+
+
Shares

डिजिटल र शैक्षिक उपनिवेशवादको जमानामा अखिलको कार्यभार

अखिलले सबैभन्दा पहिले स्वीकार्नु पर्ने सत्य हो- हामीले डिजिटल र शैक्षिक उपनिवेशवादलाई समयमा नै बुझ्न सकेनौं। डिजिटल उपनिवेश र शैक्षिक पलायनको कटु यथार्थ बुझ्न सकेनौं ।

समिक बडाल समिक बडाल
२०८२ कात्तिक ७ गते १०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले डिजिटल उपनिवेशवाद र शैक्षिक पलायनलाई समयमा बुझ्न नसकेको स्वीकार गरेको छ।
  • नेपालमा १९.८ प्रतिशत युवा बेरोजगार छन् र दैनिक करिब ३,००० युवा वैदेशिक रोजगारका लागि विदेश गइरहेका छन्।
  • अखिलले राष्ट्रिय पाठ्यक्रमलाई स्वदेशी र आत्मनिर्भर बनाउने, डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने र नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना बनाएको छ।

नेपालको विद्यार्थी आन्दोलन, विशेष गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) को गौरवशाली इतिहास राणाशासन, पञ्चायत र निरङ्कुश राजतन्त्र विरुद्धका हरेक क्रान्तिको अग्रपंक्तिमा उभिएको छ। २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलनदेखि ०६२/०६३ को जनआन्दोलनसम्म, विद्यार्थी शक्तिले दलीय राजनीतिलाई जीवन दियो र लोकतन्त्रको दीप जलायो। तर, आज त्यो ऐतिहासिक संगठन गम्भीर आत्मसमीक्षाको चौबाटोमा उभिएको छ।

हाम्रो संघर्षको स्वरूप परिवर्तन भएको छ : सडकको भौतिक मोर्चाबाट अब यो विचार, चेतना र डिजिटल उपनिवेशको अदृश्य मोर्चामा सरेको छ। यो युगमा, अखिलले आफ्नो विगतको गौरवलाई मात्र होइन, वर्तमान कमजोरी र जेनजी पुस्ताको मनोविज्ञानलाई बुझेर पुनर्जन्मको सङ्कल्प लिनैपर्छ।

अखिलले सबैभन्दा पहिले स्वीकार्नु पर्ने सत्य हो- हामीले डिजिटल र शैक्षिक उपनिवेशवादलाई समयमा नै बुझ्न सकेनौं। डिजिटल उपनिवेश र शैक्षिक पलायनको कटु यथार्थ बुझ्न सकेनौं ।

विद्यार्थी पलायनको भयावह तथ्याङ्क

नेपालको सबैभन्दा ठूलो दुर्भाग्य भनेको युवाशक्तिको तीव्र पलायन हो। राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको युवा (१६-४० वर्ष) जनसंख्या करिब ४२.५६ प्रतिशत छ, जुन देशका लागि विशाल ‘जनसांख्यिक लाभ’ (डेमोग्राफिक डिभिडेन्ड) हुनुपर्थ्यो। तर, अहिले नेपालमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन्, जबकि लाखौं युवा हरेक वर्ष विदेश पलायन भइरहेका छन्।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा दैनिक करिब ३,००० को हाराहारीमा युवाहरू श्रम स्वीकृति लिएर विदेश गइरहेका छन्। यो तथ्याङ्कले स्पष्ट पार्छ- हाम्रो शिक्षा प्रणालीले देशमा टिक्ने जनशक्ति तयार गर्न सकेन, बरू ‘विदेश निर्यात गर्ने प्रयोगशाला’मा परिणत भयो।

शक्तिकेन्द्रका काउन्सिलहरूको सक्रियता

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूमा ‘देशमा भविष्य छैन’ भन्ने निराशा फैलाउनमा विदेशी शक्तिकेन्द्रका दूतावास र उनीहरूसँग सम्बद्ध ‘काउन्सिल’ हरूको भूमिका अदृश्य र सक्रिय छ। उनीहरूले ‘सुशासन’, ‘नेतृत्व विकास’ वा ‘उच्च शिक्षा’ को आवरणमा नेपाली युवाशक्तिलाई पश्चिमा बजारको उपभोक्ता र सस्तो श्रममा बदल्ने वैचारिक बीउ छर्दैछन्।

जब अखिलले यसको विरुद्ध आवाज उठाउन खोज्छ, तब ‘यो त राजनीति हो’ भन्ने भाष्य स्थापित गरिन्छ। यो भाष्य तत्काल अन्त्य हुनैपर्छ। राष्ट्रिय हित, शैक्षिक गुणस्तर र युवाको भविष्यको वकालत गर्नु ‘राजनीति’ होइन, यो ‘चेतनाको जागरण’ र ‘राष्ट्रप्रेम’ हो। अखिलले यो कमजोरी स्वीकारेर अब यी काउन्सिलहरूको भ्रामक जालोलाई वैचारिक रूपमा चिर्ने तागत देखाउनुपर्छ।

डिजिटल सार्वभौमिकतामाथि मौनता

विश्वका विशाल फेसबुक (मेटा) र एआई कम्पनीहरूले नेपाली समाजको डाटा, सूचना र सोचमाथि एकाधिकार जमाउँदा, अखिलले ‘बाइकट फेसबुक! बाइकट एआई! पे योर ट्याक्स वो!’ जस्ता स्पष्ट नारासहित वैचारिक मोर्चा खोल्न सकेन। यो मौनता शैक्षिक र डिजिटल उपनिवेशवादलाई स्वीकार्नुसरह हो। अब यो चेतना जाग्नुपर्छ र डिजिटल एकाधिकार विरुद्धको लडाइँलाई राष्ट्रिय प्राथमिकतामा राखिनुपर्छ।

जेनजीको जागरण र अखिलको रूपान्तरण

जेनजी (सन् १९९७ पछि जन्मेको पुस्ता) प्रविधि र सूचनाको महासागरमा हुर्केको छ। यो पुस्ता भावनामा होइन, ‘प्रमाण (डेटा)’, ‘पारदर्शिता’ र ‘तर्क’ मा विश्वास गर्छ। उनीहरू राजनीतिक दल र पुराना संगठनका ‘हल्ला’ र ‘बन्द’ बाट टाढा छन्, तर भ्रष्टाचार र अन्यायविरुद्ध आन्दोलन गर्न डिजिटलरूपमा एकताबद्ध हुन सक्छन्। अखिलको रूपान्तरणका सूत्र यी हुन सक्छन् :

.आत्मसमीक्षा र क्षमायाचना: अखिलले विगतमा भएका जनधनको क्षति र अराजकता रोक्न नसकेकोमा विद्यार्थीमाझ माफी माग्दै अब आफूलाई ‘हिंसा रोक्ने सचेत शक्ति’ का रूपमा रूपान्तरण गर्नुपर्छ। गल्ती स्वीकार्न सक्ने संगठन मात्रै जेनजी पुस्ताको विश्वास पुनःआर्जन गर्न सक्छ।

. वैचारिक प्रतिरक्षा प्रणाली  : जेनजीको विश्वास जित्न अखिलले अब ‘विपन्स’- अर्थात्, वैचारिक प्रतिरक्षा प्रणाली निर्माण गर्नुपर्छ। यो भनेको हल्ला, मिथ्यावाद र भ्रामक प्रचारलाई डेटा र प्रमाणमा आधारित तर्कद्वारा चिर्ने वैचारिक हतियार हो। विश्वविद्यालय र विद्यालयलाई ‘राजनीतिक अखडा’ होइन, ‘सकारात्मक आलोचनाका केन्द्र’ र ‘वैचारिक विमर्शका प्रयोगशाला’ बनाउनुपर्छ।

. दबाब होइन, सङ्गठित संवाद : जेनजी पुस्तासँग ‘दबाब’ भन्दा बढी ‘सङ्गठित संवाद’ र ‘साझेदारी’ आवश्यक छ। उनीहरूको डिजिटल कौशल र रचनात्मक ऊर्जालाई राष्ट्रिय अभियानमा जोड्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।

. विदेशी स्वार्थको पाठ्यक्रमको पुनरावलोकन : अखिलको पुनर्जन्मको सङ्कल्प ‘विनाश होइन, निर्माण’ तिर केन्द्रित हुनुपर्छ। यसको मूल आधार हाम्रो शिक्षा प्रणाली र पाठ्यक्रमको आमूल परिवर्तन हो। नेपालको पाठ्यक्रम तथाकथित ‘बुद्धिजीवी’ हरूद्वारा विदेशी अनुदान र बजारको माग अनुकूल तयार पारिएको छ। यसले विद्यार्थीलाई ‘नेपालमा काम लाग्दैन’ भन्ने मानसिकता दिई पलायनका लागि प्रेरित गर्छ। यसै कारण, हाम्रो शैक्षिक प्रणालीको उत्पादन ‘विदेश निर्यातका लागि जनशक्ति’ बनिरहेको छ।

अब अखिलको नयाँ मोर्चा र एजेन्डा बन्नुपर्छ ।

. राष्ट्रिय पाठ्यक्रमको दबाब : अखिलले विश्वविद्यालयदेखि माध्यमिक विद्यालयसम्मका पाठ्यक्रमलाई ‘राष्ट्रिय स्वार्थ अनुकूल’ बनाउन सशक्त दबाब सिर्जना गर्नुपर्छ।

. आत्मनिर्भरताको ज्ञान : पाठ्यक्रममा नेपाली मौलिक ज्ञान, कृषिमा क्रान्ति ल्याउने सीप, स्थानीय प्रविधि विकास, र आत्मनिर्भर अर्थतन्त्रलाई बढावा दिने विषयवस्तु अनिवार्य समावेश गरिनुपर्छ। विद्यार्थीलाई ‘रोजगार खोज्ने’ होइन, ‘रोजगार सिर्जना गर्ने’ उद्यमी बन्ने प्रेरणा दिनुपर्छ।

. शैक्षिक पारदर्शिता र जवाफदेहिता : स्ववियु निर्वाचनलाई पार्टीको शक्ति प्रदर्शनको सट्टा ‘शैक्षिक सुधारको म्यान्डेट’ र ‘क्याम्पस प्रशासनको जवाफदेहीता सुनिश्चित गर्ने माध्यम’ बनाइनुपर्छ।

भविष्यको सङ्कल्प

. जेनजीको कौशलको सदुपयोग (डिस्ट्रक्सन टु कन्स्ट्रक्सन) :

जेन-जी पुस्तामा उच्चस्तरको प्रविधिक ज्ञान र रचनात्मकता छ। अखिलले अब उनीहरूको यो शक्तिलाई विरोध र अराजकतामा होइन, रचनात्मक कार्यमा लगाउनुपर्छ ।

. डिजिटल साक्षरता अभियान : विदेशी प्रभुत्वलाई चुनौति दिन र डाटाको राष्ट्रिय सुरक्षाका लागि विद्यार्थीलाई ‘डिजिटल सार्वभौमिकता’ र ‘एआई एथिक्स’ बारे शिक्षित गर्ने अभियान सञ्चालन गर्नुपर्छ।

. नवप्रवर्तन केन्द्र : प्रत्येक क्याम्पसमा विद्यार्थीद्वारा सञ्चालित नवप्रवर्तन केन्द्र (इन्नोभेसन हब) निर्माण गरी स्थानीय समस्याहरूको समाधान खोज्ने ‘निर्माणमुखी’ आन्दोलन सुरु गर्नुपर्छ।

राष्ट्रिय चेतनाको पुनर्जागरण

अखिलको अतीतको बलिदान पवित्र थियो, त्यसैले आत्मसुधार पनि बलिदान झैं पवित्र हुन्छ। यो पुस्ताले अब ‘हामी गलत बाटोमा होइन, ढिलो चेतनामा थियौं’ भन्ने सत्य स्वीकारेर नयाँ बाटो पहिल्याउनु पर्छ।

हाम्रो लक्ष्य स्पष्ट छ : हामी हल्ला होइन, दिशा खोज्दैछौं। हामी दूतावास होइन, देश खोज्दैछौं। हामी फेसबुक होइन, स्वतन्त्र विचार खोज्दैछौं।

अखिलले आत्मसमीक्षा, जेनजीको चेतना र राष्ट्रिय स्वार्थको पाठ्यक्रमलाई जोड दिएर अघि बढे मात्रै नेपालमा शैक्षिक र वैचारिक पुनर्जागरण सम्भव छ।

लेखक
समिक बडाल

लेखक एमाले निकट अखिलका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?