
१२ वर्षको कलिलो उमेर । जन्मजातदेखि भोग्दै आएको मानसिक रोग । पेटमा ५ महिनाको अनिच्छुक गर्भ । अनि अछामको गाउँदेखि काठमाडौंको अस्पतालसम्मको यात्रा । अनि थापाथली प्रसूति गृहको अत्यासलाग्दो बसाई ।
यस्तो बज्रपात भोगिरहेकी बालिकाको मष्तिष्कमा के चलिरहेको होला ? परिवार कुन मनोदशामा गुज्रिएको होला ? यो साता यस्तै प्रश्नले दिमाग रन्थन्याइरह्यो । मन उकुसमुकुस भइरह्यो । अनि मष्तिष्कले बारम्बार भनिरह्यो, यो घटना यथार्थ नभइदिए… ।’
‘फिक्सन’भन्दा अपत्यारिलो यो वास्तविकता थियो अछामकी अवोध बालिकाले भोगेको ।
००००
थापाथलीस्थित प्रसूति गृहमा काखमा नवजात शिशु लिएका अभिभावकहरुको ओहोरदोहर बाक्लो छ । भीड छिचोल्दै १२ वर्षीया बालिकाको नजिक पुगेँ ।
बालिका एकतमास हाँसिरहेकी छिन् । उनलाई टुलुटुलु हेर्नुशिवाय केही बोल्न सकिनँ ।
उनलाई भेट्नुअघि मन र मष्तिष्कमा जिज्ञासाका अनेक ज्वारभाटा दन्किएका थिए । जब उनलाई देखेँ, दिमाग शून्य भयो । एक एक गर्दै मष्तिष्कबाट प्रश्नहरु हराउँदै गए ।
आखिर प्रश्न सोधेर के नै हुन्थ्यो र !
न उनमाथि परेको बज्रपात कम गर्न सक्थेँ, न उनको परिवारले व्यहोरेको पीडा कम गर्न । उनी पनि त आफ्नो मनको बह पोख्न सक्ने अवस्थामा थिइनन् । उनी बोल्न सक्ने भए पो केही संवाद हुन्थ्यो र !
मनले भन्यो, यदि उनी बोल्न सक्ने भएको भए वा मानसिक रुपमा पूर्ण स्वस्थ्य भइदिएको भए त यो बज्रपात किन भोगिरहनु पर्थ्यो र ?’
तर जब बालिकाको अवोध मुस्कान देख्छु, छक्क पर्छु । जतिपटक उनको नजिक जान्छु, त्यतिपटक हाँस्छिन् ।
निर्दोष अनि निश्चल हाँसो ।
त्यो हाँसोमा उनले भोगिरहेको पीडा कतै झल्किदैन ।
००००
बिहीबार (कात्तिक २०) मा ती बालिकाको ठुलोबुवा कर्णबहादुरलाई भेटेदेखि दिनहुँ थापाथली अस्पताल धाइरहेको छु । तर दोस्रो दिनदेखि कर्णबहादुरसँग भेट हुन सकिरहेको छैन । उनको मोवाइल नम्बर डायल गर्दा बारम्बार आवाज आउँछ, ‘तपाईंले सम्पर्क गर्नुभएको नम्बर उपलब्ध हुन सकेन ।’
उनी अवोध छोरीलाई अस्पतालमा छाडेर कुन घनचक्करमा फसिरहेका छन त ? मनमा शंका लाग्छ । मनको शंकालाई मलजल गर्दै दिमाग भन्छ, ‘छोरीलाई अस्पतालमै छोडेर त भागेनन् ?
‘अस्पताल बस्दाबस्दै दिक्क लागिसक्यो, भाग्न मन लागिसक्यो’ पहिलोपटक भेट्दा कर्णबहादुरले यस्तै भनेका थिए ।
एकपछि अर्को बज्रपात भोगिरहेका कर्णबहादुर यत्तिकै हार मान्लान् र ? आफ्नो शंका आफैंले निवारण गरेँ ।
शुक्रबार
शुक्रबार साढे १० बजे अस्पताल पुग्दा बालिकालाई राखिएको बेड नम्बर २१७ खाली थियो । उनलाई २०७ हुँदै २१७ मा पुर्याइएको थियो ।
२१७ पनि खाली !
नजिकैको बेडकी अछामकी महिला (जोसँग ती बालिका झ्यामिरहन्थिन्) लाई सोधेँ, ‘यहाँकी नानीलाई कता सारियो ?’
खिन्न भावमा उनले भनिन्, ‘हिजै गर्भ तुहाइयो नि ।’
म चुपचाप उभिरहेँ ।
उनी फेरि बोलिन्, ‘छोरी मान्छेको जिन्दगी ! कसैले एक मिनेटमै बर्बाद गर्नसक्ने । एक शब्द बोलेरै इज्जत लिलाम गर्न सक्ने ।’
उनको कुराले मनलाई च्वास्स घोच्यो ।
उनी चुप बस्ने मनस्थितिमा देखिइनन् । भनिन्, ‘नानीको बिजोग हुने भयो । उनका ठुलोबुवा अत्तिसकेका छन् ।’
त्यसपछि ‘ड्युटी रुममा’ गएर कर्णबहादुरको बारेमा सोधेँ ।
नर्सहरुले विनम्रतापूर्वक जवाफ दिए, ‘खै कस्तो खाले मान्छे रहेछन् । सानी नानी यो अवस्थामा छ उनी भने छोडेर हिँडेको हिँड्यै । औषधिहरु किन्न जाने मान्छेसमेत छैनन् ।’
बालिकाको स्वास्थ्य अवस्थाको बारेमा सोधेँ । सबै ठीक रहेको रेडिमेड जवाफ आयो ।
भेट्न सकिन्छ ?
‘कुरुवाबाहेक अरु कोहीले भेट्न पाउँदैना’, जवाफ आयो ।
फेरि सोधेँ, बालिकाको गर्भपतन गराएको हो ?’
नर्सहरुले जवाफ दिए, होइन ।
बिरामीको गोपनीयतालाई सम्मान गर्नुपर्ने उनीहरुको बाध्यता बुझेर प्रतिप्रश्न गरिनँ ।
एकछिन के गर्ने कसो गर्ने द्विविधामा परेँ । कर्णबहादुरलाई भेट्नु थियो । बालिकालाई एक झल्को देख्नु थियो ।
तर दुबै असम्भव देखियो ।
केही क्षणपछि नर्सहरु आफ्नो काममा व्यस्त भए । म ती बालिकाको छेउमा पुगेँ ।
बिहीबार भेटेभन्दा भिन्न देखिन्थिन् । अनुहार अलिक सुन्निएको जस्तै छ (जसको ५ महिनाको अनुच्छुक गर्भको पतन गराएइएको छ) । हिजो लगाएको निलो जामाको सट्टा गुन्यु चोलो लगाइएको थियो । कोल्टो परेर ढल्किरहेकी उनी हातले लुगाको गुजुल्टो खेलाइरहेको थिइन् ।
देख्नासाथ हाँसिन् ।
दिमागमा फेरि उनको भोगेका दुःखहरु खेल्न थाले । मन चसक्क चस्कियो ।
सोधेँ, ‘के खायौ ?’
उनले अस्पष्ट स्वरमा जवाफ दिइन्, ‘चिया र बिस्कुट ।’
त्यति भनेर उनी मुस्कुराइरहिन् ।
मन भारी बनाउँदै निस्किएँ ।
जन्मजात मानसिक रोगले थलिएकी बालिकाप्रति मानिस कसरी राक्षस हुुन सकेको होला ? घटना घटेको दिन उनी कति रोइहोलिन् ? गर्भ बोकेको ५ महिनासम्म उनको मनोदशा के रह्यो होला ? उनका बुवाआमाले यत्रो महिनासम्म छोरीको अवस्थाबारे किन सुइँको पाउन सकेनन् ? उनलाई यो अवस्थाबारे केही जानकारी नै छैन कि ? कि बलात्कार, गर्भधारण र गर्भपतन भन्ने शब्दको अर्थ र बोझ नै थाहा छैन ?
मनमा यस्तै प्रश्न खेलाउँदै म फर्किएँ । त्यो दिन त्यसै रह्यो ।
शनिबार
शनिबारको भए पनि बिहानैदेखि सडकमा चहलपहल बढ्दो थियो । अकुपाई टुँडिखेल र सेभ डाक्टर गोविन्द केसीको ब्यानर बोकेका मानिसहरु सडकमा निक्लिँदै थिए । र्याली छल्दै फेरि थापाथलीस्थित प्रसूति गृह पुगेँ ।
आज पनि (शनिबार) अस्पतालमा कर्णबहादुर थिएनन् ।
नर्सहरुलाई सोध्दा बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकोबाहेक अरु जानकारी दिएनन् ।
फेरि बालिकाको नजिक पुगेँ । सदाझैं उनी मुस्कुराइन् ।
छेउमै रहेकी एक महिलाले भनिन्, ‘कस्तोकस्तो देख्नुपर्छ…. हेर यो बच्चीको बिजोग ।’
उनले सहानुभूति देखाइन् तर बालिकाले न महिलाहरुको कुरा बुझ्न सक्थिन्, न उनले भन्न खोजेको कुरा त्यहाँ भएका अरु महिले भेउ पाउन सक्थे ।
बालिका भने घरिघरि ढोकातिर आँखा लगाइरहन्थिन् । यसले बुझ्न सकिन्थ्यो, उनी जतिसक्दो चाडो घर जान चाहन्छिन् । त्यसका लागि कर्णबहादुरको बाटो हेरिरहेकी छन् ।
सोधेँ, ‘अब के गर्ने ?’
उनी टाउको हल्लाउँदै हाँसिन मात्रै, केही बोलिनन् ।
त्यहाँबाट निस्किएँ ।
आइतबार
आइतबार बिहान ९ नबज्दै अस्पताल पुग्दा पनि कर्णबहादुर भेटिएनन् । नर्सहरुले ‘हिजो राति त देखेको हो’ भन्दाभन्दै उनी टुप्लुक्क आइपुगे ।
उनको पछि लागेर बालिका भएनजिक पुगेँ ।
उनी मुस्कुराइन् ।
कर्णबहादुरले सोधेँ, ‘के खाइस् ?’
हाँस्दै भनिन्, चिया, बिस्कुट ।
कर्णबहादुरले फेरि सोधेँ, ‘अब के खान्छेस् ?’
‘अब घर गइजाने हो’ यत्ति भनेर उनी कोल्टो फर्किइन् ।
त्यसपछि कर्णबहादुरलाई लिएर प्रसूति गृहनजिकैको एउटा चिया पसलतिर लागेँ ।
‘भगवानले जस्तो बाटो देखाउँछन् त्यही बाटो हिँड्ने हो’, कर्णबहादुरले कुरा सुरु गरे, ‘अझै के के भोग्नुपर्ने हो ।’
कर्णबहादुरले छोरीलाई काठमाडौंमै छाडेर अछाम जाने सोच बनाएका रहेछन् ।
जन्मजात मानसिक रोग भोग्दै आएकी बालिकाको भाषा अरुले बुझ्दैनन्, न उनले अरुको भाषा । बुवा आमाबाहेक अरुसँग कुनै संवाद गर्न सक्दिनन् ।
यस्तो अवस्थाकी उनलाई संवादहीन बनाएर किन काठमाडौंमै राख्ने ?
‘यहाँ नराखे विकल्प पनि के छ र ?’ कर्णबहादुरले मनको डर पोखे, ‘सुस्त मनस्थितिका बुवाआमा बनिबुतो गर्न पाएनन् भने खान पाउँदैनन् । उसलाई हेर्ने मान्छे पनि हुन्न । फेरि त्यही घटना नदोहोरिएला भन्न सकिन्न ।’
गाउँ लैजाँदा फेरि त्यही घटना दोहोरिने डर, काठमाडौं राख्दा कसरी बस्ली भन्ने चिन्ता ।
यस्तै दोधारमा देखिए कर्णबहादुर ।
‘छोरीलाई गाउँ लान मन नभएको कहाँ हो र ? खान, बस्न र जीवनकै असुरक्षा भएपछि कसको के लाग्छ र ?’ कर्णबहादुरले प्रतिप्रश्न गरे, ‘तपाईहरु नै आदेश दिनु त, मसँग अरु उपाय के छ ?’
यसो भनिरहँदा कर्णबहादुरका आँखा रसाइरहे ।
अस्पतालले ‘डिस्चार्ज’ दिएपछि के गर्ने भन्ने अलमलमा रहेका कर्णबहादुर बोले, ‘दैवको लीला भोग्नै पर्ने रहेछ…. ।’
कर्णबहादुरसँग छुट्टिएँ ।
त्यसको २ घण्टा नवित्दै कर्णबहादुरको फोन आयो, ‘नानीलाई यतै छाडेर अछाम जाने भएँ म ।’
एउटा संस्थालाई छोरीको जिम्मा लगाएको उनले सुनाए ।
केही क्षण अस्पतालमा बस्नुपर्दा त घर जान हतारिएकी उनले यो अपरिचित शहरमा कसरी दिन काट्लिन् ? पहिलोपल्ट काठमाडौं आएकी उनी कसरी घुलमिल हुन सक्लिन् ? उनको भाषा कसले बुझिदेला ? अनि पहिलोपटक आमाबुवाबाट टाढिएकी उनलाई घर परिवारको यादले कति सताउँदो हो ?
प्रश्नहरु अनेक छन् । कर्णबहादुरलाई पनि यही चिन्ता छ । तर, उनी भन्छन्, ‘अरु उपाय के छ त ? गाउँ लैजाँदा फेरि त्यस्तै घटना नदोहोरिएला भन्ने के छ र ?’
कर्णबहादुरलाई त्यही घटनाले लखेटिरहेको छ । साँच्चै भन्नुपर्दा सम्झन पनि चाहदैनन् । स्मृतिबाट त्यो घटनालाई नै बिर्सन चाहन्छन् ।
त्यो घटना… !
आजभन्दा दुई साताअघि अछाम जिल्लाको एक गाउँकी १२ वर्षकी अवोध बालिकालाई कुकुरले टोक्यो । सुई लगाउन गाउँनजिकै बयलपाटा अस्पताल पुर्याउनुपर्ने भयो । ६० वर्षको हाराहारीमा पुगिसकेका बालिकाका बुवाआमा दुबै सुस्त मनस्थितिका छन् ।
भएकी एक्ली छोरी पनि सुस्त मनस्थितिकै भएपछि अस्पताल लैजाने जिम्मा ठूलोबुवा कर्णबहादुर बोहराको काधँमा आइलाग्यो । उनलाई लिएर कर्णबहादुर बयलपाटा अस्पताल पुगे ।
डाक्टरले रेबिजको सुई लाइदिए । अस्पतालबाट फर्कने तरखर गर्दा छोरीको पेट अस्वाभाविक सुन्निएको देखे । त्यसअघि कर्णबहादुरले त्यसरी छोरीको पेट याद गरेका थिएनन् । उनलाई अस्वाभाविक लाग्यो । अलमलमा पर्दै डाक्टरलाई सोधे, ‘छोरीको पेट किन सुन्निएको छ, डाक्टर सा’ब ?’
डाक्टर पनि अचम्ममा परे । तर के भएको हो भन्ने पत्तो नलागेपछि जिल्ला अस्पताल मंगलसेन पठाए । त्यहाँ पुग्दा थाहा लाग्यो, ‘बालिका त गर्भवती रहिछिन् ।’
त्यसपछि कर्णबहादुरले प्रहरीलाई खबर गरे ।
प्रहरीले सोधपुछ गर्दा बालिकाबाट अस्पष्ट जवाफ आयो, ‘गोरो छ । अग्लो छ, पातलो छ । त्यही मान्छेले मलाई उसको घरमा बोलाएको थियो ….. अनि ।’
प्रहरीलाई उनले दुई जना छिमेकीको नाम पनि भनिन् । बालिकाको बयानको आधारमा दुई किशोरलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका दुबै १५/१६ वर्षका छन् र नजिकैको स्कुलमा कक्षा ५ मा पढ्ने किशोर हुन् ।
प्रहरीले घटनाबारे अनसन्धान गरिरहँदा कर्णबहादुर छोरीको उपचारका लागि काठमाडौं आएका थिए । गएका १३ दिन थापाथलीस्थित प्रसुति गृहमा बिताएका कर्णबहादुर छोरीलाई यस्तै छाडेर अछाम फर्किदैछन् ।
उनलाई थाहा छ, अछाम पुग्दा उनीसामू अनेक प्रश्नहरु तेर्सिनेछन् ।
उनीसँगै एउटै जवाफ हुनेछ, ‘म फेरि त्यही घटना दोहोरिएको हेर्न चाहन्नँ । त्यसैले नानीलाई उतै छाडेर आएँ ।’
प्रतिक्रिया 4