‘गुरु’ । शिक्षकलाई सम्मानपूर्वक गरिने प्राचीन सम्बोधन । ‘गुरु’ अर्थात अन्धकारबाट उज्यालोतर्फ, अज्ञानबाट ज्ञानतिर, असत्यबाट सत्यतर्फ । परिभाषाले यही भन्छ ।
तर, जब गुरुमा जात घुस्छ, अनि रेशबहादुर बिकजस्तै हालत हुन्छ । जसले समानता, नैतिकता, अन्धविश्वासको पाठ पढाउँछ, उसैमाथि बुट बजारिन्छ ।
हाम्रो समाजमा अझै पनि मानवता, नैतिकता, धर्म, गुरुभन्दा पनि माथि छ, कथित जातको हुंकार ।
रेशबहादुर म्याग्दीको जनज्योति आधारभूत विद्यालयका गुरु हुन् । गाउँको स्कुल हो, जनशक्तिको अभाव छ । त्यसैले रेशबहादुर गणित, नेपाली, अंग्रेजी सबै विषयका गुरु हुन् ।
आजभोलि गाउँका विद्यालयमा शिष्यको पनि कमी छ, जनज्योतिमा पाँच कक्षासम्म पढाइ हुन्छ । तीनजना शिक्षक छन्, १८ जना विद्यार्थी ।
कमिलाका ताँतीजस्ता विद्यार्थीको स्कुल ठाँटीजस्तो बन्नुमा बैदेशिक रोजगारीको वियोगदान भन्छन् रेशबहादुर । श्रीमानहरु गाउँ छाडेर परदेश, श्रीमती र छोराछोरीजति सदरमुकाम ।
०००
रेशबहादुर गुरु अहिले स्कुलमा छैनन् । प्लास्टर गरिएको खुट्टालाई बैशाखीले सहारा दिएर बेनी बजारमा पाइला सार्दैछन् । अस्पतालले भनेको छ, ‘टुटेको खुट्टा जोडिन ७ देखि ८ हप्ता लाग्छ ।’
यदि रेशबहादुरको अन्तिम नाम बिक नभएर अरु केही हुन्थ्यो भने अहिले उनी बेनीदेखि १७ कोष टाढाको स्कुलमा नैतिकताको पाठ पढाइरहेका हुन्थे ।
जनज्योति आधारभूत विद्यालय धवलागिरि गाउँपालिकामा छ । रघुगंगा गाउँपालिका वार्ड नं. ८ मंगलेखानीबाट उक्त स्कुलमा पुग्न करिव ५ घण्टाको समय पार गर्नुपर्छ । तर, रघुगंगाका रेशबहादुरको लागि दैनिक पाँच घण्टा हिँडेर स्कुल भेटाउन पुग्नु त्यति सजिलो कुरा होइन । त्यसैले, सजिलोका लागि उनी दुई वर्षदेखि विद्यालय नजिकै डेरा लिएर बसेका थिए ।
हुन त ४२ वर्षीय रेशबहादुरले गुरुको भूमिका तय गरेको २२ वर्ष भयो । ८ नम्बर वार्डको रगुगंगा प्रावि चौराखानीबाट उनले कालोपाटीमा चुक–डस्टर घुमाउन शुरु गरेका थिए । ०६० सालमा सरुवा भएर रितुन निम्न माध्यामिक विद्यालय डुलेखर्क पुगे । ०७० सालसम्म त्यहीँ ज्ञान बाँडे । तर, उनको परिवारको संकट साँघुरिनुको साटो झन् झन् फराकिलो बन्दै गयो ।
अन्ततः रेशबहादुर बेतलवी विदामा मलेसिया भासिए । नेपालमा नमस्कार खाएका रेशबहादुर अरुलाई सलोट हान्न मलेसिया पुगे । उनलाई यसरी जान मन त थिएन तर, परिवारको व्यवहारिक दबावले समुद्रपारि धकेली छाड्यो ।
मलेसियाको तीन वर्षे बसाइमा रेशबहादुरले खासै ठूलो प्रगति केही गरेनन् । उनकै भाषा सापटी लिने हो भने, घरको व्यवहार मिलाए, ऋण तिरे ।
त्यसपछि फेरि उनी चक र डस्टर समात्न जनज्योतिमा पुगे ।
मलेसियाबाट फर्केर उनले विद्यालयमा पढाउन थालेको दुई वर्ष बित्दै थियो । प्रध्यानाध्यापक युकुमारी गिरी रोकाले आन्तरिक परीक्षा पास गरिन् र स्थायी शिक्षिकाको सर्टिफिकेट हात पारिन् । अनि उनको अर्कै विद्यालयमा सरुवा भयो ।
०००
बैशाख ५, २०७६ । विहानैदेखि जनज्योति विद्यालयमा चहल पहल थियो । अबीर र फूलमाला तयार पारिएका थिए । ग्राउण्डमा बेन्चहरु यु आकार राखिएका थिए । विद्यार्थी मात्र होइन, गाउँले पनि विद्यालयतर्फ सोझिँदै थिए । किनकि त्यस दिन युकुमारीको विदाइ समारोह थियो ।
युकुमारी विदा भइन् । घाँटीमा माला झुण्डिए, अनुहारभरि अविर । त्यही मेलोमा रेशबहादुरको टाउकोमा प्रध्यानाध्यापकको फुली झुण्डाइयो । त्यो फुलीलाई ओजलाई सम्मान नै गरे, रेशबहादुरले । विद्यालयबाट बाहिरिँदा घडीले ७ बजाउन आँटिसकेको थियो । त्यो दिन युकुमारी र रेशबहादुरहरुपछि स्कुलबाट निस्कने कोही थिएन ।
स्कुबाट बाहिरिएर रेशबहादुर त्यो दिन सिधै डेरा गएनन् । किनकि उनलाई प्रध्यानाध्यापकको जिम्मेवारीले थिचेको थियो । त्यसैले विद्यालयदेखि १० मिनेटको दुरीमा रहेको व्यवस्थापन समितिका अध्यक्षको घरमा पुगे । किनकि रेशबहादुरले स्कुल सञ्चालनका लागि केही एजेण्डा तय गर्नु थियो ।
उनी सरासर अध्यक्ष पार्वती पूर्जाको घरभित्र पसे र सँगै बसेर विद्यालय सुधारका कुरा गर्न थाले । केही छिनमै मंगमानका बलबहादुर रोका (३५) र भेडिखाल्टाका जितेन्द्र जुग्जाली (३०) हुत्तिँदै आए र बिस्फोट भए, ‘तँ रेशे कामी ! हाम्रा लागि केही पनि होइनस् । त, आफ्नो औकातमा बस् । धेरै चढेको छस्, तल्लो जातको भएर उपल्लो जातको घरभित्र किन छिरिस् ? सबै आ–आफ्नो औकातमा बस्छन् तँ बस्दैनस् ? तँ अब एक सेकेण्ड पनि बाँच्दैनस् ।’
रेशबहादुरले केही सोच्न पनि नपाउँदै उनीहरु अरिंगाल जसरी झम्टिए, कुटे । र, बाघले बाख्रा घिसाारेजसरी घिसार्न थाले । आँगनमा पुर्याए र अग्लो डिलबाट खसाइदिए ।
तल नपुग्दै फेरि उसरी नै झम्टिन आइपुगे । गाउँलेले बल्लतल्ल पञ्जाबाट रेशबहादुरलाई अलग्याए । चकमन्न अध्याँरो भइसकेको थियो ।
रेशबहादुर त्यहाँबाट उठेर दौडन चाहान्थे, खुट्टै लागेन । उनको शरीरबाट रगत बगिरहेको थियो । रगतको रङ, अरुको जस्तै रातो थियो ।
रेशबहादुरलाई कार्यालय सहयोगीले उठाएर कोठासम्म पुर्याए । शरीर त दुखेको थियो नै, उनी भन्छन्, ‘मनको अगाडि शरीरको दुखाइ कमजोर सावित हुँदोरहेछ ।’
त्यो रात रेशबहाहदुरले आफ्नो पुरै जीवनलाई सरसर्ती हेरे । बालापन सम्झिए । जतिबेला उनी बाबाको पछिपछि हिँड्थे र बाबा जहाँ बस्छन्, त्यही बस्थे । उपल्लो जात हिँडेभन्दा माथिको बाटो उनीहरुलाई हिँड्न छुट थिएन ।
र, उनले वर्तमान अवस्थालाई नियाले, ‘धेरै परिवर्तन भएको सोच्थेँ । कसैले बाहिर बस् भन्थेनन्, सबैको घरभित्रै साथीहरुसँग बस्थेँ । सबैलाई बराबरी देख्थेँ । तर, खासमा समाजको चरित्र त उस्तै पो रहेछ ।’
अर्को दिन उनको खुट्टा सुनिएर हात्तीपाइले रोग लागेजस्तो भयो । उनलाई गाउँका प्रतिनिधि र चल्तापूर्जाहरुबाट फोन आउन थाल्यो, ‘कति खर्च लाग्छ, त्यो बेहोरांैला, मुद्दामामिलातर्फ नलाग्नुस् ।’
रेशबहादुरभित्र एउटा चोटको पीडा त्योभन्दा अग्लो अपमानको, मान्छेबाटै जन्मिएर पनि मान्छे हुन नसकेको ! रेशबहादुरले जवाफ दिए, ‘मेरो आत्मामा आगो जलेको छ, अहिले यसबारे निर्णय दिन सक्दिनँ ।’
अर्को दिन उनले निर्णय गरे । छोरा विप्लवलाई निवेदन लेख्न लगाए र दर्वाङ पाखापानी प्रहरी चौकीमा दर्ता गर्न पठाए ।
०००
रेशको उपचारका लागि दुई साथीले तीनघण्टा बोकेर आधि बाटोसम्म पुर्याए । त्यहाँबाट ट्याक्सी लिएर उनी बेनी बजार पुगे । तर, त्यहाँ उपचार हुन सकेन । अस्पतालले भनेको थियो, खुट्टामा ‘नट राख्नुपर्ने हुन सक्छ । पोखरा जानुपर्छ ।’
रेशबहादुर पोखरा पुगे । उनको देब्रे खुट्टाको पैतालाभित्रको हड्डी टुटेको थियो, चिकित्सकले प्लस्टर गरिदिए । उनी बेनीसम्म फर्किए ।
तर, चौकीमा मुद्दा दर्ता भएको थिएन । जातीय विभेदलाई कानूनले संविधानले मौलिक हकको रुपमा दर्ज गरेको छ । तर, कानुनका पालनकर्ताहरुले यस्ता मुद्दामै विभेद गरिरहन्छन् । ठूलै बल लगाउनुपर्छ यसरी मुद्दा दर्ता हुनका लागि । त्यसैले बल्लतल्ल १५ गते मुद्दा दर्ता भयो ।
तर, लामो समयसम्म प्रहरीले दोषीलाई पक्राउ नै गरेन । यसका लागि पनि आन्दोलन नै छेड्नुपर्यो । म्याग्दीका प्रहरी नयाव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बलबहादुर र जितेन्द्रलाई आइतबार पक्राउ गरेको बताए । उनले भने, ‘अहिले साक्षी बुझ्ने काम भइरहेको छ । अभियुक्त र शिक्षकको वयान लिइरहेका छौँ । हामीले २४ दिनसम्म अनुसन्धान गर्न पाउँछौँ, त्यसैले अहिल्यै मुद्दा अदालत पठाइसकेका छैनौँ ।’
मरासिनीका अनुसार पीडकले जातीय विभेद नभई नशाको तालमा झगडा भएको वयान दिएका छन् ।
उता रेशबहादुरले अब सो विद्यालयमा पढाउन नजाने सोच बनाएका छन् । उनी भन्छन्, ‘त्यसरी अपमान भोगेको गाउँमा म कसरी जान सक्छु ? कसरी बस्न सक्छु ?’
आफ्नै देशभित्र कसैलाई दलित भएकै कारण बाँच्न गाह्रो छ, बस्न गाह्रो छ ।
हालै राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । त्यहाँ उनले भनेकी छिन् कि दुई वर्षभित्र प्रत्येक गाउँपालिकालाई कालोपत्रे सडक सञ्जालले जोड्ने । तर, अहिले पनि रेशबहादुरको गाउँमा बिहेको भतेर हुँदा दलितहरुका लागि छुट्टै भान्सा छ, निम्न वर्गीय दलितहरु छन्, उनीहरुलाई सम्मानजनक बाँच्ने अधिकार छैन । काम गर्न गैरदलितकहाँ पुग्छन् तर, बाहिरै छुट्टै बसेर खान विवश छन् ।
त्यसैले, बाँकी त मान्छेहरुको मन जोड्न छ । रेशबहादुर टुटेको हड्डी त जोडिँदै होला । तर, उनको छियाछिया भएको मन चाहिँ कहिले जोडिएला ?
पंक्तिकारले यो फिचर तयार परेर सक्दै गर्दा सामाजिक सञ्जालमा फेरि अर्को समाचार आएको छ, ‘काठमाडौं–१३ ओमवहालमा पानीको धारा छोइएको भन्दै समुद्रा परियारमाथि कुटपिट ।’