+
+

स्वार्थ समूहको चलखेलमा ठेक्काको संख्या सीमा फेरिंदैछ : निर्माण व्यवसायी महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १८:३४

१३ वैशाख, काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा संशोधनको गर्दै एउटा ठेकेदार कम्पनीले ५ भन्दा धेरै ठेक्का लिनसक्ने व्यवस्था गर्न लागेपछि व्यवसायीले विरोध थालेका छन् । सरकारले ठेक्का संख्याको सीमा फेर्न भन्दा झन् कडा बनाउनुपर्ने व्यवसायीको माग छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियमावलीको बाह्रौं संशोधनले गरेका व्यवस्थामा संशोधन आवश्यक रहेको ठहर गर्दै एउटा निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाउने गरी सीमा हटाउने निष्कर्ष निकालेको थियो । तर, कतिपय साना कार्यमा बोलपत्र पर्न छाडेको भन्दै सरकारले नियम परिवर्तन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अध्ययनको जिम्मेवारी दिएको छ ।

समिति बैठकले निर्माण व्यवसायीले ठेक्का लिन पाउने सीमा टेण्डर मूल्यको आधारमा गर्ने, संख्या सीमा बढाउने वा भौतिक संरचना (आयोजना) को किसिम बमोजिम संख्या सीमा तोक्ने लगायतका विकल्प हेर्न कार्यालयलाई निर्देशन दिएको छ ।

तर, नेपाल निर्माण व्यवसायी महासंघले उक्त प्रावधानले धेरै काम ओगटेर निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरेर सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएकाले हटाउन नहुने बताएको छ ।

‘उक्त प्रावधान लागू भएसँगै परियोजनाहरू समयमै सम्पन्न भएको प्रगति मूल्यांकन समेत सन्तोषजनक भएको प्रतिवेदन सार्वजनिक भइसकेको स्थितिमा आम पूर्वाधार विकासका लागि अति आवश्यक यो व्यवस्था हटाइनुभन्दा पनि अझ कडा रुपले कार्यान्वयन हुनुपर्नेमा स्वार्थ समूहको चलखेलमा नियमावली संशोधनको प्रयास गरिनु गम्भीर विषय भएको यस महासंघको निचोड छ’ महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कतिपय आयोजनाको लागत इस्टिमेट न्यून दरमा तयार गरिएको, अनावश्यक क्राइटेरिया, साइट उपलब्धता र बजेट सुनिश्चितताको अभाव र भुक्तानी समस्याका कारण केही बोलपत्रहरूमा सहभागिता कम हुन गएको महासंघले बताएको छ ।

‘समयमा निर्माण आयोजना सम्पन्न हुने र सो आयोजनाहरूबाट प्राप्त हुने प्रतिफल तोकिएकै समय भित्रै सरोकारवालाले पाउने भएको हुँदा सबै निर्माण व्यवसायी र आम जनताका लागि अति उपयोगी प्रमाणित भएको पाँच प्याकेजको व्यवस्था हटाइएमा देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने व्यहोरा सरोकारवाला सबै समक्ष जानकारी गराउँछौं’ महासंघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?