१५ असोज, काठमाडौं । स्कुल छुट्टी भएपछि नायिका अरुणिमा लम्सालका आमाबुबा घर -बिराटनगर) लैजाने सामान जोडजाममा लाग्थे । अरुणिमालाई पनि दसैंको रन्कोले छोइहाल्थ्यो । घर बस्दा लाउने, टीकाको दिन, मन्दिर जाँदा वा अन्य कामका लागि ।
अरुणिमा आफूलाई आवश्यक पर्ने लुगा कपडा आफैं पट्याउँदै सुटकेसमा राख्थिन् । दसैं भन्नेबित्तिकै ती दिनको याद आउँदोरहेछ । अरुणिमा भन्छिन्- ‘दसै आयो भन्दै १५ दिन अगाडिदेखि लुगा पट्याउँदै सुटकेसमा राखेको म कहिल्यै बिर्सन्न । ती दिन वास्तवमै रमाइला थिए ।’
दसैंमा नयाँ लुगा लगाउनुपर्छ भन्ने संस्कारमा हुर्केकै कारण हुनसक्छ, अहिले पनि उनलाई नयाँ लुगा नलगाएसम्म दसैं आउँदैन ।
‘अहिले पनि दसैं भन्नेबित्तिकै नयाँ लुगा लगाउन मन लाग्छ, दसैंकै लागि भनेर लुगा किनिसकें’ उनले अनलाइनखबरसँग भनिन् ।
आफ्नो पालाको कुरा सम्झेरै छोरीलाई धेरै लुगा र जुत्ता किनिदिएको कुरो गर्ने अरुणिमा अचेल भने काठमाडौमैं दसैं मनाउन थालेकी छिन् । तर, उनको बुझाइमा काठमाडौको दसैं बिराटनगरको जस्तो रसिक हुँदैन ।
आमालाई कवाफ, छोरीलाई छोयला
खाने मामलामा निकै सौखिन छ अरुणिमाको परिवार । मासुका विभिन्न परिवार बनाउने पुरानो चलनै हो उनको घरको । मटन कवाफका लागि आमा राधा लम्साल ‘भावु’ प्रसिद्ध छिन् भने छोयलाका लागि छोरी अरुणिमा ।
‘बिहे गरेर आएकै वर्षदेखि मैले मटन कवाफ बनाउन थालेकी हुँ । अहिले पनि मैले नै बनाउँछु ।’ भावुले भनिन् । भावुको भनाइ अनुसार माइतीहरु कवाफमा सौखिन थिए । त्यही कारण भावुले पनि बेलैमा सिकेकी हुन् ।
पाँच वर्षयता ‘रेड मिट’ खान छाडेकी अरुणिमा प्रायः कुखुराको मासु खान्छिन् । छोयला उनलाई पनि मन पर्ने परिकार हो । उनले बनाएको छोयला अरुलाई पनि असाध्यै मन पर्छ । ‘म घरमा भएसम्म अचार र छोयला मबाहेक अरुले बनाउँदैन ।’ अरुणिमाले भनिन् ।
‘दर्जी’ देखेपछि दसैंको याद आउँछ: भावु
भावु अहिले प्रायः आफ्ना लुगा बुटिकमा सिलाउँछिन् । आफूलाई जहिले आवश्यक पर्यो, त्यहीबेला लुगा सिलाउने गरेकी भावु दसैंमा नयाँ लुगा लाएको प्रसंग कहिल्यै बिर्सन्नन् ।
पसल छेउ अथवा कुनै सार्वजनिक ठाउँमा मेसिन लिएर लुगा सिउन बसेका मान्छेहरु देख्नेबित्तिकै वाल्यकालको याद आउँदो रहेछ उनलाई । उनी सानो छँदा जामा लगाउने चलन थियो ।
बुबाले घर नजिकैका दर्जीलाई लुगा सिलाउन दिएपछि उनी हरेक दिन पुग्थिन दर्जी कहाँ । उनी भसन्छन्- ‘लुगा नसिएसम्म गएर सोध्थें, दाइ मेरो लुगा कहिले सिलाइदिने ?’
जुवामा दाउ लाग्दैन
जुवाको खाल पनि मजाले जम्छ अरुणिमाको परिवारमा । श्रीमान श्रीमती नन्द आमाजू, घरमा जो जो छन्, मिलाएर खेल्ने चलन छ दशैं र तिहारमा ।
प्रायः म्यारिजका सौखिन छन् सबैजना । ‘म्यारिज खेल्दा मज्जा आउँछ, दशैंमा हामी म्यारिजमै रमाउँछौं’ अरुणिमाले भनिन् ।
छोरी-ज्वाइँ लगायत अरुले तास खेलेको देख्दा भावुलाइ पनि खेल्न मन लाग्छ । तर, उनले सहजै मौका पाउँदिनन् । ‘कोरम पुगेन भने मात्रै हो, सकेसम्म ममीलाई खेलाउदैनांै, किनभने उहाँ सार्है ढीलो गर्नुहुन्छ’-अरुणिमाले भनिन् ।
तासका साथै आफ्नै घरमा कौडासमेत खेल्ने गरेकी अरुणिमाले आजसम्म जुवा खेलेर पैसा मारेको रेकर्ड छैन । ‘म मात्रै हैन, मेरा श्रीमानले पनि आजसम्म जुवा खेलेर पैसा मार्नुभएको छैन, तैपनि रहर लाग्छ ।’
सवारी साधनको समस्या
अहिले आफ्नै कार छ अरुणिमाको । सुटिङ होस् या अन्य कुनै पनि कार्यक्रममा उनी आफै कार चलाएर पुग्छिन् । अहिले मन लागेको ठाउँमा जाने हैसियत राखे पनि दसैंमा सार्वजनिक गाडी नपाउँदाका दुःख भने भुलेकी छैनन् उनले ।
बिराटनगरमा जन्मेकी अरुणिमा प्रायः टीकाकै दिन टीका लगाउन जान्थिन् आफन्तकहाँ । घरमा टीका लगाइसकेपछि बाहिरिने गरेकी अरुणिमा घरबाट निस्कँदा त रमाइलै मान्थिन् । तर, फर्किंदा सार्है सकस हुन्थ्यो रे । उनी भन्छिन् ‘चाडवाडका बेला सार्वजनिक बस नपाउँदा सार्है गार्हो हुन्थ्यो ।’
ट्याक्सी पनि सहजै नपाइने र पाइइहाले पनि दक्षिणाले भाडा नपुग्ने भएकाले बस कुर्न बाध्य भएको अनुभव छ उनीसँग । आफू बस कुरेर सडकमा बसिरहेका बेला कसैको कार आएको देखेपछि उनले ममीलाई भन्थिन्- ‘म ठूली भएपछि आफ्नै गाडीमा घुमाउँछु ।’
अहिले पनि चाडवाडका बेला सडक किनारामा धेरै मान्छेहरु गाडी कुरेर बसेको देखेकी अरुणिमालाई लाग्छ, ‘सार्वजनिक यातायात व्यवस्थित भइदिए हुन्थ्यो ।’