकसित राष्ट्रहरूले अहिले ‘लङ कोभिड’ को अनुसन्धान गरिरहेका छन्। कोभिडबाट संक्रमित भएका व्यक्तिहरूमा यसको असर रहिरहने देखिएकोले कोभिड भाइरसको संक्रमणले हाम्रो स्वास्थ्यमा पछिसम्म पर्न सक्ने असर पत्ता लगाउन र त्यसको निरूपण गर्न ‘लङ कोभिड’ को अध्ययनले सहयोग पुग्ने विश्वास गरिएको हो।
हामीले कोभिडको खोप लगाउन पायौं भनेर ढुक्कसँग बस्दै गर्दा विकसित राष्ट्रहरू लङ कोभिडको अनुसन्धानबाट हाम्रो शरीरमा लामो समयसम्म रहिरहने प्रतिकूल असरको गहिरो अध्ययनमा लगानी गरिरहेका छन् र नयाँ तथ्यहरू बाहिर ल्याइरहेका छन्।
अहिले नेपालमा ४०-५० प्रतिशत सटरहरू खाली भइरहेको समाचारहरू आइरहेका छन्। तर कुन शहर, प्रदेश वा जिल्लामा कति प्रतिशत सटरहरू खाली भइरहेका छन्, कुन प्रकारको व्यापारहरू सबैभन्दा प्रभावित छन् वा कुन प्रकारको र कुन ठाउँको व्यापारले राम्रो मुनाफा दिइरहेको छ ? व्यापार राम्रोसँग चल्न नसक्नुका कारण के हुन् ? जस्ता कुराहरू अन्य देशको अनुसन्धानले पत्ता लगाउन नसक्ने समस्या हुन्।
यी समस्याहरू हाम्रा लागि मौलिक हुन्, र यसको उत्तर पत्ता लगाउनका लागि हामीले नै अध्ययन गर्नुपर्ने हुन्छ। यी प्रश्नहरूले हामीलाई हाम्रै देशका साना तथा मझौला व्यवसायहरूलाई अझ बलियो बनाउन र रोजगारी बढाउने नीति तर्जुमा गर्न ठूलो सहयोग गर्छ। त्यसैले अबका हाम्रा नीतिहरू अनुसन्धानको नतिजा र प्रमाणमा आधारित हुन् भन्ने गरिएको हो।
केही वर्ष पहिला स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटा पित्त थैलीमा देखिने कोलान्जियोकार्सिनोमा नामक क्यान्सरबाट बिते। यो क्यान्सर नेपाली र दक्षिण एशियामा प्रमुख ५ मध्येमा पर्छ तर अन्य विकसित देशमा यो क्यान्सर प्रमुख २० भित्र मात्र पर्छ। त्यसैले पित्त थैलीको क्यान्सर नेपाली वा दक्षिण एशियामा बढी हुनुमा कुनै वंशानुगत वा अन्य जीवनशैलीसँग सम्बन्धित कारण हुनुपर्छ।
तर, भारतमा भैरहेको स-सानो अध्ययन बाहेक अझै पनि पित्त थैलीको अध्ययन राम्रोसँग गरिएको छैन। विकसित देशहरूमा पित्तथैली प्रमुख क्यान्सर नभएकोले उनीहरूले यो क्यान्सरको अध्ययनमा आफ्नो धेरै स्रोत खर्च गर्दैनन्, किनकि उनीहरूको प्राथमिकतामा अन्य रोगहरू लगायत अरू नै प्रकारको क्यान्सरहरू छन्।
त्यसैले पित्त थैलीको क्यान्सरको अनुसन्धान नेपालको लागि अत्यन्त महत्वपूर्ण हुने भएकोले हाम्रो प्राथमिकता पित्तथैलीको क्यान्सरको अनुसन्धान गरेर यसको रोकथाम, परीक्षण र उपचार विधिको विकास गर्नु हो। यसका लागि सरकारले आफ्ना देशका नागरिकमा भएको रोगहरूको स्थिति हेरेर त्यसै अनुसारको अनुदान छुट्याउने र अनुसन्धान गर्ने नीति लिनुपर्ने हो।
केही दशकदेखि नेपालीहरू खाडी मुलुकमा रोजगारीको लागि गइरहेका छन्। खाडीमा रोजगारी गरेर रेमिट्यान्स पठाउने एउटा सिंगो पुस्ता बनिसकेको छ। खाडी मुलुकमा रोजगारी गर्न जाने अधिकांशले धेरै वर्ष चर्को घाम र प्रतिकूल अवस्थामा काम गरिरहेका छन्। कैयौं युवाले ज्यान गुमाएर उनीहरूको लास फिर्ता आएको हामीले देखिरहेका छौं।
सन् २०२३ मा खाडी मुलुकबाट फर्केका ६० जना र वैदेशिक रोजगारीबाटै फर्केका धनुषा जिल्लाका ७१८ जना नेपालीमा गरिएको अध्ययनमा उनीहरू मोटोपन, मिर्गौला रोग, उच्च रक्तचाप, रुघाखोकी, न्यूमोनिया, ढाड-दुख्ने जस्ता शारीरिक र अन्य मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको देखिएको छ। यो अत्यन्त सानो र सीमित जनसंख्यामा गरिएको अध्ययन हो।
यसकारण छुटेको अर्को महत्वपूर्ण पाटो के छ भने हामीले खाडी मुलुकमा काम गरेर फर्केका नेपालीको समष्टिगत स्वास्थ्य स्थिति र उमेर बढ्दै गएपछि उनीहरूमा देखिएको जोखिमबारे गतिलो अनुसन्धान गर्न ढिलो भइसकेको छ।
सन् १९६९ मा भियतनाम युद्धमा धेरै सैनिकको मृत्यु मलेरिया रोगको कारणले भएपछि चिनियाँ सरकारले मलेरियाको अनुसन्धान सुरु गर्यो। अनुसन्धान टोलीमा चिनियाँ महिला वैज्ञानिक तुयुयु पनि थिइन्, जसले जडीबुटी प्रयोग गरी परम्परागत चिनियाँ औषधिकै प्रयोग गरेर मलेरियाको औषधि बनाउने अनुसन्धान गरिन्। तिनै वैज्ञानिक तुयुयुले सन् १०१५ मा नोबेल पुरस्कार प्राप्त गरिन्।
यी माथिका उदाहरणको सार के हो भने, कुनै पनि देशमा सरकारी तहबाटै फराकिलो र दिगो सोच राखेर देशकै समस्याहरू हल गर्नका लागि अनुसन्धान सुरु नगर्ने हो भने विज्ञान, प्रविधि र इनोभेसनको यो युगमा देशले अहिलेको बदलिंदो विश्वसँग प्रतिस्पर्धा गर्न असम्भव नै छ। साथै नेपालमा अहिले अधिकांश हामीले सोचे जस्तो अन्य देशमा विकास भइसकेको विद्युतीय उपकरणको सानो नमूना बनाएर त्यसलाई नै आविष्कार मान्ने सोचलाई परिवर्तन गर्न जरूरी छ।
विज्ञान र प्रविधि बाहेक पनि हाम्रो देशका रीतिरिवाज, संस्कृति, कला, साहित्यदेखि वातावरण, कुपोषण, सडक दुर्घटना, लैंगिक विभेद जस्ता अन्य कैयौं विधामा अनुसन्धानको खाँचो छ। अनुसन्धानबाट आएको निचोडको आधारमा हाम्रा नीति तर्जुमा गर्न सक्यौं भने मात्र हाम्रा नीति र विधिहरू समयसापेक्ष र जनमैत्री हुनेछन्।
(पंगेनी अमेरिकाको नोभा साउथइस्टर्न विश्वविद्यालय तथा नेपालस्थित नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) सँग आबद्ध छन्।)
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4