
१३ वैशाख, काठमाडौं । राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति नलिई सञ्चालन भएका बालगृहलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
परिषद्ले सूचना प्रकाशित गर्दै बालगृह सञ्चालन अनुमतिका लागि जेठ ४ गतेभित्र आवेदन दिन दोस्रो पटक आग्रह गरेको छ । यसअघि परिषद्ले २०७९ पुस २१ गते सूचित गरेपनि अझैसम्म सबै बाल गृहहरुबाट निवेदन नआएको भन्दै बुधबार पुनःसूचना जारी गरेको हो ।
सरकारले ५ जेठ २०७९ मा बालबालिका सम्बन्धी नियमावली, २०७८ जारी गरेपछि बालगृहहरुलाई एक वर्षभित्र परिषदबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । हाल नेपाभर सञ्चालनमा रहेका बालगृहहरुले आवश्यक कागजात सहित परिषदमा निवेदन दिएर अनुमति लिनुपर्नेछ । यसअघि परिषदले २०७९ फागुन मसान्तभित्र निवेदन दिन आग्रह गरे पनि हालसम्म कुनै बालगृहबाट पनि निवेदन नआएको भन्दै बुधबार पुनः सूचना जारी गरेको हो ।
परिषद्ले सूचनामा अनुमति नलिई सञ्चालन गरेको पाइएमा त्यस्ता बालगृहलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरेको छ । परिषद्ले सम्बन्धित स्थानीय तह तथा बालबालिकाका विषय हेर्ने प्रदेश मन्त्रालयलाई पनि आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका बालगृहबारे जानकारी गराउन अनुरोध गरेको छ ।
बालगृहले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड र बाल गृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ ले तोकेको आवश्यक मापदण्ड पूरा गरेका बाल गृहलाई मात्र बाल गृह सञ्चालन अनुमति दिने परिषद्ले जनाएको छ ।
प्रतिक्रिया 4