+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मियापाटनमा दशैंः मुस्लिमबाट बाहुनक्षेत्रीलाई टीका

अमृत सुवेदी अमृत सुवेदी
२०७६ असोज २१ गते ७:३२

१ असोज, पोखरा । दशैं आएसँगै ९ वर्षीय सरिफ अलीको मन चंगा छ । दशैंका लागि उनले नयाँ कपडा पाइसके । साबेरा अली ११ वर्षकी भइन् । दशैंलाई मन परेका पोसाक पाएपछि साबेराको पनि फरुंग छ । टोलमै हालिएको लिंगे पिङमा उनीहरुको दिन वित्छ ।

सरिफ, साबेराजस्तै पोखरा कुँडहर मुश्लिम बस्तीमा पनि दशैंको उत्सव चलिरहेको छ । कोही च्यांग्रा छान्न र दशैंका लागि जोहो गरिरहेका छन् । कोही दशैंमा सेलरोटी पकाउने सरसामान तयार गरिरहेका छन् ।

यो मुस्लिम वस्तीको नाम हो, मियापाटन । त्यहाँ अधिकांश मुश्लिम समुदायका नागरिक छन् तर, वर्षौंदेखि दशैंलाई उत्सवका रुपमा मनाउँदै आइरहेका छन् । ‘हाम्रा घर सेलरोटी पाक्न ढिला गरे केटाकेटी आत्तिन्छन् । छिमेकीलाई भन्दा पहिले दशैंका लागि नयाँ कपडा खरिद गर्नुपर्छ,’ मियापाटनका कवि तथा अगुवा अनिफ मिफा भन्छन्, ‘मियाँ गाउँ यो वर्ष पनि पिङ हालिसक्यौं । अरु वर्ष जस्तै यसपाली पनि दशैंलाई उत्सवका रुपमा मनाउँछौं ।’

दशैंमा अन्य समुदायका मान्छेका घरमा जस्तै मियाँपाटनमा पनि उस्तै परिकार पाक्छ । उस्तै खालको उमंग घरमा आउँछ । अझै पनि मियापाटनका केही घरमा जमरा उम्रन्छ । कतिपयले सँगै च्याग्राको बन्दोबस्ती मिलाएका छन् । मुश्लिम समुदायकै युवाहरु मिलेर पिङ हालिसकेका छन् । ‘हामी सुखदुख सँगै हुन्छौं भने चाडपर्व पनि हामी सँगै मनाउँछौं । सुखदुःख साट्छौं । सौहार्दपूर्ण रुपमा उत्सव गर्छौ,’ हनिफले भने, ‘यो दशैंमा मैले केही घिमिरे बन्धुहरु र केही आफन्तलाई दशैंको टीका लगाइदिनु पर्नेछ ।’

पहिले-पहिले गाउँमा मुश्लिम समुदायबाटै लिंगे पिङ, चौराली पिङ -अन्त रोटे पिङ पनि भनिन्छ) र जाँते पिङ हालेको हनिफ सम्भिmन्छन् । अहिले पहिलेजस्तो ठाउँ ठाउँमा नभए पनि लिंगे पिङ हलिसकेको उनले बताए ।

मियापाटनका कतिपय मुश्लिम समुदायका अधिकांश नागरिकका सम्बन्ध हिन्दु समुदायसँग छ । उनीहरु दुबै समुदायका चाडवाडमा सहकार्य गर्छन् । हिन्दु र मुश्लिम परिवारबीच कसैले मेतेरी साइनो जोडेका छन् त कसैले धर्म छोरा, बाउ, आमा पनि बनाएका छन् । दशैंजस्ता चाड मुश्लिम समुदायको पनि साझा चाड बनिसकेको छ ।

हिन्दु र मुश्लिमबीचको सद्भाव, सहकार्य धेरै पहिलेदेखि चल्दै आएको र चाडपर्वको सामूहिक पराम्परा सहेको स्थानीय विश्व सिग्देलले बताए । सामाजिजक अभियान्ता विश्व र हनिफ मीत पनि हुन् ।

‘विद्यालयदेखि घरसम्मका अधिकांश मुसलमानको संगत हिन्दुसँग र हिन्दुको मुसलमानसँग छ । सँगै हिँड्दा, खाँदा स्वभाविक हिसाबले संस्कार, संस्कृतिको घुलन हुन्छ,’ सिग्देलले भने, ‘दशैंमा हिन्दुका घरमा मासु पाक्ने, उनलै राम्रो कपडा लगाउने गर्दा मुश्लिम परिवार बालबच्चाको मनोविज्ञानमा नकारात्म असर पर्नपथ्र्यो ।’ इद, बकर इदजस्तै दशैं पनि एक सामूहिक पर्व बनेको विश्वले बताए ।

मुश्लिम मुखियासँग टीका

मियापाटनलाई पोखराको प्राचिन बस्तीकै रुपमा मानिन्छ । पहिले यहाँ मश्लिम समुदायका ३ तामिलदार मुखियाहरु थिए । तिनै मुखियाले पूरै त्यस ठाउँको देखपाल र संरक्षण गर्नुपथ्र्यो ।

‘३ मुखियामध्ये रहिमतअलि मुखियालाई त मैले पनि देखेको, भेटेको हुँ ।अन्यसँग नभेटेपनि त्यहाँको इतिहासलाई नजिकबाट नियालेको छु,’ प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङले भने, ‘दशैंमा मुश्लिम मुखियासँग सबै बाहुन, क्षेत्री लगायत सबै जना टीका र आशिस थाप्न जान्थे ।’

मुश्लिम मुखियाहरुले ४/५ पाथीसम्म गहुँको जमरा बनाएर जनतालाई लगाइदिने पराम्परा रहेको जगमानको भनाइ छ ।

हनिफ मिया, बाबु लोककवि अलि मिया र हजुरबा दिनमहम्मत मिया एक जना मुखिका सन्तति रहेको जगमानले बताए । ‘मुसलमान र हिन्दुसँगको यस्तो सद्भाव र संस्कार संसारको कुनै पनि ठाउँमा छैन । नेपालमा पनि त्यो गण्डकी प्रदेशमा मात्रै छ । यस्तै संस्कार स्याङ्जामा पनि छ भन्ने मैले सुनेकेा छु,’ जगमानले भने, ‘यो सानो सम्पति र परम्परा होइन ।’

एक मुखियाकै सन्तति हनिफ मियाले आफूहरुले पनि दशैंमा पहिले सेतो टीका लगाउने गरेको सुनाए । ‘मैले त टीका, माला सब लगाउँछु । दशैंमा धेरैले सेतो टीका लगाइन्थ्यो । अहिले कम भयो,’ हनिफले भने, ‘तर, दशैंको रौनक र परम्परा जोगाइराखेका छौं ।’

पहिलेपहिले दशैंमा दोहोरी र भजन गाउने गरेको पनि सम्भिmए । उनका बाबु लोककवि अलिमियाले पिङ हालेको ठाउँमा बसेर गीत गाउँथे । अहिले त्यो चलन हराएको मियाले बताए ।

मिया पाटनमा २ सयभन्दा बढी मुश्लिम परिवार छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?